![पहिरोले परिवार लगेपछि विक्षिप्त भीम, दशैंमा छोरालाई लुगा किनिदिने वाचा अधुरो [भिडियो]](https://lktcdn2.prixacdn.net/media/bathanchowk_p6ORw6TSHU.jpg)
काभ्रेको बेथानचोकमा आइतवार राहत लिनका लागि ठूलो भीड जम्मा भएको थियो । सोही भीडमा सेतो कपडा लगाएका भर्खरका युवा र कपाल खौरेका अधवैंशे व्यक्तितर्फ लोकान्तर टीमको नजर पर्यो ।
दुवै जनाको अनुहार मलिनो थियो । लोकान्तर टीमले छेवैमा गएर प्रश्न गर्यो, 'तपाईंहरू केका लागि आउनु भएको हो ?'
मलिनो अनुहार लगाएका अधवैंशे व्यक्तिले भने, 'हामी बाढी पहिरो पीडित बाबु-छोरा हौँ ।'
के भयो तपाईंलाई भनी सोधिएको अर्को प्रश्नपछि उनी अचानक भक्कानिन थाले ।
'पहिरोले पुरिएर मेरो जहान र कान्छो छोरो लग्यो,' उनले रुँदै भने, 'मेरो कान्छो छोराले मलाई आउँदो दशैंमा नयाँ लुगा ल्याइदिनु भन्थ्यो । मैले केही गर्न सकिन, भगवानले मलाई श्राप दिए । न मेरो परिवार रह्यो न घर ।'
पहिरोमा परेर बिचल्ली परेका ती व्यक्ति अरू कोही थिएनन् बेथानचोक-३, काभ्रेका भीमबहादुर संखर र उनका माइला छोरा सन्तोष संखर थिए ।
पहिरो जानुभन्दा दुई दिनअघि मात्र भीमबहादुर कामको सिलसिलामा उदयपुर पुगेका रहेछन् । उनका तीन छोरामध्ये जेठो र माइलो काठमाडौँ बस्ने रहेछन् ।
पहिरोले लगेको घरमा उनकी श्रीमती र ११ वर्षको कान्छो छोरा बस्ने गरेका थिए । अचानक आएको मुसलधारे वर्षा र त्यसका कारण गएको पहिरोको क्रममा उनले आफ्नी श्रीमती र कान्छो छोरा गुमाउन पुगे ।
'घरमा कोही पनि नभएको समयमा घरमै पहिरो खसेर मेरो परिवार रहेन,' लोकान्तरसँगको कुराकानीमा उनले भक्कानिँदै भने, 'राति सुतिरहेको समयमा पहिरोले घर लडेर उनीहरु पुरिएछन् ।'
हेर्नुहोस् स्थलगत भिडियो रिपोर्टिङ-