१२ साउन २०८३, मंगलबार

निर्वाचनलाई सफल पार्न सक्रिय रूपमा खटिन निर्देशन

कात्तिक २०, २०७४
निर्वाचनलाई सफल पार्न सक्रिय रूपमा खटिन निर्देशन

काठमाडौँ, कात्तिक १९ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित तरिकाबाट सफल तुल्याउन सक्रियरूपमा कार्यक्षेत्रमा खटिन प्रमुख अनुगमनकर्ताहरूलाई निर्देशन दिनुभएको छ । पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनमा कात्तिक २० गतेदेखि खटिने नेपाल सरकारका सचिव एवम् सहसचिवहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले जनताको मतबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन चनाखो भई दृढताका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारवाही गर्न निर्देशन दिनुहुँदै विकट भौगोलिक अवस्था, चिसो मौसम तथा सञ्चार सम्पर्क हुन नसक्ने जस्ता व्यवधानहरुको उचित व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षसँग समन्वय एवं सहकार्य गरेर काम गर्न निर्देशन दिनुभयो । उहाँले निर्वाचन सञ्चालनका क्रममा तथा निर्वाचन आचारसंहिता पालनाका सम्बन्धमा आउन सक्ने व्यवधानलाई पूर्वानुमान गरी रोकथामका उपायहरू अवलम्बन गर्न समेत निर्देशन दिनुभयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन, कम खर्चिलो बनाउन, राज्यको स्रोतको दुरूपयोग हुन नदिन तथा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताबीच हुन सक्ने द्वन्द्वलाई रोक्न निर्वाचन आचारसंहिता जारी गरिएको हुँदा सबै सरोकारवालाले निर्वाचन आचारसंहिता पालना गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन कुनै गुनासो आउन नदिने गरी काम गर्न प्रमुख अनुगमनकर्ताहरूलाई सुझाव दिनुभयो । उहाँले अनुगमनका क्रममा मु्ख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारी लगायतसँग आवश्यक समन्वयको भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरू इला शर्मा र नरेन्द्र दाहाल उपस्थित हुनुहुन्थ्यो ।

अनुगमन टोलीमा एकजना उपमहालेखापरीक्षक र सहसचिवहरू गरी ३७ जना रहनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्