
मोरङको केराबारीमा क्रसर उद्योग परिसरमै खनेको खाल्डोमा डुबेर दुई दाजुभाइको ज्यान गएको छ । क्रसर उद्योगले थुपारेको गिटी बालुवा निकाल्दा ठुलो खाल्डो परेको थियो । त्यहाँ पौडी खेल्ने क्रममा डुबेर भूपेन र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर उनीहरूको मृत्यु भएको हो । दाजु भूपेन १० वर्षका तथा भाइ रामचरण ६ वर्षका थिए ।
बुवा तोयानाथ चौलागाईँ त्यही क्रसरका कामदार हुन् । ‘विद्यालय छुट्टी भएपछि उनीहरू खेल्न क्रसरमा आएका रहेछन्,’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले भने, ‘पानी जमेको खाल्डोमा पहिला दाजु पसेका रहेछन् । दाजु पसेर अकडेपछि भाइले निकाल्न खोज्दा उनी पनि त्यही डुबे छन् ।’
लेदो सहितको पानी भएकाले उनीहरू निस्कन नसकेको इन्स्पेक्टर खत्रीले बताए । विद्यालय बिदा भएको र घरमा बच्चाको हेरचाह नहुँदा उनीहरूको अकालमा ज्यान गएको प्रहरीको निष्कर्ष छ । ‘बुबाले छोराहरू आफूले काम गर्ने क्रसर उद्योगमा आएको थाहा पाएनछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘आमा अत्यधिक मदिरा सेवन गर्नुहुँदो रहेछ । केही दिनअगाडि आमालाई मदिरा सेवन गरेर अचेत अवस्थामा फेला पारेर हामीले गाउँपालिकामा बुझाएका थियौं ।’
क्रसरले दुःख दिएको भन्दै भूपेनको शव निकाल्न स्थानीयले अवरोध गरेका थिए । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले बाटो बनाउनेलगायत स्थानीयका माग सम्बोधन गर्ने बताएपछि शव निकालिएको थियो ।
दुवै जनाको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।