
केन्द्रीयदेखि स्थानीय तहसम्मको सरकारलाई व्यवस्थित बनाउनका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रभावशाली नेता सम्मिलित शक्तिशाली संयन्त्र बनाएका छन् ।
केन्द्र, प्रदेश र स्थानीय तहसम्मकै सरकारलाई व्यवस्थित र बलियो हिसाबले चलाउने गरी दुवै दलका केन्द्रीय नेता रहने गरी संयन्त्र निर्माण भएको जानकारी एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘सत्ता समीकरणलाई व्यवस्थित र बलियो हिसाबमा चलाउनका लागि केन्द्रदेखि स्थानीय तहसम्मै संयन्त्र निर्माण गर्ने निर्णय गरेका छौं,’ गौतमले लोकान्तरसँग भने, ‘यो केन्द्रीय संयन्त्रमा दुवै पार्टीका शक्तिशाली नेताहरू हुनुहुन्छ ।’
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।
त्यस्तै, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् । गौतमका अनुसार दुईदिन अगाडि यस्तो संयन्त्र बनाइएको हो ।
केन्द्रकै शैलीमा प्रदेशमा पनि प्रदेशको इञ्चार्ज, अध्यक्ष, प्रदेश संसदीय दलको नेता, जिल्ला अध्यक्ष संयन्त्रमा रहने जानकारी उनले दिए । कांग्रेसबाट पनि प्रदेशका पदाधिकारी तहका नेता संयन्त्रमा रहनेछन् ।
दुई ठूला दलको दुईतिहाइको सरकारले प्रभावकारी कार्यसम्पादन गर्न नसकेको आरोप खेपिरहेका बेला दलहरूले यस्तो संयन्त्र बनाएका हुन् । संयन्त्रले सबै तहका सरकारलाई थप प्रभावकारी बनाउने गरी काम गर्नेछ ।
प्रधानमन्त्री निकट स्रोतले पनि नतिजा आउने गरी काम गर्नका लागि सत्तारुढ दुई दलले संयन्त्र बनाएको जानकारी दियो । ‘केन्द्र र प्रदेशका सरकार कुन काममा कसरी फोकस हुने र कुन कामलाई प्राथमिकता दिने कामका लागि सहजीकरण गर्न नेता सम्मिलित एउटा संयोजनको समिति बनेको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘यो ठ्याक्कै औपचारिक संयन्त्र होइन, तर सरकारले काम गर्नुभन्दा अगाडि कसरी व्यवस्थित र प्रभावकारी काम गर्ने भनेर यसले सहजीकरण गर्नेछ ।’
केही दिनअगाडि मात्रै सरकारले एक सय दिनको हनिमुन अवधि पूरा गरेको थियो । तर, शक्तिशाली सरकार बने पनि प्रभावकारी कार्यसम्पादन नगरेको भन्दै प्रश्न उठेको छ ।
यसैले सरकारलाई थप प्रभावकारी बनाउन सत्तारुढ दलले संयन्त्र बनाएरै अगाडि बढ्ने निर्णय गरेका हुन् ।