
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तिन नदिन स्वास्थ्यकर्मीले गरिरहेको कामको अवलोकन गरेका छन् ।
बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक भ्रमण गरेका उनले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा समेत पुगेर बिरामीहरूले निःशुल्क उपचार पाए–नपाएको जानकारी लिए ।

मन्त्री पौडेलले शनिवार उपचाररत बिरामीसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए–नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै उनीहरूसँग प्रश्न गरे । परिवारका सातजना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे । ‘उपचारको पैसा तिर्नु त परेन ?’ उनले प्रश्न गरे ।
जवाफमा तामाङले उपचार राम्रो पाइरहेको बताएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ । ‘पैसा त तिर्नु परेन । तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन । सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो,’ उनले भने ।
जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने बताउँदै बाँकी सहयोगका लागि पनि सकेको पहल गर्ने प्रतिबद्धता जनाए ।