
गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न एनसेल कर्पोरेट गल्फ प्रतियोगितामा शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले उपाधि हात पारेका छन् ।
उत्कृष्ट १० स्ट्रोक अन्डर पार ६२ स्कोर गर्दै पहिलो स्थानमा रहेपछि, विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट र ह्याम्पर्स पुरस्कार स्वरुप प्राप्त गरे ।
मुस्ताङ गल्फ क्लबका इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा ६ स्ट्रोक अन्डर पार ३० स्कोरसहित दोस्रो स्थान बनाउँदै कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान हासिल गर्दै कलअवे गल्फ ब्याग र ह्याम्पर पुरस्कार पाए ।
व्यक्तिगत विधातर्फ, विजय श्रेष्ठ आइनहाउसले लङ्गेस्ट ड्राइभ विधामा रेन्जफाइन्डर र गिफ्ट ह्याम्पर पाए भने प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अवार्ड, रेन्जफाइन्डर र ह्याम्पर पुरस्कार स्वरुप प्राप्त गरे ।
एनसेलका प्रमुख कार्यकारी अधिकारी जाब्बोर कायुमोभ, गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरे ।
कायुमोभले गोकर्ण फरेस्ट रिसोर्टलगायत साझेदारहरूलाई प्रतियोगितामा सहयोग पुर्याएकोमा धन्यवाद दिँदै, सामूहिक प्रयासले शिक्षा र सामुदायिक विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
एनसेलले प्रतियोगिताबाट संकलन भएको प्रवेश शुल्कलाई म्याच गर्दै रु ३० लाख बराबर बनाउने प्रतिबद्धता गरेको छ, जसले देशभरका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउन मद्दत पुर्याउने एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्व अभियानलाई सघाउनेछ ।
प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो, जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट लागू गरिएको थियो । महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौं, फ्लाई दुबई, क्लब हिमालय, शिखर इन्स्योरेन्स, पेप्सी लगायतका प्रतिष्ठित ब्रान्डहरूले प्रायोजन गरेका यस प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न भएको छ ।