
आर्थिक वर्ष २०७३/०७४ मा बैंकहरूमा कुल १ करोड ९७ लाख ५४ हजार ३६ निक्षेप खाता सञ्चालनमा रहेका थिए, जुन आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा ५ करोड ५८ लाख ९५ हजार ७८० पुगेको छ ।
चालू आर्थिक वर्षको साउन महिनासम्म ५ करोड ६२ लाख ५५ हजार ३०५ पुगिसकेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । यसको तुनलनामा बैंक खाता दोब्बर बढी छ ।
बैंकहरूमा खाता खोल्नेको संख्याभन्दा पनि एउटै व्यक्तिले विभिन्न बैंकहरूमा खाता खोल्ने भएकाले जनसंख्याभन्दा बढी खाता देखिएको हो ।
कुनै बैंक खाता दुई वर्षसम्म सञ्चालनमा नआएमा ‘डोरम्याट’ अर्थात निष्क्रिय खाताको रूपमा राख्ने गरिन्छ ।
निष्क्रिय भएपछि स्वयं खातावालाले बैंकमा गएर खाता सञ्चालनका लागि निवेदन दिनुपर्छ । त्यसपछि मात्रै उक्त खातालाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ ।
त्यस्तै, कुनै खाता १० वर्षसम्म पनि सञ्चालनमा नआएमा बैंकहरूले सार्वजनिक सूचनामार्फत आह्वान गर्दछन् । त्यसबाट पनि खाता हुने व्यक्ति सम्पर्कमा नआएको अवस्थामा राष्ट्र बैंकको निर्देशनानुसार राष्ट्र बैंकमा जाने गर्दछ ।
एउटै व्यक्तिको ४ देखि ५ वटा बैंकमा खाता खोलिने भएकाले जनसंख्याभन्दा बढी खाता भएको जानकारहरू बताउँछन् । यसका साथै खाता खोलेर विदेशिनेहरूका खाता पनि वर्षौंदेखि कारोबार नभएर निष्क्रिय हुने गरेका छन् ।
बैंकहरूमा १५ देखि २० प्रतिशत ‘इनएक्टिभ’ अर्थात् लामो समयदेखि सञ्चालनमा नआएका खाताहरू हुने एभरेस्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।
उनका अनुसार यस्ता निष्क्रिय खातालाई मेनटेन गरेर राख्दा खर्च हुने गर्दछ ।
‘बैंकमा निष्क्रिय खाताहरूको मेन्टेनेन्समा त्यत्तिकै खर्च हुने गर्दछ । खातामा शून्य भए पनि हिसाब राख्नुपर्ने हुन्छ । मेनटेन गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘खर्च त्यत्तिकै हुन्छ । त्यसबाट कुनै पनि ब्याज आम्दानी आउँदैन । यसका साथै खाता खोल्दा प्रयोग भएका डकुमेन्टलाई पनि सुरक्षित राख्नुपर्ने हुन्छ । यसले गर्दा यस्ता खाताहरूको मेन्टेनेन्समा खर्च मात्रै हुने गर्दछ ।’
बैंकहरूमा खोलिने एकभन्दा बढी खाताहरूले बैंकिङ प्रणालीमा असर नपर्ने पूर्व बैंकर भुवन दाहाल बताउँछन् । उनका अनुसार बढी बैंक खाताले बैंकको सञ्चालन खर्च भने बढाउँछ ।
यसरी बढ्दैछ बैंक खाता खोल्नेको संख्या
आर्थिक वर्ष २०७३/७४ मा बैंकहरूमा निक्षेप खाता खोल्नेको संख्या १ करोड ९७ लाख ५४ हजार ३६ रहेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप खाता खोल्नेहरूको संख्या २ करोड ३५ लाख ४४ हजार ८५९ पुग्यो ।
आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा बैंकमा निक्षेप खाताहरूको संख्या २ करोड ७८ लाख ६६ हजार ५०५ पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा निक्षेप खाताहरूको संख्या ३ करोड २४ लाख ५४ हजार २०४ पुग्यो ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा उक्त बैंक खाताहरूको संख्या ३ करोड ७७ लाख ७० हजार ९८५ पुगेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा निक्षेप खाताहरू ४ करोड ४९ लाख ७१ हजार ९६९ पुगेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ५ करोड ११ लाख ७७ हजार ९२३ पुग्यो । र, आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा बैंकहरूमा निक्षेप खाताको संख्या ५ करोड ५८ लाख ९५ हजार ७८० पुग्यो ।