काठमाडौं, १९ कात्तिक- मुलुक निर्वाचनमय बन्दै जाँदा काठमाडौं उपत्यकावासीको रोजाइ भने हरेक निर्वाचनमा फरकफरक हुने गरेको देखिन्छ । निर्वाचन इतिहासलाई हेर्ने हो भने उपत्यकावासीको मात्र होइन राजनीतिक दलको समेत एकाधबाहेकका अधिकांश निर्वाचनमा उम्मेदवारको रोजाइ फरकफरक हुने गरेको छ ।

संविधानसभा निर्वाचन–२०६४ मा उपत्यकावासीको रोजाइ संविधानसभा निर्वाचन–२०७० मा आइपुग्दा फेरिइसकेको थियो । रोजाइ फरक पर्नुमा उपत्यकामा केहीबाहेक हरेकपटक उम्ेमदवारका रूपमा नयाँ अनुहार छाउँदै आएका छन् । मतदाताको रोजाइ पनि केही उम्मेदवारबाहेक फरक फरक हुने गरेको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट समानुपातिक निर्वाचनमा राप्रपा नेपालको गाई चिह्नले सबैभन्दा बढी मत पायो । त्यतिबेला राप्रपा नेपालको चुनावी नारा ‘एक भोट दाइलाई एक भोट गाईलाई’ ले समानुपातिकमा राप्रपा नेपालले सबैभन्दा बढी मत प्राप्त ग¥यो ।
संविधानसभा निर्वाचन–२०६४ मा उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमा एमालेले अप्रत्यासित हार बेहो¥यो । १५ मध्ये ७ स्थानमा तत्कालीन नेकपा माओवादीले जित हासिल ग¥यो भने कांग्रेसले ६ क्षेत्र र नेपाल मजदुर किसान पार्टीले ३ स्थानमा जित हात पा¥यो ।
दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा उपत्यकावासीको रोजाइ बदलिसकेको थियो । पहिलो संविधानसभा निर्वाचनमा सात स्थानमा विजयी भएको माओवादी उपत्यकामा निल भयो । पहिलो संविधानसभामा भारी मतान्तरले विजयी भएका माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत काठमाडौं– १० मा तेस्रो स्थानमा सीमित भए ।
पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल काठमाडौं–२ बाट झक्कुप्रसाद सुवेदीसँग पराजित भए । दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट नेपाल विजयी भए । यो परिणाम उपनिर्वाचनसम्म आइपुग्दा फेरि बदलियो ।
रौतहटबाट समेत विजयी भएका नेपालले काठमाडौं–२ छाडे । उपनिर्वाचनमा नेपाली कांग्रेसका दीपक कुइँकेल विजयी भए । पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका कांग्रेसका प्रकाशमान सिंह भने दोस्रो संविधानसभा निर्वाचनमा समेत विजयी भए ।
पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका चक्र बास्तोला विजयी भएको स्थानमा दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा एमालेका रामेश्वर फुँयालले जित हात पारे । पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–४ मा कांग्रेसकी सुप्रभा घिमिरेले जित हात पारेकी थिइन्, राजधानी दैनिकमा खबर छ ।