३० जेठ २०८३, शनिबार

यस वर्षको भैरव पुरस्कार गाम्नागेलाई

गौतमलाई वाङ्मय र गिरीलाई प्रतिभा पुरस्कार
असोज २०, २०८१
काठमाडौं
यस वर्षको भैरव पुरस्कार गाम्नागेलाई

नेपाली साहित्यका ‘विराट प्रतिभा’ भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार भैरव पुरस्कार गुठीले तीन अलग–अलग स्रष्टालाई प्रदान गरेको छ । 

गुठीले हालै काठमाडौंमा एक कार्यक्रम आयोजना गरी स्रष्टाहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 

जसअनुसार यस वर्ष (विसं २०८१)को भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । 

एक लाख १ हजार १ सय ११ रुपैयाँ राशीको भैरव वाङ्मय पुरस्कार भाषासेवी एवं वरिष्ठ कोषकार चूडामणि गौतमलाई प्रदान गरियो भने ५१ हजार १ सय ११ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले प्राप्त गरिन् । 

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्धय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको चयन समिति गठन गरेको थियो । पुरस्कृत स्रष्टाहरूमध्ये हास्यव्यङ्ग्य साहित्यमा गाम्नागेको योगदानबारे प्राध्यापक डा रामप्रसाद ज्ञवालीले प्रकाश पारेका थिए ।

त्यस्तै भाषिक क्षेत्रमा गौतमको योगदानबारे साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले चर्चा गरे । यसैगरी कलाकार गिरीको योगदानका बारेमा साहित्यकार मेनका पोखरेलले प्रकाश पारेकी थिइन् । 

सोही अवसरमा वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेले भैरव अर्याल नेपाली साहित्यको हास्यव्यङ्ग्य साहित्यको ‘महारथी’ नै भएको धारणा राखे । भैरव पुरस्कार गुठीका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार एवं पत्रकार रोचक घिमिरेले गुठीले हास्यव्यङ्ग्य क्षेत्रमा योगदान गर्ने स्रष्टाबाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील स्रष्टालाई पनि पुरस्कृत गर्दै आएको जानकारी दिए ।

संविधानसभा सदस्य रामेश्वर फुयाल, साहित्यकार आरसी रिजाल, गुठीका सचिव वसन्त रिजाल लगायतले समुन्नत समाजको निर्माणमा साहित्यको भूमिकाबारे प्रकाश पारेका थिए । कार्यक्रममा व्यङ्ग्य कवि तथा गजलकारहरूले ‘चोटिला’ कविता तथा गजल प्रस्तुत गरेका थिए ।

सोही अवसरमा साहित्यकार स्व रमेश विकलको व्यङ्ग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्