१५ असार २०८३, सोमबार
दशैंमा घुम्नलायक ठाउँहरू

फेवाताल मात्र होइन, यी हुन् पोखरामा घुम्नलायक दर्जन गन्तव्य !

असोज २४, २०८१
कास्की
फेवाताल मात्र होइन, यी हुन् पोखरामा घुम्नलायक दर्जन गन्तव्य !

घुम्टो उघारिरहेको माछापुच्छ्रेले पोखराबाट संकेत दिइसक्यो, दशैं आयो भनेर । शरद ऋतुले पर्वको उल्लास थपिरहेको छ । चाडपर्वको बिदामा घुमघामका लागि समय निकाल्न सकिन्छ । खुलेको हिमाल हेर्ने उत्कृष्ट समय पनि यही हो । तर, तपाईंलाई थाहा छ, पोखराबाट फेवाताल र माछापुच्छ्रे हिमालबाहेक हेर्नुपर्ने गन्तव्य धेरै छन् । तालैतालको शहर भनेर चिनिने पोखरामा फेवातालबाहेक घुम्नुपर्ने अरू ताल पनि छन्, जहाँ तपाईं नपुग्नुभएको पनि हुनसक्छ । विदेशी वा आन्तरिक पर्यटक सबैको पहिलो रोजाइमा पर्छ, फेवातालमा डुंगा शयर । त्यसपछि तालछेउबाट देखिएको शान्ति स्तुपा । यीबाहेक थुप्रै गन्तव्य छन् पोखरामा, जहाँ तपाईं यो बिदामा रमाइलोसँग समय बिताउन सक्नुहुन्छ । ​

पुम्दीकोट र शान्ति स्तुपा

फेवाताल किनारबाट देखिने सेतो गुम्बाले पर्यटकको आँखा तानिहाल्छ । त्यसको थोरैमाथि रहेको ५१ फिट अग्लो मूर्तिले धार्मिक पर्यटकलाई लोभ्याइरहेको छ । यो डाँडाको विशेषता हो, धार्मिक प्रयोजन र घुमघाम लागि आएका पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । शान्ति स्तुपाबाट देखिने पोखरा बजार र फेवातालको दृश्य अद्भूत छ । बिहानको समयमा शान्ति स्तूपबाट केही माथि पुम्दीकोटमा रहेको शिवमूर्ति दर्शन गर्न पुगेकाहरूले हिमालको सुन्दर दृश्य समेत अवलोकन गर्न पाउँछन् । त्यहाँबाट माछापुच्छ्रे मात्र होइन, अन्नपूर्ण र लमजुङ हिमाल पनि देख्न सकिन्छ । फेवातालको मुहान पनि यही स्थानबाट देख्न सक्नुहुन्छ । 

रूपाको रूप 

पोखरा तालैतालको शहर हो । फेवा मात्र होइन, बेगनास, रूपा, दिपाङ, खास्टे, मैदी, न्युरेनी र गुदे तालले पोखरालाई यो पहिचान दिएका हुन् । पछिल्लो समय बेगनासको माझीकुनाले आन्तिरक पर्यटकलाई तानिरहेको छ । माझीकुनाको भ्युटावरबाट एकैपटक देखिने रूपा र बेगनासको दृश्यले पक्कै मन भुलाउने नै छ । लेकसाइड छाडेर बेगनास छेउमा रमाउन चाहे सुविधायुक्त वासस्थान छन् । शान्त माहोल खोज्नेलाई रूपा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यी सबै ताल घुम्नका लागि एकदिनको समय पर्याप्त छ । वा, किनार छेउमा समय बिताउन चाहे माझीकुना तपाईंलाई पक्कै मन पर्नेछ । 

null

सूर्योदय र हिमाल 

दर्शन गर्नेगरी बिहान पुम्दीकोट पुग्नुभयो भने सूर्योदय र हिमालको दृश्य देखिहाल्नुहुन्छ । तर, यो बाहेक सराङकोट र काहुँडाँडा अर्को रमणीय स्थान हुनसक्छ । सराङकोटबाट सूर्योदय हेर्न चाहनेहरूलाई केबलकारको सुविधा पनि छ ।

हिमाललाई नजिकैबाट अनुभव गर्न चाहनुहुन्छ भने काहुँडाँडा राम्रो हुनसक्छ । त्योपनि लिङ्गे र रोटेपिङको रमाइलो लिँदै । यी दुवै स्थानबाट पोखरा बजार देखिन्छ । तालसँगै पोखरा बजार हेर्नका लागि पुम्दीकोट र सराङकोट उपयुक्त स्थान हुन् ।

एकछेउबाट नजिकै हिमाल र अर्को छेउबाट पोखरा बजार हेर्नका लागि काहुँडाँडा पनि उपयुक्त छ । याद गर्नुपर्ने कुरा हिमाल हेर्नका लागि सही समय बिहानकै हो । तर, साँझ हिमालले बादलको घुम्टो उघारिहाल्यो भने झिलीमिली पोखरा र टल्किएको माछापुच्छ्रे हेर्नुमा पनि अलग्गै मज्जा आउँछ ।

null

खोँच र गुफा 

पाताले छाँगो (डेभिस फल)बारे पक्कै सुन्नुभएको होला । त्यसैअघि रहेको गुप्तेश्वर महादेव गुफा पनि । पाताले छाँगो घुम्नका लागि वर्षायाम र त्यसलगत्तैको समय उपयुक्त हुन्छ । पानीको बहाव बढ्ने भएकाले थप रमाइलो हुन्छ । तर, यो समयमा घुम्नै नमिल्ने पनि होइन । पाताले छाँगोको ठ्याक्कै अगाडि छ, गुप्तेश्वर गुफा ।

नजिकै रहेका घुम्न मिल्ने यी २ स्थानको रोमाञ्चकता के भने पाताले छाँगोबाट खसेको पानीको बहाव नजिकैबाट देख्न चाहे गुप्तेश्वर गुफा गजब स्थान हो । फेवातालबाट बग्दै आएको पानी खोँच हुँदै फुर्सेखोला पुग्छ । पाताले छाँगो त्यही खोँच हो, जुन खोँचलाई नजिकबाट हेर्ने उपाय हो, गुप्तेश्वर गुफा । गुप्तेश्वर गुफाको टिकट काउन्टरबाट तपाईंले दुई खालको टिकट लिन सक्नुहुन्छ ।

एउटा बीच बाटो मन्दिरसम्म पुग्नका लागि र अर्को खोँचको नजिकै जानलाई । याद गर्नुपर्ने कुरा, पानीको बहाव धेरै भएको समयमा मन्दिरबाट तल जाने बाटो बन्द गरिन्छ । यीबाहेक महेन्द्र गुफा, चमेरे गुफा, हरिहर गुफा र संन्यासी गुफालगायत पनि गन्तव्य बन्न सक्छन् । साथै, तपाईंलाई सेतीको खोँच हेर्न मन छ भने बगरनजिकै रहेको केआई सिंह पुल छेउको पार्कबाट हेर्न सक्नुहुन्छ । यो स्थान चमेरे र महेन्द्र गुफा जाने बाटोमा नै पर्छ । 

सांस्कृतिक अध्ययनका लागि संग्रहालय

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा आउने आन्तरिक र बाह्य पर्यटकको गन्तव्य हो नै । गण्डकी क्षेत्रको संस्कार र संस्कृति बुझाउनेबाहेक पर्वतारोहणको ऐतिहासिक सामग्री हेर्ने र बुझ्ने उत्कृष्ट संग्रहालय पनि हो यो । योबाहेक घुम्नका लागि अन्य संग्रहालय समेत छन्, जहाँ तपाईं दोस्रो विश्वयुद्धसँग जोडिएको गोरखा इतिहासको दृश्य नियाल्न सक्नुहुन्छ । केआईसिंह पुलनजिकै रहेको गोरखा मेमोरियल म्यूजियममा इतिहास देख्न पाइन्छ । नयाँबजारमा रहेको प्रदेश संग्रहालय पनि अर्को गन्तव्य हुन सक्छ । 

साहसिक गतिविधि

यसपटकको दशैं रोमाञ्चक बनाउन मन छ भने पोखराले त्यो पनि दिन्छ । प्रकृतिसँग खेल्दै साहसिक गतिविधिमा रमाउनेहरूका लागि विकल्प छन् । पोखरा आउँदा छुटाउन नहुने प्याराग्लाइडिङ, बन्जी, अल्ट्रलाइट आदिमा रोमाञ्चक अनुभव लिन सक्नुहुन्छ । प्याराग्लाइडिङ र अल्ट्रलाइटको अनुभव लिनका लागि यो मौसम सबैभन्दा राम्रो हो । सराङकोटको डाँडाबाट उडान भरेर फेवातालमाथि कावा खानु रमाइलो हुन्छ । शुल्कअनुसार तपाईं २० मिनेटदेखि एक घण्टासम्म आकाशमा उड्न पाउनुुहुन्छ । सराङकोटबाट जीप फ्लाई हुँदै सिधै हेम्जा झरिन्छ, जहाँ बन्जी गराउने अर्को कम्पनी रहेको छ । सोही स्थानमा बन्जीको अनुभव लिन सकिन्छ । जीप फ्लाई गर्न मन नभएका पर्यटक सिधै हेम्जा गएर बन्जी हान्न सक्छन् । हेम्जाभन्दा अग्लो उचाइमा बन्जी गर्न मनलागेका पर्यटकले घारीपाटनमा रहेको बन्जी पोइन्ट रोज्न सक्छन् । यीबाहेक अर्को विकल्प छ, पोखराबाट डेढ घण्टाको दूरीमा रहेको पर्वतको द क्लिफ । 

साइक्लिङ र हाइकिङ

बजारको कोलाहालबाट टाढा रहन चाहनेलाई पोखराले बसाईको विकल्प दिन्छ । साइकल यात्रामा तपाईंले छोटो समयमा पोखराको धेरै स्थान घुम्न पनि सक्नुहुन्छ । लेकसाइडको होहल्ला छाडेर ताल छेउमा रमाउन सकिन्छ । बाटो सहज भएकाले साइकलमा शान्ति स्तुपा पुग्न सकिन्छ । यस्तै, साइकलमा पुरानो पोखरा बजार हेर्न सक्नुहुन्छ । पुरानो शैलीमा बनेका माटोका घर पनि हेर्नलायक दृश्य हुन्, जुन पोखरा बजारको बीच भागमा देख्न सकिन्छ । मुख्यबजार चिप्लेढुंगाबाट बायाँ लागेर सिद्धार्थचोक हुँदै, भैरव टोल, मोहरिया टोल, गणेश टोल र विन्दाबासिनीमा अर्को रमाइलो यात्रा हुनसक्छ । इतिहास र संस्कृति मन पराउने व्यक्तिहरूलाई यसले अवश्य तान्छ । यी टोलमा नेवारी संस्कृतिको झल्को पाइन्छ । साइकलमा पोखरा आसपास लामो यात्रा गर्न चाहनेलाई विकल्पमा बेगनास र रूपा ताल क्षेत्र छन् । यस्तै, हाइकिङ रुचाउनेका लागि फेवातालपारि रहेको रानीवन हुँदै शान्ति स्तुपा र पुम्दीकोट राम्रो यात्रा गन्तव्य हुन सक्छ । यीबाहेक सराङकोट–कास्कीकोट–नौडाँडा पनि पुग्नलायक छन् । यो यात्रामा फेवातालको सुन्दर दृश्य देख्न सकिन्छ । बेगनास र रूपाको रमणीयतामा रम्दै रोयल हाइकिङ रूट अर्को विकल्प छ । दुई तालको पेरिफेरिमा रहेको यो रूट सुन्दर गन्तव्य हो । 


 

salt training

कमेन्ट गर्नुहोस्