२० असार २०८३, शनिबार
शिक्षण र व्यावसायिक कृषि सँगसँगै

बसाइँसराइले बाँझिएको जमिनमा हेडसरले गरेको ‘खुर्सानी क्रान्ति’

वार्षिक ५० लाख आम्दानी, विद्यालयमा बेतलबी सेवा
असोज १९, २०८१
बुटवल
बसाइँसराइले बाँझिएको जमिनमा हेडसरले गरेको ‘खुर्सानी क्रान्ति’

४५ वर्षको अधबैँसे उमेर पार गर्दैगर्दा पाल्पाका जनक आचार्यलाई कामको चाप झनै बढ्दो छ । बिहान–बेलुका व्यावसायिक कृषि र दिउँसो शिक्षण पेशा गर्ने उनी फुर्सदले एकछिन पनि बस्न चाहँदैनन् । बसाइँसराइले बाँझो बनेको जमिनमा अकबरे (डल्ले) खुर्सानी फलाएर जनकले कृषि क्रान्ति गरेका छन् । साथै उनी रिब्दीकोट गाउँपालिका–७ स्थित प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका उनी अहिले ‘अकबरेको हेडसर’का रुपमा पनि चिनिन्छन् । यी दुई पेशाले उनलाई दोहोरो परिचय दिलाएका छन् । उनलाई गाउँलेले ‘डबल हेडसर’का रूपमा चिन्छन् । 

विगत २० वर्षदेखि अध्यापन गराउँदै आएका उनले पाँच वर्षअघि कृषि पनि गर्ने निचोड निकाले । त्यसपछि खुर्सानी खेती शुरू गरेका उनी त्यसयता कृषिलाई सम्मानित पेशा बनाउन लागिपरेका छन् । उनले खुर्सानीसँगै सुन्तला, गोलभेँडा, तरकारी खेती र कुखुरापालन पनि गरेका छन् । ‘मेरा कतिपय निकट साथीहरू नै पढाउँदै कृषि पनि गर्न सकिन्छ र ? भनेर प्रश्न गर्ने गर्थे,’ उनी भन्छन्, ‘अहिले आफैँ कृषक बन्न थालेका छन् । त्यो देख्दा मलाई मैले सही गरेँछु भन्ने महशुस हुन्छ ।’

जनक बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय जान्छन् । बचेको समयमा खुर्सानी, सुन्तला र तरकारी खेतीको रेखदेख गर्न जुट्छन् । उनी स्कूलबाट आएपछि हतार–हतार खेतबारीमा पुगिहाल्छन् । उनी विद्यालय जाँदा श्रीमती सजिताले कृषिको काम गर्ने गर्छिन् । अहिले आचार्य दम्पतीले वार्षिक ५० लाख रुपैयाँ त कृषिबाटै आम्दानी गर्ने गर्छन् । 

null

अनि शुरू भयो खुर्सानी खेती
केही दशकयता पहाडबाट शहरी क्षेत्र तथा तराईमा बसाइँ सर्नेको लहर छ । यसबाट पाल्पा अछुतो हुने कुरै भएन । बसाइँसराइले अहिले रिब्दीकोटमा अहिले किसानको संख्या घट्दो छ । ती किसानहरू पनि बाँदर र बँदेलबाट अन्नबाली जोगाउन नसक्दा हैरान थिए । यसले गर्दा जनकलाई पनि एकपटक गाउँ छोडौंजस्तो लागेको थिए । तर उनले एउटा जुक्ति निकाले । बाँदरले खुर्सानी खाँदैन भन्ने त्यसैले यसैको खेती गर्ने । यसबीचमा उनले  पूर्वी नेपालमा खुर्सानी खेती राम्ररी गरिएको छ भन्ने सुने । यो थाहा पाएपछि अध्ययन गर्न भनेर उनी निस्के । त्यहाँबाट उनले २ हजार रुपैयाँ किलोग्रामका हिसाबले कोसा बीउ खुर्सानी किनेर खुर्सानीको खेती थाले । आफूले पूर्वका कृषक मदन राईबाट धेरै ज्ञान लिएको र त्यसैबाट खुर्सानी खेतीमा जुटेको जनक बताउँछन् । 

शुरूमा आफैँ नर्सरी उत्पादन गरेर व्यावसायिक खुर्सानी उत्पादनमा केन्द्रित भए उनी । पहिलो वर्ष १३५ रोपनी क्षेत्रफलमा खुर्सानी लगाए । व्यवसायिक उत्पादनमा लागेको पहिलो वर्ष उनलाई सोचभन्दा राम्रो सफलता मिल्यो । जनकले अकबरे खुर्सानी खेती करिब २५–२६ लाख रुपैयाँ खर्च गरेर शुरू गरेका थिए । पहिलो वर्ष नै उनी ४० लाखको उत्पादन बिक्री गर्न सफल भए । दोस्रो वर्ष भने पहिलो वर्षजस्तो लगानी धेरै गर्न परेन फाइदा पनि करिब दोब्बर हुन पुग्यो । पहिलो वर्ष १३५ रोपनीमा खेती गरेका उनले दोस्रो वर्षदेखि भने यसको क्षेत्रफल घटाए । ‘किनकि सबै जमिन खुर्सानीका लागि उपयुक्त थिएनन् । बाँकी जमिनमा धान खेती वा अन्य खेती गरेर हाल ५५ रोपनी क्षेत्रफलमा मात्रै अकबरे लगाएको छु,’ उनी भन्छन् ।  

शुरूका वर्षमा जनकले प्रतिकिलो २५० लेखि ३५० का दरले बिचौलियालाई खुर्सानी बेचेका थिए । त्यसपछि उनको खुर्सानी खरिद गर्न रुपन्देहीको एशोदा फुड्स घरमौ आइपुग्यो । ठूलो परिमाणमा खुर्सानी आवश्यक पर्ने भएपछि स्पाइसी चाउचाउ उत्पादन गर्ने एशोदाले राम्रो मूल्य पनि दिन थाल्यो । एशोदाले खुर्सानी खरिद गर्ने ग्यारेन्टी गरेपछि जनकले गाउँपालिकामा प्रस्ताव गरेर अन्य कृषकलाई पनि उत्पादनमा जोडिदिएका छन् । अन्य कृषक पनि अकबरे खेतीमा जोडिएपछि उनले बिउका लागि उनीहरूलाई तयारी बियाँ बेच्ने गरेका छन् । बियाँ प्रतिकिलो २५ हजार रुपैयाँ र सुकेको खुर्सानी प्रतिकिलो २ हजार ५०० मा बिक्री गर्ने गरेका छन् । आफूले उत्पादन गरेको बीउलाई रिब्दीकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ तथा लमजुङ र कैलालीसम्मका किसानले खरिद गरेर लग्न थालेको उनले बताए । 

null

जनकको सफल कृषि यात्राका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सहायक बन्न पुगेको छ । परियोजना इकाइ कार्यालयअन्तर्गतको चक्लाबन्दी कार्यक्रममार्फत खुर्सानी खेतीमा आर्थिक तथा प्राविधिक सहयोग प्राप्त हुँदा आफूलाई थप सहज भएको उनी बताउँछन् । जनकको पहलबाट पालिकाभरका अहिले करिब ८०० किसानले खुर्सानी खेती गरेका छन् । जसबाट वार्षिक ३ करोड रुपैयाँ गाउँमा भित्रिन्छ । किसानलाई खुर्सानीको ग्यारेन्टीको न्यूनतम समर्थन मूल्य जनकले तोकिदिएका छन् । उनीहरूको खुर्सानी संकलन गरेर बिक्री पनि गर्छन् । उनले आफ्नो मात्रै नभई अन्य कृषकको समेत उत्पादनलाई बजार पुर्याउन संकलन केन्द्र सञ्चालन ल्याएका हुन् । गतवर्ष मात्रै रिब्दीकोट गाउँपालिकाबाट ६५ टन खुर्सानी बिक्री गरिएको उनले बताए ।  

संकलन केन्द्रका लागि एउटा भाडाको गाडीसहित चालक र हिसाब किताब गर्न एकजना गरी दुई जनाले प्रत्येक्ष रोजगारी पाएका छन् । जनकको कृषि फर्म रेखदेखका लागि छुट्टै एकजना हेरालु रहेका छन् । यस्तै सिजनअनुसार खेताला प्रयोग गरेर खेतीमा सहयोग लिने गरेको उनी बताउँछन् । संकलन केन्द्रमा आफ्ना उत्पादन ल्याउने कृषकले न्यूनतम २२० देखि २५० रुपैयाँ प्रतिकिलोका दरले मूल्य पाउने गरेको उनले बताए । रिब्दीकोटमा मात्रै हाल १ हजार २०० रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खेती हुने गरेको उनी बताउँछन् । 

खुर्सानी खेतीमा पहिलो वर्ष लगानी केही बढी लागे पनि त्यसपछिका वर्षमा भने लगानी दर घट्दै गइरहेको जनकले सुनाए । एउटा बिरुवाले कम्तीमा २–३ वर्षसम्म उत्पादन दिने गरेको छ । पहिलो वर्ष प्रत्येक बिरुवाबाट १ किलो तथा त्यसपछिका वर्षमा २ किलोसम्म उत्पादन भएको उनले बताए ।

विद्यालयमा बेतलबी सेवा
जनक अहिले पाल्पामा धेरै खुर्सानी र सुन्तला उत्पादन गर्ने किसानमा पर्छन् । पाँच वर्षअघि अकबरे खुर्सानी खेती शुरू गरेयता आफूले जीवनमा कुनै कठिनाइ झेल्नु नपरेको उनी बताउँछन् । उजाड बनेको गाउँलाई खुर्सानी खेतीले हराभरा बनाएका उनले कृषिमा आत्मनिर्भर हुँदै गएपछि विद्यालयमा समेत बेतलबी सेवा प्रदान गर्दै आएका छन् । यसरी तलब नलिइ काम गरेको पनि पाँच वर्ष पुगिसकेको छ । पालुङ मावि गत वर्षको एसईई परीक्षामा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने विद्यालय पनि हो । उनका बुवा, आमा, श्रीमती र २ छोरासहित ६ जनाको उनको परिवार छ । विद्यालयबाट तलब नलिएपछि सबैको रोजीरोटी खुर्सानी खेतीले नै धानिरहेको छ । 

खाली खुर्सानी खेती मात्रै होइन जनकले गरेको सुन्तला खेती पनि अहिले व्यावसायिक चरणमा पुगेको छ । गतवर्ष बँगैचामै आएर व्यापारीहरूले १८ टन सुन्तला लगेको उनले जानकारी दिए । त्यसो त जनकले सन्तला खेती खुर्सानीभन्दा पहिले नै २०७० सालमा शुरू गरेका थिए । यसले व्यवसायिक रुप लिन थालेको भने धेरै भएको छैन । हाल ४२८ वटा सुन्तलाका बोटले उत्पादन दिने गरेको उनले सुनाए । ती बोटबाट आकारअनुसार प्रत्येक वर्ष ४० देखि १५० किलोसम्म सुन्तला उत्पादन हुने गर्छ । परम्परागत तरिकाले रोपिएका ३० वर्षअघिका पुराना बोटलेसमेत उत्पादन दिइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्