
विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा चार लाख रुपैयाँ खर्च गरेर २७७ वटा बिरुवा रोपेको छ । महानगरले एउटा बिरुवा रोप्न १ हजार ४४४ रुपैयाँ खर्च गरेको हो ।
वातावरण हरियाली कार्यक्रमअन्तर्गत सडकको डिभाइडरमा विभिन्न प्रजातिका बिरुवा रोपेको महानगरले जनाएको छ । महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार ३, ५, ७, १०, ११ र १५ नम्बर वडामा १६० वटा बिरुवा रोपिएको छ भने विभिन्न ७ वटा सामुदायिक विद्यालयहरूमा ११७ वटा बिरुवा रोपिएको छ ।
महानगरको वातावरण शाखाकी इन्जिनियर सुदिक्षा कार्कीले बिरुवाको घेराबारसहितको लागि सो रकम खर्च भएको बताएकी छन् । रोपिएका बिरुवा संरक्षण तथा तारजाली व्यवस्थापनका लागि महानगरले २ लाख ५० हजार रुपैयाँ थप बजेट खर्च गरेको छ । महानगरले वातावरण प्रदूषण अनुगमन तथा निरीक्षणमा भने १ लाख रुपैयाँ खर्च गरेको छ ।
विराटनगरकै पारुल क्षेत्रीलगायत अभियन्ताको समूहले भने सरकारी सहयोगबिना नै करिब ५ हजार विरुवा रोपेको छ । सो समूहले ४ हजार ७ सय बिरुवा रोपेको जानकारी दिएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाको एक रुपैयाँ पनि बजेट अहिलेसम्म अभियानमा लगानी नभएको अभियन्ता क्षेत्रीले जानकारी दिए । उनीहरूको अभियानलाई विरुवा भने विभिन्न व्यक्तिले उपलब्ध गराइदिने गरेका छन् ।
शुरूमा एक हजार बिरुवा रोप्ने भनेर अभियानमा खटेको थिएँ,’ उनले भने, ‘महानगरवासीको सहयोगले झन्डै ५ हजार बिरुवा रोपेका छौं ।’ अझै अभियान निरन्तर चलिरहेकाले विरुवा थप रोपिने उनले बताए ।

रोपिएका बिरुवा तीन वर्षसम्म रेखदेख गर्नेसमेत उनीहरूको योजना छ । अभियानमा विराटनगरका स्थानीय बासिन्दाले समेत सहयोग गरिरहेका छन् ।
महानगरले बिरुवामा पानी हाल्दासमेत विभेद गर्ने गरेको क्षेत्रीले आरोप लगाएका छन् । ‘महानगरले सडकको डिभाइडरमा केही क्षेत्रमा बिरुवा रोपेको छ, हामीले सडकको दुवै किनारामा रोपेका छौं,’ उनले भने, ‘महानगरले बिरुवामा पानी लगाउँदा पनि आफूले रोपेका बिरुवामा मात्रै लगाउँछ । हामीले रोपेका बिरुवा पनि महानगरकै सम्पत्ति भए पनि विभेद गर्ने गरेको छ ।’
सरकारी पक्षले कामभन्दा धेरै तडकभडक देखाउने गरेको क्षेत्रीले बताएका छन् । महानगरले हरित नगरी बनाउन कुनै चासो नदेखाएकै कारण अभियान थालिएको उनको भनाइ छ ।
नेपालका सबै शहरहरूमा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने त्रिभुवन विश्वविद्यालयका इकोलोजी इनभाइरोमेन्ट विषयका उपप्राध्यापक रामचन्द्र अधिकारी बताउँछन् । भुईँमा ठाउँ नभए घरका छतमा समेत बिरुवा रोप्न उनले सुझाव दिएका छन् । ‘भारतको पुरानो दिल्लीमा बिरुवा रोप्न खाडल खन्ने ठाउँ छैन,’ उनले भने ‘त्यस्ता ठाउँमा कौसीमा र छतमा बिरुवा रोपिएका छन् । भारतका धेरै शहरहरूमा पनि त्यस्तो देखिन्छ ।’
हावामा कार्वनडाइअक्साइडको मात्र धेरै भएकाले ग्लोबल वार्मिङ गराउने तथा क्लाइमेट चेन्ज गराउने गरेको उपप्राध्यापक अधिकारीले बताए । ‘कार्वन्डाइअक्साइड ग्यास नै ग्लोबल वार्मिङ गराउने मुख्य ग्यास हो’ उनले भने, ‘धेरै बिरुवा रोप्दा हावाको प्रदूषणलाई घटाउने र त्यसले जलवायु परिवर्तनलाई नियन्त्रण गर्नेछ ।’
शहरमा बिरुवा रोप्दा धुलाका कण विरुवाले लिने र मानिसलाई बचाउने अधिकारी बताउँछन् । यस्तै बिरुवाले जमिनमुनिको पानीलाई तानेर हावालाई चिस्याउने काम गर्ने उनले जानकारी दिए ।
महानगरले वातावरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउन १ लाख रुपैयाँ खर्च गरेको छ । कार्यक्रम गर्नमा महानगर अगाडि देखिएको भए पनि नतिजा नदेखिएको भन्दै आलोचना भइरहेको छ । महानगरले बिरुवा रोपिएको पुरानो तारजाली मर्मत सम्भारमा पनि १ लाख खर्च गरेको छ ।
महानगरका पदाधिकारीमा भिजन नभएकै कारण विराटनगर पछाडि परेको गत निर्वाचनमा मेयरका प्रत्यासी सागर थापाको आरोेप रहेको छ । ‘भिजन नभएपछि विरुवा रोप्ने होइन भएका बिरुवा पनि उखेल्न बेर छैन,’ थापाले भने ‘आफूसँग पनि भिजन छैन । जानकारसँग पनि खोजि नीति गरिँदैन ।’