
सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिएको बयान सरकारी वकिल कार्यालय कास्कीमा प्रमाणित गराउने काम भइरहेको छ ।
बयान प्रमाणितको काम बुधबारै सक्ने तयारी छ । तिहारपछि रविलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि लैजाने योजना प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको अनुरोधमा रुपन्देही जिल्ला अदालतले रविविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
सुप्रिमबाट रविको नाममा २ करोड रुपैयाँ जम्मा भएको देखिन्छ । तर, रविले त्यसलाई अस्वीकार गर्दै आएका छन् । रकम जम्मा गर्दा भौचरमा रोशनी गुरुङ /रवि लामिछाने लेखिएको छ ।
सहकारी ठगीको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी सुन्दर तिवारीको कमान्डमा प्रहरी टोली खटिएको छ ।
तिवारीको टोलीले कास्कीस्थित सूर्यदर्शन सहकारी ठगीमा रविको संलग्नताको प्रमाण खोजिरहेको छ । यही टोली रुपन्देही पुग्नेछ ।
गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी)राई नै सुप्रिम सहकारीका अध्यक्ष थिए । त्यतिबेलै उनले गोरखा मिडिया खोलेर ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएका थिए ।
टेलिभिजन स्क्रीनबाट उदाएका रविसँग जीबीको ‘कनेक्सन’ ग्यालेक्सीबाटै जोडिएको थियो ।
गोरखा मिडियामा प्रबन्ध निर्देशकको हैसियतमा प्रवेश गरेका रविको नाममा २ करोड रुपैयाँ रकम प्रवाह हुनु आफैंमा शंकास्पद छ ।
स्रोत भन्छ, ‘जीबी र रविको सल्लाहमा रवि दृश्यमा नदेखिने गरी २ करोड ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा जम्मा गरिएको हो, तर जम्मा गर्न जाने रोशनी गुरुङ देखिन्छिन् । रवि यस विषयमा पहिल्यै जानकार रहेको हुनुपर्छ ।’
जानकारहरूका अनुसार रविले नै ग्यालेक्सीलाई नेपालको अग्रणी टेलिभिजन बनाउने आश्वासन जीबीलाई दिएका थिए । जीबीले रविकै सल्लाहमा सहकारीको रकम गोरखा मिडियामा ल्याएका थिए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले सूर्यदर्शन सहकारी ठगी र संगठित अपराध मुद्दामा कास्की सरकारी वकिल कार्यालयबाट बयान प्रमाणित भएपछि रविलाई रूपन्देही लैजाने बताए ।
उनले भने, ‘एउटै मुद्दामा छविलाई रुपन्देहीमा बयान दिन लगियो, रविलाई पनि लगिन्छ ।’
‘कम्पनीका शेयर सदस्यले रकम हिनामिनाको जिम्मा लिनुपर्छ’
ग्यालेक्सी टेलिभिजन घोषणा भएको दुई महिनामै ग्लोबल आईएमई बैंकमा रहेको गोरखा मिडिया नेटवर्कको खातामा रविका तर्फबाट १ करोड जम्मा भएको छ ।
यो रकम बुटवलस्थित सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै ‘ट्रान्सफर’ भएको देखिन्छ ।
रुपन्देहीका एक प्रहरी अधिकृतका अनुसार २०७८ असोज २३ मा गोरखा मिडिया नेटवर्कले कम्पनी रजिस्ट्रारको कार्यालयबाट शेयर लगतको प्रमाणपत्र पाएको थियो । शेयर किताबअनुसार अध्यक्ष जीबीको ८५ प्रतिशत र प्रबन्ध निर्देशक रविको १५ प्रतिशत शेयर कायम भएको थियो ।
‘कम्पनीको शेयर सदस्य पनि हुने, पदमा पनि बस्ने र त्यही कम्पनीमा सहकारीको रकम ल्याएर अपचलन गरेपछि म दोषी होइन भन्न मिल्दैन,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘हामीले प्राप्त गरेको प्रमाणका आधारमा रविसँग बयान लिइन्छ ।’
यसरी शुरू भयो सुप्रिममा जीबीको रजगज
शुरूमा मैत्रेय बचत तथा ऋण सहकारीका नाममा सञ्चालित यो सहकारीमा २०७२ मा जीबी जोडिएका थिए । उनले सहकारीको नाम नै परिवर्तन गरेर सुप्रिम राखे ।
त्यतिबेला जीबी अध्यक्ष थिए भने पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश कोषाध्यक्ष थिए । जीबीले प्रवेश पाउनेबित्तिकै सहकारीको अधोगति शुरू भयो ।
जीबी समूहले मनपरि ऋण प्रवाह गर्न थाले । ३ सय १२ जनाको नाममा ऋण प्रवाह भएको छ । रूपन्देही प्रहरीले अदालतमा बुझाएको मिसिलमा सुप्रिममा बचतकर्ताले जम्मा गरेको ८६ करोड १८ लाख २३ हजार रुपैयाँ हिनामिना भएको देखिन्छ ।
हिनामिना हुँदा ऋण लिने सूचीमा रवि र हाल कास्की प्रहरीकै थुनामा रहेका छविलाल जोशी बञ्जाडेको नाम थप्ने काम जीबीले गरेका थिए । त्यो पनि उनीहरूकै सहमतिमा ।
‘सानो रकम भए छुट्टै, दुई/दुई करोड रुपैयाँ सुप्रिमबाट रवि र छविका नाममा प्रवाह हुने कुरा उहाँहरूले थाहा छैन भन्नु हास्यास्पद हो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘उहाँहरूले इन्कारी बयान दिए पनि तथ्यले पुष्टि गर्नेतर्फ अनुसन्धान अगाडि बढाएका छौं ।’
सुप्रिमबाट जोशीको नाममा २ करोड ५० लाख ऋण प्रवाह भएको थियो । २०८१ वैशाखमा रुपन्देही प्रहरीले अदालतमा दायर गरेको अभियोग पत्रमा सुप्रिम सहकारीले रविलाई ऋण दिएको उल्लेख छ । त्यसो त जीबी आफैंको नाममा पनि एक करोड ९२ लाख ऋण लिएको देखिन्छ ।
सांसद सूर्यबहादुर थापा संयोजक रहेको सहकारी ठगी छानबिन संसदीय विशेष समितिले प्रतिवेदनमा सुप्रिमबाट रविको नाममा ऋण प्रवाह भएको उल्लेख गरेको थियो ।
प्रतिवेदनले जीबी, रवि, छवि र कुमार रम्तेललाई कारबाहीको सिफारिश गरेको थियो । रम्तेल कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।