०४ साउन २०८३, सोमबार

कोशीमा जापानिज इन्सेफलाइटिस संक्रमणबाट पाँच जनाको जनाको मृत्यु

कात्तिक ७, २०८१
विराटनगर
कोशीमा जापानिज इन्सेफलाइटिस संक्रमणबाट पाँच जनाको जनाको मृत्यु

कोशी प्रदेशमा जापानिज इन्सेफलाइटिस (जेई) रोगबाट पाँच जनाको मृत्यु भएको छ । झापामा दुई, सुनसरीमा दुई जना र उदयपुरमा एक जनाको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको हो । 

मृत्यु हुने तीन जना नाबालक र दुई ज्येष्ठ नागरिक रहेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापानिज इन्सेफलाइटिसबाट शनिबार उदयपुर घर भएका १० वर्षीय बालकको मृत्यु भएको थियो । उपचारको क्रममा विराट मेडिकल कलेजमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

भाइरसले सार्ने यो संक्रमण अहिलेसम्म १५ जनामा पुष्टि भएको छ भने २५३ जना शंकास्पद देखिएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका फार्मेशी अधिकृत भरत साहले जानकारी दिए । जापानिज इन्सेफलाइटिस विशेषगरी झापा, मोरङ, खोटाङ, उदयपुर र इलामामा देखिएको छ । 

जापानिज इन्सेफलाइटिस रोगी झापामा ४ जना, उदयपुरमा ४, सुनसरीमा ३ जना, मोरङमा २ जना र खोटाङमा १ जना भेटिएका छन् ।  गत वर्ष जापानिज इन्सेफलाइटिसबाट प्रदेशमा कसैको पनि मृत्यु भएको थिएन । नियमित खोप सेवाअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जापानिज इन्सेफलाइटिसको खोप लगाउने गरिन्छ  । सरकारले सन् २०१६ मा उक्त रोगविरुद्ध अन्तिम पटक विशेष खोप अभियान चलाएको थियो ।
 
मन्त्रालयका अनुसार खोप अभियान चलाएपछि विगतका केही वर्षमा नेपालमा जापानिज इन्सेफलाइटिसका कारण बिरामीको मृत्यु भएको थिएन । तर, यस पटक जापानिज इन्सेफलाइटिसको मृत्यु खोप नलगाएको कारण भएको हुनसक्ने अनुमान रहेको छ ।

जोखिम कम गर्न खोप कार्यक्रमलाई प्रभावकारी बनाउर्ने कोशी प्रदेशको स्वास्थ्य निर्देशानलयका निर्देशक डा. सुरेश मेहताले बताए । विशेषगरी तराईमा बढी देखा पर्ने यो रोग कोशी प्रदेशमा नियन्त्रणमा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विराट मेडिकल कलेजका प्रशासन फाटका कर्मचारी प्रमेशरा देवकोटाका अनुसार गत वर्ष यस अस्पतालमा कोही पनि बिरामी आएका थिएनन् । यसपटक दुई जना आइसकेका छन् । बिरामीमध्ये एक जनाको मृत्यु भएको र एक जनाको पनि आइसीयूमा उपचार भइरहेको उनले बताए । 

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन्  । यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।

यो रोगमा मृत्युदर ३० प्रतिशतसम्म हुने डब्ल्यूएचओले जनाएको छ । अधिकांश अवस्थामा जापानिज इन्सेफलाइटिसमा मध्यम खालका लक्षणहरू देखिन्छन् । तर, केही बिरामीमा त्यस्तो कुनै सङ्केत देखिँदैन  । उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अर्रो हुनु, भ्रममा पर्नु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर काम्नु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु ।
डब्ल्यूएचओका अनुसार जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमित हुने २५० मध्ये एक जनामा अझ घातक खालका समस्याहरू देखा पर्न थाल्छन् । त्यस्ता समस्या भएका तीन बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्