१७ असार २०८३, बुधबार
अपराधको विकृत रुप

बढ्दो हनीट्र्याप घटना: फ्ल्याटमा बोलाएर हत्यादेखि मोटो रकम असुलीसम्म

पैसावाल व्यापारी र परस्त्रीसँग सम्बन्ध राख्न खोज्नेहरू मुख्य निसानामा
असोज २२, २०८१
काठमाडौं
बढ्दो हनीट्र्याप घटना: फ्ल्याटमा बोलाएर हत्यादेखि मोटो रकम असुलीसम्म

‘पैसा नदिए बलात्कार मुद्दामा फसाइदिन्छु’ भनेर अर्कै अभियोगका पीडकसँग ३० लाख रुपैयाँ असुलेको आरोपमा प्रहरी निरीक्षक विनु शाही निलम्बनमा छिन् । 

कानूनसम्मत आएको उजुरीउपर अनुसन्धान गरेर पीडकलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा पीडितसँग मिलेर बार्गेनिङ गरी रकम असुली गरेको आरोप शाहीमाथि छ । 

भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख शाहीले एक युवतीले दिएको गालीगौलज र धाकधम्कीसम्बन्धी जाहेरीमा मिलापत्र गराउने बहानामा पैसा लिएको आरोप छ । पैसा नदिए अभियोगलाई ‘बलात्कार’तिर मोडेर पीडकसँग रकम असुल्न गिरोह परिचालित गरेको पाइएको प्रहरी अधिकृतहरू बताउँछन् ।

इटहरी घर भएका एक घरजग्गा कारोबारीविरुद्ध ती किशोरीले उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा छानबिन समिति बनेको छ । प्रहरीले यो घटनामा संलग्न ३ जनालाई पक्राउ गरिसकेको छ ।

इटहरीकी भीमादेवी थापा, सुष्मा थापा र ताज मूल इस्लामलाई पक्राउ गरिएको हो । 

अनुसन्धानका क्रममा भीमादेवीको खातामा दुईपटक गरेर २० लाख जम्मा भएको पत्ता लागेको थियो । ती व्यवसायीले थप १० लाखको चेक दिएका थिए । 

‘रक्षक नै भक्षक’ भनेजसो गरी प्रहरी निरीक्षक शाहीले पीडकलाई कानूनी दायरामा ल्याउन छाडेर रकम असुलेको आरोप लागेको छ ।

***

काभ्रेमा एक युवतीले युवकलाई मायाजालमा पारेर ५ लाख असुली गरी हत्या गरिन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ की मनीषा महतले भारतीय र नेपाली युवकहरूसँग मिलेर कीर्तिपुरका विनोद खड्गीलाई कोठामा बन्धक बनाएर कुटपिट तथा ५ लाख लिएर हत्या समेत गरेको खुलेको थियो ।

काभ्रे प्रहरीले महतसहित ५ जनालाई पक्राउ गरेको छ । सामान्य परिवारकी महतले पैसा कमाउने उद्देश्यले गरेको यो हर्कत देखेर अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसमेत छक्क परेका छन् । 

राधेराधेस्थित एक आलिसान घरको फ्ल्याटमा बस्दै आएकी महतले अन्य धेरै युवालाई हनीट्र्यापमा पारेको आशंका प्रहरीको छ । 

***

ललितपुरका एक जग्गा व्यापारीलाई हनीट्र्यापमा पारेर ५० लाख असुली गर्न खोज्ने ३ जना पक्राउ परेका थिए । गत वर्ष साउनको यो घटनामा अनिता मगर, दीपक पराजुली, विमल सुवेदी र सरोज तिमल्सिना पक्राउ परेका थिए ।

घटना सामाजिक सञ्जाल फेसबूकदेखि जोडिन्छ । अनिताले आफैं सामाजिक सञ्जाल फेसबूकमा ती व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँछिन् ।

ती व्यापारीले सहजै एसेप्ट गर्छन् । कुराकानी हुन थाल्छ । भेटघाट र चिनजान नभई उनीहरूबीच मायाप्रेमका कुरा हुन्छन् ।

अनिताले ती व्यापारीलाई घुम्न जाने प्रस्ताव गर्छिन् । ती व्यपारी गोदावरीस्थित एक होटलमा अनितालाई भेट्न पुग्छन् । 

त्यतिबेलै अनिताले ती व्यापारीलाई हनीट्र्यापमा पारेर रकम असुल्ने योजना बनाइसकेकी हुन्छिन् । तर, ती व्यापारी यसबारे बेखबर हुन्छन् । व्यापारी र अनिताबीच कुनै अनैतिक सम्बन्ध हुँदैन । तर, पनि ‘तपाईं र मेरो सम्बन्धका बारेमा परिवारलाई सबै थाहा भयो । अब ५० लाख रुपैयाँ नदिए बलात्कार मुद्दा लगाएर फसाइदिन्छु,’ भनेर व्यापारीलाई धम्की दिन्छिन् । 

व्यापारीले आफूसँग ५० लाख नभएकाले १० लाखसम्म भए दिने प्रस्ताव राख्छन् । उनी ३ लाखको चेक र बाँकी रकम दिने भनेर होटलबाट उम्किन्छन् । त्यसबारे प्रहरीमा सूचना पुग्छ । व्यापारीले पैसा लिन बालकुमारीस्थित एक रेस्टुरेन्टमा बोलाउँछन् । पैसा लिन आएका बेला प्रहरीले सबैलाई पक्राउ गर्छ । 

हनीट्र्यापमा पारेर रकम असुलीदेखि हत्यासम्मका यी ३ वटा घटनाले अपराधको विकृत रूप देखाउँछ ।

चिनजान समेत नभएकी युवतीसँग सम्बन्ध गाँस्न लालायित हुने पुरुषको चाहना र त्यही चाहना बुझेर डेट गरी ‘बलात्कार मुद्दा हालिदिन्छु’ भन्दै धम्क्याएर रकम असुली गर्ने घटना बर्सेनि बढ्दो छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो आर्थिक वर्ष भदौसम्ममा ३ वटा यस्ता घटना भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ९ वटा, २०७९/८० मा ६ वटा र २०७८/०७९ एउटा घटना भएको देखिन्छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा हालसम्म ३८ जनालाई पक्राउ गरेर मुद्दा चलाएको देखिन्छ । पक्राउ परेकामध्ये २० जना पुरुष र १८ जना महिला छन् । 

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार यी घटनाको अनुसन्धान गर्दा घटना हुनुको मुख्य चारवटा कारण देखिएका छन् । 

युवायुवतीमा छिटो र सजिलो ढंगबाट पैसा कमाउने चाहना, अरूको देखासिकी, बेरोजगारी र कानूनको ज्ञान नहुनु नै घटना सिर्जित हुने मुख्य कारण रहेको कार्की बताउँछन् । पीडितहरू प्रायः परस्त्रीसँग यौन सम्बन्ध गाँस्न खोज्ने चाहनाका कारण हनीट्र्यापमा परेको पाइन्छ ।

‘हनीट्र्यापका सबै घटना योजनाबद्ध रूपमा घटाइएको पाइन्छ । यस्ता घटनादेखि सावधान हुन जरुरी छ,’ कार्कीले लोकान्तरसँग भने, ‘परिवार भएका पुरुषहरू अर्काको श्रृंगारमा रमाउन खोज्ने र त्यस्ता पुरुषबाट फाइदा लिन खोज्ने युवतीहरूको उद्देश्य मेल खाँदा घटना सिर्जित भएको देखिन्छ ।’

प्रहरीले पक्राउ परेका अभियुक्तमाथि आपराधिक विश्वास घात (एक्सटर्सन) र आपराधिक लाभमा मुद्दा चालाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्