
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ परेपछि सहकारी ठगी प्रकरण पछिल्लो समय निकै चर्चामा छ ।
विभिन्न ५ वटा सहकारीबाट गोरखा मिडियामा रकम ल्याएर दुरुपयोग गरेको आरोप रवि तथा उक्त मिडियाका तत्कालीन सञ्चालकहरूमाथि छ ।
गोरखा मिडियामा लगेर बचत अपचलन गरिएका ५ सहकारीमध्ये एक हो, काठमाडौंको कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ।
उक्त सहकारीमा बचतकर्ताले जम्मा गरेको २ अर्ब ६५ करोड ९५ लाख ९१ हजार अपचलन भएको देखिन्छ । हालसम्म ६ सय ४५ जनाले लिखित जाहेरी दिए पनि २७ हजार निक्षेपकर्ताको रकम अपचलन भएको छ ।
स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रवि लामिछानेको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ ।
२०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले गत कात्तिक ८ गते मात्रै स्वर्णलक्ष्मीको कार्यालयमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा रविले सेयरबापत लिएको रकमको भौचर समेत बरामद भएको छ । त्यस्तै, सर्वसाधरणले कर्जाबापत लिएको हिसाबको ३५ वटा भौचर पनि प्रहरीले बरामद गरेको थियो ।
स्वर्णलक्ष्मीका पीडितले प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका थिए । उक्त जाहेरी सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौं र कालिमाटी वृत्तले संयुक्त अनुसन्धान गरिरहेका छन् ।
अनुसन्धानका क्रममा जीबी राई आफैं अध्यक्ष रहेको स्वर्णलक्ष्मीले १२ वटा बैंकमा खाता खोलेको देखिएको छ । अचम्मको कुरा त केही बैंकका खातामा ४ रुपैयाँ मात्रै मौज्दात देखिन्छ । केहीमा त शून्य मौज्दात छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार एभरेस्ट बैंकमा १० हजार, एनआईएमबी बैंकमा ५६० रुपैयाँ, एभरेस्ट बैंककै अर्को खातामा १ लाख ५ हजार, कुमारी बैंकमा ६ हजार र एनआईएमबी बैंककै अन्य दुईवटा खातामा शुन्य मौज्दात देखिएको छ । राष्ट्रिय सहकारी बैंकमा भने १ लाख रुपैयाँ मौज्दात छ ।
स्वर्णलक्ष्मीका पीडितहरूले अध्यक्ष जीबी राईसहित उपाध्यक्ष देवेन्द्रबाबु राई, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष दीपक लामा र कल्पनाकुमारी श्रेष्ठ तथा पूर्वप्रबन्ध निर्देशक भूपेन्द्र राईलगायत २४ जनाको नाम किटान गरेर प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
स्वर्णलक्ष्मीका वर्तमान र पूर्वपदाधिकारीले सहकारीको झण्डै २ अर्ब ६६ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।
स्वर्णलक्ष्मीका बचतकर्ताले जाहेरी दिएकामध्ये जीबीमाथि कास्कीस्थित पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, रुपन्देहीस्थित बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीको रकम अपचलनको आरोप छ ।
जीबी अहिले फरार छन् । उनका पार्टनर रवि लामिछाने र छविलाल जोशी बञ्जाडे कास्की प्रहरीको हिरासतमा छन् ।
जीबीविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन र रेड नोटिस जारी भइसकेको छ । कुमार रम्तेल भने जिल्ला अदालत कास्कीको आदेशमा पूर्पक्षका लागि थुनामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले स्वर्णलक्ष्मी सहकारी ठगीको फाइलमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘हामी अनुसन्धानमै छौं, फरारको खोजी भइरहेको छ ।’
यसैबीच, स्वर्णलक्ष्मी सहकारीका पीडितहरूलाई थप जाहेरी दिन प्रहरीले आह्वान गरेको छ । केही पीडितले रविलाई पनि प्रतिवादी बनाएर जाहेरी दिने तयारी गरेका छन् ।
साढुभाइलाई हटाएर अध्यक्ष बनेका थिए जीबी
जीबी स्वर्णलक्ष्मी सहकारीको अध्यक्ष हुनुअघि उनका साढुभाइ दीपक लामा अध्यक्ष थिए । २०७८ कात्तिक २८ गतेसम्म दीपक स्वर्णलक्ष्मीको अध्यक्ष रहे ।
बागमती प्रदेशस्थित भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका कर्मचारीलाई प्रभावमा पारेर जीबी अध्यक्ष बनेका थिए । दीपक लामा अहिले फरार छन् । उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जीबी अध्यक्ष भएपछि विभिन्न ठाउँमा जग्गा खरिद गरेका थिए । सहकारीमा कतिपय निक्षेपकर्ताले ८ करोडसम्म जम्मा गरेको देखिन्छ ।
जीबीले भैँसेपाटीमा रहेको आफ्नो २३ रोपनी १५ आना जग्गा २६ करोड ८६ लाख ७० हजार रुपैयाँमा चेनी क्यापिटल प्रालिलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । त्यतिबेला उनले चलाखी गरेर वास्तविक मूल्य लुकाएर सरकारी मूल्य मात्रै थैली राखेर मालपोत कार्यालय ललितपुरमा लिखत गरेको भेटिएको छ ।
प्रहरीले मालपोत कार्यालयसँग मागेको विवरणअनुसार जीबीले २०७९ भदौ १ गते आफ्नो १० रोपनी १५ आना जग्गा १४ करोड ३७ लाख ५० हजार रुपैयाँमा चेनी क्यापिटललाई बिक्री गरेको देखिन्छ । उनले कित्ता नम्बर १५८ को ३ रोपनी २ आना जग्गा चार करोड रुपैयाँमा, कित्ता नम्बर ३६९ को ३ रोपनी ६ आना ३ पैसा जग्गा ४ करोड ३८ लाख रुपैयाँमा, कित्ता नम्बर ११६ को १२ आना १ पैसा जग्गा ७३ लाख ५० हजार रुपैयाँमा, कित्ता नम्बर ३६७ को २ रोपनी १५ आना ३ पैसा जग्गा ३ करोड ८२ रुपैयाँमा, कित्ता नम्बर १२० को ८ आना १ पैसा (रकम नखुलेको), कित्ता नम्बर १५७ को १ रोपनी २ आना जग्गा १ करोड ४४ लाख रुपैयाँमा चेनी क्यापिटललाई बिक्री गरेको देखिन्छ ।
अनुसन्धानमा संलग्न १ प्रहरी अधिकृतका अनुसार जीबीले २०७९ भदौ २२ गते भैँसेपाटीमै रहेको १३ रोपनी जग्गा पनि १२ करोड ४९ लाख २० हजार रुपैयाँमा चेनी क्यापिटललाई नै बिक्री गरेको देखिन्छ ।
‘जीबीले स्वर्णलक्ष्मीमा प्रवेश पाएदेखि नै सहकारीको रकम अपचलन गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘२ अर्ब ६६ करोडमध्ये अहिले स्वर्णलक्ष्मीको नाममा खोलिएका बैंक खातामा जम्मा १० लाख मात्रै भेटिएको छ ।’