११ साउन २०८३, सोमबार
सहकारी ठगी प्रकरण

हिरासतमा रविलाई कालो चिया र सादा खाना, दिनदिनै भेट्न पुग्छिन् निकिता

परिवार र शुभेच्छुकलाई भन्छन्– ‘मलाई थुन्न प्रमाण पुग्दैन’
कात्तिक १२, २०८१
काठमाडौं
हिरासतमा रविलाई कालो चिया र सादा खाना, दिनदिनै भेट्न पुग्छिन् निकिता

सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विगत ११ दिनदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका रविलाई हिरासतमा कुनै विशेष सुविधा दिइएको छैन । त्यसो त उनी आफैंले पनि छुट्टै सुविधा माग गरेका छैनन् । 

हिरासत कक्षमा खटिएका एक प्रहरी अधिकारीका अनुसार रवि बिहान साढे ५ देखि ६ बजेको बीचमा उठिसक्छन् । नुहाइधुवाइ एक कप कालो चिया पिउँछन् ।

उनले हिरासत कक्षमै पत्रपत्रिका मगाउँछन् । रविले अध्ययन गर्ने भन्दै केही पुस्तक पनि लगेका छन् । केही उपन्यास र केही राजनीतिक विषयका पुस्तक छन् ।

‘उहाँले पुस्तक पढेको देखिन्छ । बेलाबेला केही लेख्नुहुन्छ,’ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने । उनले आफूले कुनै गल्ती नगरेको भन्दै प्रहरीहरूलाई प्रस्टीकरण दिने गरेका छन् ।

‘मैले केही गडबडी गरेको छैन । ठूलो अपराध गरेर आएको पनि होइन । तपाईंहरूलाई निर्देशन होला, म पनि अरूजस्तै सामान्य नै हुँ,’ रविले आफूहरूसँग भनेको कुरा उद्धृत गर्दै एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ।

उनले आफूलाई मात्रै नभएर अन्य थुनुवालाई पनि राम्रो व्यवहार गर्न हिरासतमा खटिएका प्रहरीलाई आग्रह गर्छन् । 

एक प्रहरी अधिकारीले उनको भनाइ उद्धृत गर्दै भने, ‘यहाँ थुनिएका कतिपय परिबन्द र बाध्यतामा आएका हुन सक्छन्, कतिपय अपराध नै गरेर आएका हुन सक्छन् । आरोप प्रमाणित नहुँदासम्म यहाँ थुनिएका सबैलाई अपराधीको व्यवहारले हेर्न मिल्दैन ।’ 

रविकी पत्नी निकिता पौडेल लामिछाने पोखरामै छिन् । उनी दिनमा एकपटक रविलाई भेट्न हिरासतमा पुग्छिन् । बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो १ बजेदेखि ३ बजेसम्म हिरासतमा राखिएका थुनुवासँग भेट्ने समय तोकिएको छ । त्यही बेला निकिता र रास्वपा नेता/कार्यकर्ताले रविलाई भेट्छन् ।

भेटमा रविले अदालतबाट आफूले सफाइ पाउने बताउँदै आएका छन् । 

‘ममाथि राजनीतिक प्रतिशोध साँधिएको हो । न्यायाधीशले मिसिल राम्रोसँग अध्ययन गर्नुभयो भने मलाई थुन्न प्रमाण पुग्दैन,’ रविले आफ्ना नेतालाई सम्झाउँदै भन्ने गरेका छन्, ‘दुःख दिने उद्देश्यले अन्य केही प्रहरी कार्यालयमा पनि मलाई पठाउन सक्छन् । यो केसबाट उम्किएँ भने हामी राजनीतिमा थप अगाडि बढ्छौं ।’ 

कास्की जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न पछिल्लोपटक ७ दिन म्याद थपेको छ । उनलाई प्रहरीले असोज १४ गतेसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाउँछ । १५ गतेबाट तिहार बिदा शुरू हुन्छ । सोही कारण रविको तिहार हिरासतमै बित्ने निश्चित छ । 

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि र उनका पार्टनर छविलाल जोशी बञ्जाडे (छवि) अहिले कास्की प्रहरीको हिरासतमा छन् । 

सूर्यदर्शनलगायत ५ वटा सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखिन्छ । प्रबन्ध निर्देशकको हैसियतमा रविले उक्त रकम खर्चिन करोडौंको चेक काटेका थिए । 

प्रारम्भिक रूपमा सहकारीबाट रविले ‘डाइरेक्ट’ ऋण लिएको नदेखिए पनि उनले गोरखा मिडियामा पदीय हैसियतमा रहँदा संस्थाको नाफाभन्दा बढी रकमको चेक काटेका थिए ।

सहकारीको रकम आफू सञ्चालक रहेको मिडियामा आएको जान्दाजान्दै रविले त्यसको अपचलन गरेको पीडित पक्षको आरोप छ ।

रविका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष जीबी राई फरार छन् । जीबी विभिन्न सहकारीको अध्यक्ष रहेको विषयमा रवि जानकार थिए ।

कास्की प्रहरीका अनुसार रविको बयान सकिएको छैन । सरकारी वकिल कार्यालयमा बयान प्रमाणित गराएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाउने तयारी प्रहरीको छ । 

रुपन्देहीको सुप्रिम सहकारीबाट पनि गोरखा मिडियामा करोडौं पैसा आएको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्