काठमाडौँ, १८ कात्तिक - नेपाली काँग्रेसका नेता गगन थापाले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मूल मुद्दा बनाएर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज चाबहिलमा आयोजना गरेको सभा अभियानको सुरुआत गर्दै उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क बनाउनुपर्ने बताए ।
“काठमाडौँ उपत्यकामा विद्युतीय सवारीको व्यवस्था नगरेसम्म स्वास्थ्यका दृष्टिले बस्न लायक हुँदैन उपत्यकाको मौलिक संस्कृति नाश भए शहर मृत बन्छ, यसैले सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको ध्यान जानुपर्ने उनले बताए ।
गौशालास्थित माडवारी सेवा समिति र नक्सालको सत्यसाई केन्द्रमा नमूनाका रुपमा जनता स्वास्थ्य केन्द्र निर्माण भइरहेको पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले जानकारी दिए ।
कार्यक्रममा क्षेत्र नं ४ अन्तर्गतको प्रदेशसभा १ र २ का काँग्रेस उम्मेदवारद्वय क्रमशः नरोत्तम वैद्य र सादुराम खड्का, समानुपातिककी उम्मेदवार राधा घले, महासमिति सदस्य दिव्यमणि राजभण्डारीलगायतले संविधानको कार्यान्वयनका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल पारिनुपर्नेमा जोड दिए ।