०२ साउन २०८३, शनिबार
डीआईजी बढुवामा गृहको गृहकार्य

प्रहरीमा रिक्त आठ डीआईजी पदमा २५ एसएसपीको प्रतिस्पर्धा

प्रारम्भिक सूची तयार, एकै पटक प्रकाशन गर्ने तयारी
कात्तिक २७, २०८१
काठमाडौं
प्रहरीमा रिक्त आठ डीआईजी पदमा २५ एसएसपीको प्रतिस्पर्धा

गृह मन्त्रालयले नेपाल प्रहरीका रिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाको गृहकार्य शुरू भएको छ । गृहसचिव गोकर्णमणि दुवाडी र आईजीपी बसन्तबहादुर कुँवरले बढुवा समितिको बैठक बसेर एकै पटक सूची प्रकाशन गर्ने तयारी  गरेका छन् । त्यसका लागि बढुवा रेसमा रहेका एसएसपीहरूको कार्यसम्पादन मूल्यांकन (कासमु) फाइल हेरिएको छ ।

डीआईजीको ८ वटा पद रिक्त छन् । तर, बढुवाका आकांक्षीहरू प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने २५ जना छन् । 

बढुवा रेसमा रहेका एसएसपीहरू क्रमशः सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण कमार पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दीलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शन प्साद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, संजिव दास शर्मा र सारदप्रसाद चौधरी २०५३/०५४ मा इन्सपेक्टरमा भर्ना भएका टोली हुन् । 

यसैगरी एसएसपीहरू धुर्वराज राउत, भोलाबहादुर रावल र गणेश चन्द प्रहरी महानिरीक्षक (आईजीपी) कुँवरका ब्याची हुन् ।

आकांक्षी धेरै भए पनि सम्भावित सूचीबारे दुवैले सँगै बसेर खाका कोरेको स्रोत बताउँछ । गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिमा अध्यक्ष गृह सचिव, सदस्य आईजीपी र सदस्य सचिव मानवश्रोत विकास विभागका एआईजी रहने व्यवस्था छ ।

बढुवा सिफारिस गर्दा आफ्ना ब्याचलाई छुटाउँदा राम्रो सन्देश नजाने भन्दै कुँवरले एसएसपीहरू राउत, रावल र चन्दमध्ये एक जनालाई जसरी पनि सूचीमा अटाउनुपर्ने अडान राखेका छन् ।

तर, गृहसचिव दुवाडीले कासमूलाई आधार मानेर बढुवा गर्दा ब्याचसँग मतलब नहुने जवाफ कुँवरलाई दिएको स्रोत बताउँछ ।

आईजीपी कुँवरले गृहमन्त्री रमेश लेखकलाई डीआईजी बढुवा गर्दा आफ्ना ब्याचीलाई अन्याय नहुनेगरी सिफारिस गर्नुपर्ने ब्रिफिङ गरेका छन् । लेखकले संख्या कम तर बढुवा आकांक्षी धेरै हुँदा राम्रा अधिकृतलाई माथि ल्याउनुपर्ने जवाफ कुँवरलाई दिएको गृह स्रोत बताउँछ ।

यसअघि इन्सपेक्टरबाट डीएसपी र डीएसपीबाट एसपी बढुवा गर्दा राम्रालाई छुटाएको भन्दै संगठनभित्रै प्रश्न उठेको थियो । यसपटक गुनासो नआउनेगरी बढुवा गर्ने आईजीपी कुँवरको तयारी छ ।

प्रारम्भिक बढुवा सूचीअनुसार कासमुका आधारमा एसएसपीहरू राठौर, शाह, चतुर्वेदी आचार्य, चन्द, राना रावल र राउतलाई अटाइएको छ । तर, सूची फेरबदल हुने गृह स्रोत बताउँछ । राठौर, शाह, चतुर्वेदी र राना २०५३ को सिनियर टोली हुन् भने आचार्य २०५४ को टोली हुन् ।

गृहका एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'गृहसचिव र आईजीपीले डीआईजी बढुवाको गृहकार्य गरिरहनुभएको छ, संभवत छिट्टै सूची प्रकाशन हुन्छ ।’

प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी दानबहादुर कार्कीले पनि एसएसपीबाट डीआईजी बढुवाको गृहकार्य भइरहेको बताए । उनले भने, 'बढुवा समितिको बैठक बसेको छैन, बैठक बसेपछि टुंगिएला । विवादरहित ढंगले नै बढुवा गर्ने प्रयासमा छौं ।’

salt training

कमेन्ट गर्नुहोस्