२७ जेठ २०८३, बुधबार

विराटनगरबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

असोज २१, २०८१
विराटनगर
विराटनगरबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा परीक्षा दिएको आरोपमा विराटनगरबाट तीन पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज– ४ का सन्तोष गुप्ता, सुनसरी बर्जू– ५ चिमडीका विक्लप चौधरी र रामगञ्ज–४ का देवकृष्ण साह छन् ।

महेन्द्र मोरङ कलेजका स्ववियु सदस्य दीपक यादवको परीक्षा लेखिदिएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अगाडि बढाइएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

परीक्षा हलमा विद्यार्थी बसेको र उनीहरूले वाटसएपमार्फत प्रश्न आउट गर्ने गरेको खुलेको डीएसपी जोशीले बताए । नक्कली परीक्षार्थीले घरमा बसेर उत्तर लेखिदिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘परीक्षा शुरू भएपछि वाटसएपबाट प्रश्न आउट भएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ‘उत्तर पुस्तिका भने कति बेला कसरी बुझाए भन्ने खुलेको छैन ।’

ती अधिकृतका अनुसार पक्राउ परेकाहरूले स्ववियु सदस्य दीपक यादवको परीक्षा लेखिदिएको प्रहरीसमक्ष बयान दिएका छन् ।

‘पक्राउ परेकाहरूले स्ववियु सदस्य दीपक यादवको नाममा परीक्षा लेखिदिएको बताएका छन् । अहिले हामी सिम्बोल नम्बरबाट पत्ता लगाउन कोसिस गरिरहेका छौं,’ ती अधिकृतले भने ।

उनीहरूले परीक्षा लेख्ने गरेको कोठामा गाइड तथा अन्य पुस्तकहरू समेत भेटिएको र ती पुस्तकहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जनाले यादवको डेरामा बसेर उत्तर लेख्ने र उत्तर पुस्तिका क्याम्पससम्म पुर्‍याइदिने गरेको प्रहरीले जनाएको छ ।

दीपक भने परीक्षाहल भित्र नै रहेको प्रहरीले जनाएको छ ।

क्याम्पसमा बीबीएस र बीएड दोस्रो वर्षको ‘ब्याक पेपर’को परीक्षा चलिरहेको छ ।

यादवसहित अन्य एक जना विद्यार्थीको पनि उनीहरूले परीक्षा लेखिदिने गरेको प्रहरीले जनाएको छ । अर्का विद्यार्थीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

यादव भने नेविसंघका नेता हुन् । यस अगाडि पनि उनी पक्राउ परेका थिए ।​

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्ष मै हातपात गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्