अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीवार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि शनिवार खुलाइएको हो ।
हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । ‘अवरुद्ध सडक खुलाउन दिनरात नभनी दुईवटा डोजर प्रयोग गरेका थियौँ । तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको छ,’ उनले भने, ‘पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खाेलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।’
सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं तथा तराईका विभिन्न जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारीसाधन (गाडी) जयरामघाट, डौँठेखेला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारलगायतका ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए ।
दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौं तथा तराईका जिल्ला जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मतकार्य शुरू गरिएको छ ।
मध्यपहाडी लोकमार्गबाहेक जिल्लाका सबै स्थानीय तहसँग जोडिएका अन्य सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । दशैँ–तिहार मान्न राजधानी काठमाडौं तथा तराईका विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दालाई सहजरुपमा घरसम्म पुग्ने वातावरण मिलाउन जिल्लाका दशवटै स्थानीय तहले अवरुद्ध सडक मर्मत शुरू गरेपनि अहिलेसम्म सम्भव भएको छैन ।
अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन १५ दिनअघि पहल थालिए पनि अविरल वर्षाका कारण सम्भव नभएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । दशैँ–तिहारअघि सबै ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसमेतले आग्रह गरेको थियो ।
अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएपछि दशैँ–तिहार मान्न विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन् ।
ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि अधिकांश यातायातका सवारी साधन दिक्तेल बजारमै थन्क्याएर राखिएका छन् । कमाइ हुने समयमा सडक अवरुद्ध भएका कारण यातायातका सवारीसाधन थन्क्याएर राख्नुपर्दा व्यवसायीलाई ठूलो क्षति भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । –रासस