
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको साढे २ वर्षपछि देशभरका ४४ रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।
परम्परागत दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायत तथा नयाँ दल रास्वपा उपनिर्वाचनको तयारीमा जुटेका छन् ।
तर, गत स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट जितेका बालेन साहले भने अहिलेसम्म देखिने गरी कुनै गतिविधि गरेका छैनन् । अर्को चुनावसम्म बालेनले दल खोल्छन् भन्ने आकलन धेरैको छ । तर, साढे दुई वर्षसम्म बालेनले दल खोल्ने छनकसम्म पनि दिएका छैनन् ।
मंसिर १५ मा हुने उपनिर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । यसका लागि अन्य दलहरूमा धमाधम उम्मेदवार सिफारिश र घोषणाको क्रम बढेको छ ।
सातवटै प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचन हुँदैछ । काठमाडौं जिल्लाकै कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचन हुँदैछ ।
कीर्तिपुरकै १ र ४ नम्बर वडामा पनि उपनिर्वाचन हुँदैछ । बालेन विजयी भएको काठमाडौं महानगरपालिका– १६ मा पनि उपनिर्वाचन हुँदैछ । तर, बालेन अहिलेसम्म मौन छन् ।
मेयर बालेनका प्रमुख सल्लाहकारमध्येका एक कुमार व्यञ्जनकारले उपनिर्वाचनमा कतै पनि उम्मेदवारी नदिइने बताए । ‘हामीले गत स्थानीय तहको निर्वाचनमा पनि मेयरबाहेक ३२ वटा वडामा कहीँ उम्मेदवारी दिएका थिएनौं,’ व्यञ्जनकारले लोकान्तरसँग भने, ‘यो नियमित निर्वाचन होइन र कुनै तयारी छैन । कुनै पनि पदमा उम्मेदवारी दिने योजना पनि मेयरसाबको छैन ।’
साथै, उपनिर्वाचनमा बालेनले अन्य कुनै पनि उम्मेदवारलाई समर्थन वा सहयोग समेत नगर्ने उनले बताए ।
‘उहाँले ३२ वटा वडामा वडाध्यक्ष नहुँदा पनि काम गर्दै आउनुभएको छ । बीचमा काठमाडौं १६ मा उपनिर्वाचन हुँदैछ । तर, यसमा उम्मेदवार पनि हुँदैन । अरू कुनै पनि उम्मेदवारलाई समर्थन पनि रहने छैन,’ व्यञ्जनकारले भने ।

रहस्यमै रहने पक्षमा बालेन
कीर्तिपुर नगरपालिकासहित काठमाडौंकै केही वडामा उपनिर्वाचन हुन लागे पनि बालेन हतारिने पक्षमा देखिएका छैनन् । अहिले सीमित ठाउँको उपनिर्वाचनमा होमिँदा कुनै न कुनै हिसाबले जनमत परीक्षण हुनेछ । तर, बालेनले सीमित ठाउँमा आफ्नो शक्ति परीक्षण गराउन नचाहेको उनीनिकट स्रोत बताउँछ ।
‘गत स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्म मेयर बालेन एउटा रहस्यकै रूपमा रहनुभएको छ । उहाँको लोकप्रियता पनि छ । त्यसैले अहिले सीमित ठाउँमा मात्रै हुने उपनिर्वाचनमा भाग नलिऊँ भन्ने लागेको हो कि भन्ने देखिन्छ,’ बालेननिकट स्रोत भन्छ, ‘सीमित ठाउँमा चुनाव भए पनि केही न केही शक्ति परीक्षण भइहाल्छ । पछि दल खोलेर अर्को चुनावमा व्यवस्थित हिसाबले अगाडि बढ्ने रणनीति भएकाले अहिले थोरै ठाउँमा हुने चुनावमा भाग नलिऊँ भन्नेमा रहनुभएको पाएका छौं ।’
तर, केही सल्लाहकारले भने बालेनलाई अन्य दल अलोकप्रिय भएको मौकाको फाइदा उठाउँदै शक्ति परीक्षणमा होमिनुपर्ने सुझाव पनि दिएको बताइन्छ । आफ्नो सीमित कोर टीमबाहेक अरूसँग बालेनले के गर्दैछु भनेर सल्लाह नै गर्दैनन् । यसैले उनको मनमा के खेलेको छ र के गर्दैछन् भन्ने उनीनिकटले पनि भेउ पाँउदैनन् ।
कोर टीममध्ये पनि असाध्यै निकटले मात्रै बालेनले केही गर्दैछन् भन्नेबारे जानकारी पाउँछन् । अन्य निकटहरू पनि बालेनको गतिविधिबाट टाढै छन् ।
सञ्चारमाध्यममा नआउने, राजनीतिक नेतृत्वको पहुँचमा नजाने स्वभाव रहेकाले पनि बालेन धेरैका लागि रहस्यको पात्र बन्दै आएका छन् ।
यसरी जितेका थिए बालेन
बालेनले २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा अप्रत्याशित बाजी मारेका थिए । परम्परागत राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व तोड्दै बालेनले स्वतन्त्रबाट शानदार जीत निकालेका थिए । र्यापर र इन्जिनियर पृष्ठभूमिका बालेनको उदयलाई धेरैले अस्वाभाविक मानेका थिए ।
महानगर प्रमुखमा बालेनले ६१,७६७ मत ल्याएका थिए । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८,२४१ मत प्राप्त गरेकी थिइन् ।
बालेनले निर्वाचनअगाडि नै ९१ हजार भोट ल्याएर जित्ने दाबी गरेका थिए । बालेन २३,५२६ मतान्तरले विजयी भएका थिए ।
तेस्रो स्थानमा आएका एमालेका उम्मेदवार केशव स्थापितले ३८,११७ मत प्राप्त गरेका थिए । स्वतन्त्रका अर्का उम्मेदवार सुमन सायमीले १३,७७० मत प्राप्त गरेका थिए ।
काठमाडौं महानगरमा ३२ वटा वडा छन् । तर, गत निर्वाचनमा बालेनले प्रमुखमा मात्रै उम्मेदवारी दिएका थिए । ३२ वटा वडामा कांग्रेस, एमालेसहितका दल र स्वतन्त्रका वडाध्यक्ष विजयी भएका थिए ।
काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी थिइन् । डंगोल ६८ हजार ६१२ मत ल्याएर विजयी भएकी थिइन्, जुन बालेनको भन्दा ७ हजार बढी मत हो ।

उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका थिए ।
दल खोल्ने तयारीमा छन् बालेन ?
गत निर्वाचनमा काठमाडौंमा तहल्का मच्चाएका बालेनले पार्टी खोल्ने चर्चा पछिल्लो साढे दुई वर्षयता चल्दै आएको छ । काठमाडौंमा परम्परागत दलको विरासत तोडेपछि बालेन युवामाझ चर्चित पनि छन् । पुराना दलप्रतिको आक्रोश र आफूप्रतिको समर्थनले उनलाई दल खोलेर खरो उत्रिन दबाब छ । तर, बालेन उपयुक्त मौकाको पर्खाइमा रहेको बताइन्छ ।
दल खोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तै परीक्षण हुने र आलोचनाको पारो ह्वात्तै बढ्न सक्ने जोखिम बालेनले देखेको विश्लेषकहरू बताउँछन् । त्यसैले पर्याप्त तयारी गरेर चुनावको ठ्याक्कै अगाडि मात्र दल खोल्ने उनको तयारी रहेको निकटस्थहरूको दाबी छ ।
पार्टी खोलेपछि स्थानीय तह, प्रदेश र संघ कता लक्षित हुने भन्नेमा पनि बालेनले कुनै टुंगो लगाएका छैनन् । केहीले सेलिब्रिटी र चर्चित अनुहारलाई लिएर पार्टी खोल्न शुभेच्छुकहरूले सुझाव दिएका छन् । तर, कतिले बालेनलाई एकपटक देशभरका शहरमिश्रित स्थानीय तहको निर्वाचन जितेपछि मात्रै दल खोल्न पनि सुझाव दिएको उनीनिकट स्रोतहरू बताउँछन् ।
बालेनका सल्लाहकार व्यञ्जनकार दल खोल्ने कुनै तयारी नभएको बताउँछन् । ‘दल खोल्ने तयारी केही पनि छैन,’ व्यञ्जनकारले लोकान्तरसँग भने, ‘पछि के हुन्छ, त्यो मेयरसाबकै कुरा हो ।’