१० साउन २०८३, आइतबार
स्वदेशी उत्पादनको प्रबर्द्धन

राजधानीका गल्ली–गल्लीमा जुम्ली स्याउ

असोज २१, २०८१
काठमाडौं
राजधानीका गल्ली–गल्लीमा जुम्ली स्याउ

ललितपुरको हरिहर भवनभित्र गल्लीमा २७ वर्षीय सुरेश अधिकारी जुम्लाको स्याउ बेचिरहेका थिए ।

बिहानै ८ बजे काठमाडौंको बालाजुबाट एक गाडीमा स्याउका कार्टुनहरू बोकेर बेच्न निस्किएका अधिकारी दिउँसो हरिहरभवन नजिक भेटिएका हुन् । 

तीन दिनअघि मात्रै हुम्लाबाट स्याउ ल्याएर काठमाडौं छिरेका अधिकारीसँग अब २०० कार्टुन स्याउ मात्रै बेच्न छ । उनले ६०० कार्टुन स्याउ ल्याएका थिए ।

‘तीन दिन भयो काठमाडौँ आएको’, अधिकारीले भने , ‘दुई दिनमै आधाभन्दा बढी बिक्री गरिसकेको थिएँ । अब २०० कार्टुन मात्रै बाँकी छ । यो पनि भोलिसम्म सकिन्छ, अनि घरतिर लाग्ने हो ।’ 

गुठीचौर एग्रो फार्म प्रालि लेखिएको कार्टुनमा ल्याइएका स्याउहरू धमाधम बिक्री भइरहेको थियो । सबैले राम्रो प्रतिक्रिया पनि दिइरहेको देखिन्थ्यो । 

६७ वर्षका मंगले सुनारले ललितपुरमा जुम्लाको स्याउ देखेपछि खरिद नगरी रहन सकेनन् । उनले २ दाना स्याउ भए पनि खरिद गरे । र, केही बेरसम्म उक्त स्याउलाई हेरिरहे । 

जुम्ला नै घर भई हाल ललितपुरको हरिहर भवनमा छोरासँग बस्दै आएका सुनारले कुनै समयमा ६० हजारदेखि ७० हजार रुपैयाँसम्मको स्याउ बचेका रहेछन् । 

जुम्लाको हिमा गाउँपालिकामा उनको घर थियो, जुन अहिले छाडेर उनी राजधानीमा बस्दै आएका छन् । आफ्नै जन्मभूमिको स्याउ देख्दा निकै खुशी लागेको उनले बताए । 

‘हाम्रो समयमा जुम्लाको स्याउ नेपाल (अहिलेको काठमाडौं) लैजाने भनेको सुनिन्थ्यो । अहिले यसरी ताजा स्याउ देख्दा निकै खुशी लाग्यो’, सुनारले भने, ‘मेरो घरमा आफ्नै १०० बोट स्याउ छन् । अहिले ३ वर्ष भयो काठमाडौंमा छोरासँग बस्दै आएको । अहिले ती स्याउका बोट कस्ता भए, थाहा छैन ।’

जुम्लाबाट ल्याएका स्याउहरू बालाजुको कोल्ड स्टोरमा राख्ने गरिएको रहेछ, जहाँ एक महिनाको ३० हजार रुपैयाँ तिर्नुपर्ने अधिकारीको भनाइ छ । 

‘कोल्ड स्टोरमा १० दिन स्याउ राखे पनि ३० हजार रुपैयाँ हो । एक महिना राखे पनि ३० हजार रुपैयाँ नै हो । मेरो काम त एक हप्ताभित्रै सकिन लागिसक्यो’, अधिकारीले भने । 

दिनको ४ हजार रुपैयाँ गाडी भाडा तिरेर स्याउ बेच्ने गरिएको छ, जहाँ दिनभरि ४ हजार रुपैयाँ तिरेर उक्त गाडीमा स्याउ राखेर राजधानीका गल्ली–गल्लीमा बिक्री गरिने गरेको छ । 

यसअघि गत वर्षको भदौमा जुम्लाको स्याउ लिएर काठमाडौं आएका अधिकारी निकै खुशी देखिन्छन् । तर, बजारमा कसैले जुम्लाका स्याउ बिग्रिएर सस्तोमा बेचिरहेको खबर बाहिर आएको भन्दै उनले दुःख व्यक्त गरे । 

यसअघि सुर्खेत र नेपालगञ्ज लगेर स्याउहरू बेच्ने गरेका अधिकारी गत वर्षदेखि काठमाडौं आउन थालेका हुन् । वर्षमा एकपटक सिजनको बेलामा जुम्लाका अधिकांश स्याउ व्यवसायीहरू संघीय राजधानी आउने गर्दछन् । झन् यस वर्ष नेपाली उत्पादनलाई जोड दिँदै जुम्लाको स्याउलाई निकै जोड दिइएको छ ।

त्यसो त बाटोमा राखेर बिक्री गर्न समस्या रहेको व्यवसायीहरू बताउँछन् । काठमाडौं महानगरपालिकाले यसरी बाटोमा गाडी राखेर स्याउ बेच्न अनुमति दिएको छैन ।

स्थानीय व्यापारी तथा सटर वाला व्यवसायीहरूलाई असर नपर्ने गरी स्याउ बेच्नुपर्ने हुन्छ । पहिलोपटक सिधै काठमाडौं ल्याएर स्याउ बेच्न निकै गाह्रो छ, जसका लागि यहाँको बजार र बेच्ने ठाउँको बारेमा जानकारी हुनुपर्ने आवश्यकता छ । 

ग्रेडिङ गरेर स्याउ बिक्री

जुम्लाबाट ल्याइएका स्याउको मूल्य फरक–फरक पाइने गरेको छ ।

अहिले सुरेश अधिकारीले ३ ग्रेडमा स्याउ बेचिरहेका छन् । प्रतिकिलो २५० रुपैयाँका दरले ‘ए’ ग्रेडको स्याउ बेचिरहेको अधिकारीले बताए । 

त्यस्तै, १९० रुपैयाँ प्रतिकिलो ‘बी’ ग्रेडको र १७० रुपैयाँमा ‘सी’ ग्रेडको स्याउ बेचिरहेका छन् । बजारमा जुम्लाका स्याउ यसरी ग्रेडिङ गरेर बेचिरहेको उनको भनाइ छ ।

एकपटकको स्याउ ल्याउँदा करिब १३ लाख रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको छ । 

अधिकारीले जुम्लाबाट करिब ६ लाख जतिमा स्याउ खरिद गरी काठमाडौं ल्याएका हुन् । उनका अनुसार उनलाई काठमाडौंसम्म ल्याउँदा २ लाख ढुवानी खर्च लाग्यो ।

३० हजार कोल्ड स्टोरको खर्च र काठमाडौंमा स्याउहरू बेच्नका लागि भाडामा गाडी लिएको खर्च (खान/बस्न समेत) ५० हजार जोडेर ९ लाख खर्च हुने गरेको छ । 

यस हिसाबले अधिकारीले वर्षमा एकैपटक करिब ६ लाख बराबरको नाफा कमाउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्