
असोज ११ र १२ को अविरल वर्षापछि निम्तिएको बाढीपहिरोबाट पीडित भएकालाई एनसेल फाउन्डेसनले राहत वितरण गरेको छ ।
एनसेलले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत वितरण गरेर सहयोग गरेको हो ।
एनसेलले सोमवार गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँचवटा वडा (४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।
‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रुपमा कनेक्टेड छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सहयोग गरेकोप्रति एनसेललाई आभार व्यक्त गरे ।
‘विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडितलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौं । अब हामीले पुनःस्थापनामा काम गर्नुपर्ने छ ।’
राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुडा, हाइजिन किट, ब्याल्ङ्केट र म्याटलगायत रहेका छन् । जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको एनसेलले जनाएको छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड खड्काले भविष्यमा पनि आपत–विपद्मा सहयोग पुर्याउन तत्पर रहेको बताइन् ।
‘एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्य गर्दै ग्रासरूट लेभलमा आवश्यक सहयोग पुर्याउँदै आएको छ र भविष्यमा पनि आपत विपद्मा सहयोग पुर्याउन तत्पर छौं,’ उनले भनिन्, ‘सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’
एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितहरूका लागि ठूलो सहयोग सावित भएको स्थानीयको भनाइ छ । यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्व राखेको भन्दै स्थानीय निकायले पनि प्रशंसा गरेको एनसेलद्वारा मंगलवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘परिस्थितिको मूल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुनःस्थापनामा पनि सहयोग पुर्याउन हामी प्रतिबद्ध छौं ।’