![बाढीले लुट्यो रोशीको सौन्दर्य, एकैरातमा सुकुम्बासी बने जग्गाधनी [भिडियो स्टोरी]](https://lktcdn2.prixacdn.net/media/Roshi_1_S5Use0lXT7_gTokp37xEw.jpg)
विगत केही वर्षदेखि पनौती नगरपालिका– १२ स्थित रोशी बजारको चहल–पहल कुनै ठूलो शहरभन्दा कम थिएन । जग्गाको मूल्य आनाको ६/७ लाखसम्म पर्न थालिसकेको थियो ।
रोशी बजार हुँदै खारखोला र जोरघट्टा जाने मल्पी रोडमा टिप्परसहित दैनिक सयौं गाडी कुद्थे । बजारमा खोलिएका होटेल–रेस्टुरेन्टको व्यापार चकाचक थियो ।
बनेपा÷पनौतीको भन्दा सस्तो जग्गा भएपछि विदेश जाने र त्यहीँ वरपर अलि दुर्गमका मान्छेको रोजाइमा त्यहाँको जग्गा प¥यो । धमाधम पक्की घर बन्न शुरू भयो ।
२०३८ सालदेखि त्यहाँ ठूलो बाढी आएको थिएन । ०३८ सालमा पनि त्यति ठूलो बाढी नआएको, खोलो बढेको भएपनि शान्त देखिएको र केही मात्र क्षति भएको थियो ।
शान्त र सुरक्षित ठाउँ भएकैले रोशी बजारको प्रगति लोभलाग्दो थियो ।

गत शुक्रबार आएको अकल्पनीय बाढीले बजारको नक्सा नै परिवर्तन गरिदिएको छ ।
लगभग ८० प्रतिशत घरहरू बस्न योग्य छैनन् । मानवीय क्षति धेरै नभएपनि रोशी बजार अहिले उजाडिएको मरुभूमिजस्तो बन्न पुगेको छ ।
स्थानीयको हातमा लालपुर्जा छ, तर जग्गा छैन । घरभित्र पसेको बाढीले ल्याएको माटो र ढुंगा बाढी गएको ६ दिनसम्म निकालिएका छैनन् । वरिपरि बगरैबगर छ ।
अन्नपात बाढीले बगाएर लगिदिएको छ भने मान्छे बस्न र खानका लागि सग्लो घरमा सहारा लिइरहेका छन् । यस्तो वितण्डा त्यहाँ यसअघि कहिल्यै नदेखिएको त्यहाँका बुढापाकाहरू बताउँछन् ।
२ वर्षअघि मात्रै पक्की ढलान घर बनाएका नवराज केसीको घर उत्तानो परेको छ ।

उनको ४ रोपनी जग्गा बगर भएको छ । त्यहाँ अलि धनीमानी मानिने उनी आँखामा आँसु जम्मा गर्दै अहिले आफ्नो प्रगति ५० वर्षपछि धकेलिएको गुनासो गरे ।
अर्कैको घरमा शरण लिएर बसेका उनी र उनको परिवार अब के हुन्छ भन्ने सोच्नै सकेका छैनन् ।
केसी भन्छन्, ’३ करोडजतिको घर, जग्गा, बाइकलगायत अन्य सामान बगाएर लगिदियो । कहिले कहाँ, कहिले कहाँ बसिरहेका छौं ।’
घर बनाएको ऋण भर्खर तिरेर सकेकी पूर्णमाया सुनार त्यस्तै एक पीडित हुन् । बुधबारदेखि जान थालेको राहतमा पनि आफूलाई विभेद गरिएको उनको गुनासो छ ।
हेरौं लोकान्तर टीमले स्थलगत रुपमा तयार पारेको भिडियो स्टोरीः