३० असार २०८३, मंगलबार

कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेवा सञ्चालनः राखिए १० वटा मशिन

असोज १७, २०८१
बुटवल
कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेवा सञ्चालनः राखिए १० वटा मशिन

मिर्गौला फेल भएका बिरामीलाई डायलाइसिस सेवा प्रदान गर्न कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीवार एक कार्यक्रमबीच बाणगंगा–१ मा डायलाइसिस सेन्टरको उद्घाटन गरेका छन् । 

रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो । 

यसअघि मिर्गाैला फेल भएका बिरामीले डायलाइसिस सेवा लिन जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेन्टरमा १० वटा डायलाइसिस मशिन राखिएसँगै अब त्यो बाध्यता हटेको छ । यहाँको क्षमता दैनिक ६० जना बिरामीलाई सेवा पुर्याउन सक्ने रहेको छ । 

पाँच करोड रुपैयाँको लागतमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । एकजना बिरामीले हप्ताको दुईदेखि तीनसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ । 

लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चारवटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिँदै आएका छन् । चारवटा शाखा र एउटा अस्पताल गरी पाँचवटा स्वास्थ्य संस्थाबाट ५०० जनाले नियमित डायलाइसिस सेवा लिँदै आएका हुन् । 

सो अवसरमा मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

स्वास्थ्यमन्त्री खेमबहादुर सारू मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमूना बनाउने गरी सरकारले भूमिका बढाएको बताए ।

पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरूले नागरिकको स्वास्थ्य उपचारमा अतुलनीय योगदान पुर्याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्