०८ असार २०८३, सोमबार
प्रयोगपछिको ब्याट्री व्यवस्थापन

ईभी गाडीको ब्याट्रीबारे मन्त्रालयको अध्ययन– पार्टसहरू ‘रिसाइक्लिङ’ गर्न सकिन्छ

कात्तिक २१, २०८१
काठमाडौं
ईभी गाडीको ब्याट्रीबारे मन्त्रालयको अध्ययन– पार्टसहरू ‘रिसाइक्लिङ’ गर्न सकिन्छ

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय गाडीका ब्याट्री व्यवस्थापन गर्ने विषयमा पहिलो चरणको अध्ययन प्रतिवेदन तयार गरेको छ । गत फागुनमा पहिलो चरणको अध्ययन शुरू गरेको मन्त्रालयले असारमा अध्ययन प्रतिवेदन तयार गरेको हो । 

पहिलो चरणको अध्ययनले ईभी गाडीको ब्याट्रीको ‘सेकेन्ड लाइफ’ अर्थात् पुन: प्रयोग गर्न सकिने देखिएको यातायात महाशाखाका उपसचिव कृष्णराज पन्थले बताए ।

उनका अनुसार मन्त्रालयले गरेको अध्ययनले सम्भावित पार्टसहरू ‘रिसाइक्लिङ’ अथवा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने देखिएको हो । 

‘ईभी ब्याट्रीहरूको व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गरिसकेका छौं । यसलाई नीतिगत रूपमा स्थान दिने काम गरिरहेका छौं’, उनले भने, ‘ब्याट्रीहरू कम्पनीमै पठाउनुपर्ने पनि हुनसक्छ । नीतिगत रूपमा पनि तयारी गर्नुपर्ने देखिन्छ । अब छुट्टै ऐन बनाएर कार्यान्वयनमा लैजाने कि पुरानै ऐनभित्र थप गर्ने भन्ने कुराको छलफलमा छौं ।’ अब छिट्टै कानुनी व्यवस्था गरिने उनले बताए ।

प्रतिवेदनले ब्याट्रीको डिस्पोजल र पुनर्प्रयोगका विभिन्न सम्भावना देखाएको छ । जसमा ब्याट्रीको गुणस्तर परीक्षण र ग्रेडिङ प्रोटोकल तयार गर्नुपर्ने उल्लेख छ। 

अबको ५/६ वर्षपछि मात्रै अहिले नेपाल भित्रिएका गाडीहरूको ब्याट्रीको अवस्था र क्षमता छुट्याएर विधिहरू प्रयोग गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै ती ब्याट्रीहरूलाई नेपालमा व्यवस्थापन गर्न नसकिए कम्पनीमा नै पठाउनुपर्ने सम्भावना पनि त्यतिकै रहेको छ । जसका लागि पुराना ब्याट्रीहरूको निर्यातमा पनि नीतिगत परिवर्तन गर्नुपर्ने देखिएको छ ।

यसअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीहरूमा ८० प्रतिशतसम्म कर लगाएपछि आयातमा कमी आउने भन्दै व्यवसायीहरूले विरोध गरेका थिए । सरकारले विद्युतीय सवारी साधनमा बढाएको करविरुद्ध २०७७ साउन ५ गते ‘जुरी नेपाल’ नामक संस्थाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको फैसला दुई वर्षपछि २०७९ साउनमा भएको थियो । मुद्दाको फैसलामा सर्वोच्चले विद्युतीय गाडीहरूको ब्याट्री व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै ईभीको ब्याट्री व्यवस्थापन गर्न आदेश गरेको थियो ।

फैसलाको पूर्णपाठ २०८० वैशाख १३ गते मात्रै आएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले प्रदूषण नहुनेगरी ब्याट्री व्यवस्थापनको निम्ति अन्य विकल्पहरूको खोजी गरी समाधान र व्यवस्थापनको रणनीतिसमेत तयार गर्ने परियोजनाको लागि फैसला प्राप्त गरेको मितिले ३ महिनाभित्र अध्ययन समिति गठनगरी अध्ययन गर्न गराउन अदालतले आदेश दिएको थियो । 

त्यतिबेला अमेरिकी सदन (सिनेट)ले ‘एस ४०५७ स्ट्राटेजिक ईभी म्यानेजमेन्ट एक्ट अफ २०२२’ पास गरेको थियो । उक्त विषयलाई नै उल्लेख गर्दै सर्वोच्चले ब्याट्री व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न समिति बनाउन आदेश गरेको थियो । 

सर्वोच्चको पूर्णपाठले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई विद्युतीय गाडीको ब्याट्री व्यवस्थापनका लागि समिति बनाएर अध्ययन गर्न परमादेश गरेको थियो । 

त्यसलगत्तै सम्बन्धित मन्त्रालयहरूले समन्वय गरेर समिति बनाउन पत्राचार गरिएको थियो । सम्बन्धित सबै मन्त्रालयलाई पठाइएको पत्रमा एक वर्षसम्म कुनै काम भएन । करिब एक वर्षपछि यातायात मन्त्रालयले पहिलो चरणको अध्ययनका लागि काम अगाडि बढाएको थियो । जुन गत साउनमा मात्रै एक अध्ययन प्रतिवेदनको ढाँचा तयार गरेको छ भने वन तथा वातावरण मन्त्रालयले पनि अध्ययनको काम अगाडि बढाइरहेको छ ।

सरकार परिवर्तनसँगै अर्थ मन्त्रालयको राय सुझाव र ऊर्जा मन्त्रालयलगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पनि राय सुझाव नआएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि काम अघि बढाउन नसकेको जनाएको छ ।  

ब्याट्री व्यवस्थापनका लागि कसरी, कुन मन्त्रालयसँग मिलेर गर्ने भन्ने विषय स्पष्ट नभएपछि ढिलाइ भएको वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले बताए ।

यता, यातायात मन्त्रालयले प्रतिवेदन तयार गरिसकेको छ । सबै मन्त्रालयले छुट्टै अध्ययन गरेपछि नीतिगत रूपमा निर्णय गर्न सहज हुने मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्