१० साउन २०८३, आइतबार
दुर्घटनाले दिएको पीडा

शिक्षक दम्पतीको वियोगान्त– ३ दिनलाई भनेर छाडेका छोराछोरी टुहुरो बनाएर अस्ताए

कात्तिक २६, २०८१
बुटवल
शिक्षक दम्पतीको वियोगान्त– ३ दिनलाई भनेर छाडेका छोराछोरी टुहुरो बनाएर अस्ताए

गत शुक्रबार पोखराबाट चितवनका लागि छुटेको बा प्र ०६ ००१ ज ०२९८ नम्बरको इलेक्ट्रोनिक हाइसमा सवार थिए, नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिका– ४ सर्दीका सन्तोष भुसाल र सविना भुसाल ।

शिक्षक दम्पती सन्तोष र सविना ९ वर्षकी छोरी र ५ वर्षका छोरा बुवाआमाको जिम्मामा छाडेर तिहारको भोलिपल्ट (१९ गते) घरबाट बिदा भएका थिए ।

व्यस्त जीवनबाट फुर्सद निकालेर ‘रिफ्रेसमेन्ट’का लागि भन्दै उनीहरू कास्कीको मार्दी हिमाल ‘बेस क्याम्प’ पुगे । तीन दिन हर्षोल्लासका साथ ‘बेस क्याम्प’ घुमफिर गरी रमाउँदै उनीहरू पोखराबाट चितवन आउने हाइस चढेका थिए । गन्तव्यमा पुग्नैलाग्दा उनीहरूको सपना टुट्यो ।

कात्तिक २३ गते बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका– २९ मा उनीहरू सवार हाइस र पूर्वबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस एकआपसमा ठक्कर खाँदा ३५ वर्षका सन्तोष र ३४ वर्षकी सविनासहित ५ जनाको दुःखद् निधन हुन पुग्यो । 

३ रातका लागि बुवाआमालाई सन्तान जिम्मा लगाएर घुम्न निस्केका सन्तोष र सविना अन्ततः दुई सन्तान सधैंका लागि बाआमाको जिम्मामा छाडेर अस्ताएका छन् ।

वडामा परिचित सन्तोष र सविना देशमै केही गर्नुपर्छ भन्ने सोच राखेर सयौं विद्यार्थीलाई उज्यालो भविष्य देखाउने कर्ममा थिए । कक्षामा पनि उनीहरू आफ्नै देशमा पढ्नुपर्छ र यहीँ जागिर गर्नुपर्छ भनेर हौसला दिन्थे ।

सन्तोष आफ्नै वडाको मणिसिद्ध आधारभूत विद्यालयमा सह–प्रधानाध्याक थिए । सविना शिक्षकका रूपमा कार्यरत थिइन् । २५ गतेबाट स्कूल शुरू हुने भएकाले दशैँतिहारबीचको छुट्टीमा घुम्न जाने उनीहरूको पहिलेदेखिकै योजना थियो ।

सन्तोषका काका तथा सर्दी बहुमुखी क्याम्पसका सह–प्राध्यापक प्रकाश भुसालले उनीहरू २२ गते बेलुका साढे ८ बजेसम्म सम्पर्कमा रहेको बताए । 

‘बेसक्याम्पसबाट पोखरा आयौं, धेरै थकित छौं, भोलि आउँछौ भनेर परिवारलाई भनेका थिए,’ प्रकाशले लोकान्तरसँग भने, ‘तर, उनीहरू कसरी र किन राति नै गाडी चढे थाहा भएन । बिहान साढे ३ बजेको दुर्घटनामा परेर उनीहरूको निधन भयो ।’

प्रकाशका अनुसार यतिबेला भुसाल परिवार सम्हालिन नसक्ने अवस्थामा छ । 

सन्तोष र सविनाले हिमालको फेदमा पुगेर बनाएका टिकटक भिडियोहरू सामाजिक सञ्जालमा भाइरल छन् । झण्डै पाँच वर्षको प्रेम सम्बन्धलाई सन्तोष र सविनाले १० वर्षअघि बिहेमा परिणत गरेका थिए ।

चितवन रामपुरकी सविनासँग सन्तोषको चिनजान चितवनकै सप्तगण्डकी बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनका क्रममा भएको थियो । स्नातक तह पढ्दै गर्दा उनीहरू नजिकिए । दुवैजना पढाइमा राम्रा थिए ।

प्रेम सम्बन्धलाई परिवारको स्वीकृतमा १० वर्षअघि बिहेमा परिणत गरे । बिहेको एक वर्षमै उनीहरूले छोरीलाई जन्म दिएका थिए । उनीहरू घुमफिर गर्न रुचाउँथे ।

६ महिनादेखिको योजनाअनुसार उनीहरू मार्दी बेसक्याम्प पुगेका थिए । विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष साहिल श्रेष्ठले वडाले अनुभवी, दक्ष र इमान्दार शिक्षक जोडी गुमाएको बताए ।

सन्तोषका बुवा रामप्रसाद र आमा रोमकला पनि सेवानिवृत्त शिक्षक हुन् । बाआमाकै प्रेरणाले उनीहरू पनि शिक्षण पेशामा लागेका थिए ।

अंग्रेजी शिक्षक सन्तोष राहत कोटामा थिए भने सविना करारमा पढाउँथिन् । सन्तोषले १० वर्षदेखि पढाउँदै आएका थिए । सविनाले पढाउन थालेको दुई वर्ष मात्र भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्