![बादल देख्दा तर्सिन्छन् बागडोलबासी, २ दिनसम्म हिलो सोहोर्दै ठिक्क [भिडियो स्टोरी]](https://lktcdn2.prixacdn.net/media/461166007_1069203441586993_3582192130382187218_n_OboYKx9oeO.jpg)
ललितपुर महानगरपालिका वडा नम्बर १३ बागडोलमा बस्दै आएका गोपाल गिरी आकाशमा कालो बादल देख्नेबित्तिकै तर्सिन्छन् । २/३ दिनअघिको त्रासदीपूर्ण क्षण उनको मानसपटलमा घुमिरहन्छ ।
दुई दशकभन्दा लामो समयदेखि यस ठाउँसँग परिचित उनले नख्खु खोलाको यो रूप कहिल्यै देखेका थिएनन् । शुक्रबार र शनिबार नसोचेको क्षण भोग्नुपर्यो ।
‘आकाशमा कालो बादल देख्नेबित्तिकै मुटु ढकढक हुन्छ । बल्ल-बल्ल ज्यान जोगिएको छ । जिन्दगीमै पहिलोपटक समुद्र आएजस्तो भयो । नख्खु खोलाको यस्तो भयावह अवतार देखेको थिइनँ ।’

अविरल वर्षापछि शुक्रबार र शनिबार आएको बाढीले ललितपुरको नख्खु खोला कोरिडोर उजाड बनेको छ । खोला किनाराका टहराहरू सबै बगेका छन् । जताततै बगर मात्र देखिन्छ ।
घरहरूमा समेत लेदोसहितको बाढी पसेर बसिसाध्ये छैन । गोपाल गिरी डुबानमा परेको घरको भुइँतलामा परिवारसहित बस्दै आएका थिए । शुक्रबार बेलुका ७ बजेतिर उनी टेलिभिजन हेर्दै थिए । बाहिर एक्कासि हल्ला सुनियो । उठेर हेर्दा बाढी गेटभित्रै पसिसकेको थियो । हतारहतार सामान सार्न थाले ।
आधाआधी सामान सारेपछि बाढी कोठाभित्रै पस्यो । त्यो रात माथिल्लो तलाको सिँढीमा बिताए । शनिबार बिहान पानी झन् बढ्यो । कोठाभित्रैबाट पानी बगिरह्यो ।

शनिबार साँझबाट बाढीले छाडेका कोठाहरू उनी दुई दिनदेखि सफा गर्दै आएका छन् । अहिले त सो ठाउँमा बसेरै गल्ती गरिएछ भन्ने उनलाई लाग्न थालेको रहेछ ।
‘हिलो सफा गर्दागर्दै दुईदिन बितिसक्यो । एकजना जनप्रतिनिधि पनि देखिएका छैनन् । स्थानीय सरकारको नामोनिसान छैन । अब यस्तो ठाउँमा को बस्छ ? कोठा सर्ने सोचेको छु,’ उनले भने ।
स्थानीय टेकबहादुर गुरुङले २५ वर्षअघि ललितपुरको बागडोलमा ४ आना जग्गा खरिद गरेका थिए । जिन्दगीभरको कमाइले जग्गा किनेका गुरुङले ३ वर्षअघि मात्रै ३ तल्लाको घर बनाए । घर बने पनि पूर्णरूपमा काम सम्पन्न भएको थिएन ।
शुक्रबार बेलुका खाना खाने तयारीमा रहेका गुरुङले बाहिर एक्कासि हल्ला सुने । निस्केर हेर्दा बाढी गेटसम्मै आइसकेको थियो ।
उनी हत्तपत्त माथिल्लो तल्लामा उक्लिए । तल्लो तल्ला र कम्पाउन्डभरी लेदो भरिएको छ । टेकबहादुर र उनका छोरा त्यही लेदो सफा गर्न रातदिन नभनी लागिरहेका छन् ।
‘यो घर मात्र होइन, मेरो जिन्दगीभरको कमाइ हो । यहाँसम्म बागमती आइपुग्छ भन्ने कल्पना पनि गरिएको थिएन । पछुतो भइरहेको छ । अब यो ठाउँमा कसले घरजग्गा खरिद गर्छ ? कसलाई दोष दिने ? आफ्नै भाग्य यस्तै रहेछ ।’
२०३८ यता पहिलोपटक यस्तो बाढी देखेको अर्का स्थानीय बाबुकाजी महर्जनले बताए । त्यतिबेला घटस्थापनाको दिन यस्तै विपत्ति आएको उनको सम्झना छ ।

ललितपुरका रैथाने महर्जनले २०२१ सालमा नापी आउँदा बागडोलामा जमिन नपाएका थिए । अहिले महर्जनको चार तल्लाको घर छ । घरको पहिलो तल्ला पूरै हिलाम्मे भएको छ । अगाडिको बाटो पनि हिँडिसाध्ये छैन । महर्जनको घरमा बस्दै आएका डेरावाल पनि २ दिनदेखि बाहिर निस्केका छैनन् ।
‘यस्तो अवस्था छ, बाहिर कसरी जाने ? बाटो नै छैन । पूरै हिलो मात्रै छ । कोही बाहिर निस्किन सक्ने अवस्था छैन,’ उनले भने ।
खोला किनारामा ३ आना जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएकी माया घिमिरेको टहरा पनि खोलाले बगायो । एक हप्ताअगाडि मात्रै मायाले जग्गा भाडा बुझाएकी रहिछन् ।
‘एक हप्ताअघि मात्रै १ लाख रुपैयाँ भाडा बुझाएको थिएँ । एउटा टहरो बनाएर तरकारी खेती गर्दै २ छोरा पालेकी थिए । सानो टहरा थियो । कोठा खोज्दा-खोज्दा खुट्टा दुखिसक्यो । यसै वर्ष तरकारी पनि झन् राम्रो हुँदै थियो, सबै बग्यो’, मायाले सुनाइन् ।

बागडोल मात्र होइन, पारि भैँसेपाटीतर्फ हार्मोनी कोलोनी क्षेत्र पनि बाढीले तहसनहस बनाएको छ । अहिले पनि २ तल्लासम्म हिलो थुप्रिएको छ । कोरिडोर सडक हिँड्न लायक छैनन् ।
पूरै बस्ती उजाड बनेको छ । चर्च, ड्राइभिङ सेन्टर, स–साना होटल तथा खाजा घर, पार्किङ, प्लटिङ सबै डुबानमा परेर बगरमा परिणत भएका छन् ।
हेर्नुहोस्, भिडियो :