
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग सहकारी ठगी प्रकरणमा रूपन्देहीमा बयान सकिएपछि उनलाई पुनः कास्की पुर्याइएको छ ।
कास्कीमा उनीविरुद्ध चारवटा अभियोगमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालत कास्कीमा ठगी, कीर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पहिलो चरणको बयान सकिएको छ ।
कास्की प्रहरीका अनुसार रविविरुद्ध दोस्रो चरणको (ततिम्बा) बयान लिइने छ । रविले सरकारी वकिल कार्यालयमा दिएको इन्कारी बयानपछि प्रहरीले थप प्रमाण जुटाएर पुनः बयान लिने तयारी गरेको हो ।
रविले सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा आएको विषय आफूलाई थाहा नभएको बयान दिएका थिए । तर, गोरखा मिडियाबाट रविका नाममा पेस्की तथा ऋणबापत २ करोड प्रवाह भएको देखिन्छ ।
सहकारीको रकम निजी कम्पनीमा लगेर उक्त कम्पनीमाथि व्यक्तिलाई ऋण प्रवाह गरेर अपचलन गरेको तथ्य मिसिलमा प्रहरीले पेश गरेको छ ।
सूर्यदर्शनबाट ब्याज पूँजीकृत गरिएको ३९ करोड २२ लाख बराबरको कर्जा विवरणमा कर्जा खाता नम्बर ००१–००१–११६–०००४४५६ मा मिति २०७९ असार मसान्तमा १४ लाख ७५ हजार एक रुपैयाँ र २०८० असार १३ मा १६ लाख १३ हजार ७ सय १३ रुपैयाँ रवि लामिछानेको नाममा देखाइएको छ ।
सहकारीको सदस्य समेत नरहेको भन्दै आएका रविका नाममा उक्त कर्जा कसरी देखाइयो भन्ने विषयमा प्रहरीले केही तथ्य फेला पारेको छ । ‘यो कर्जा देखाएको विषयमा हामीले कारागारमा रहेका सूर्यदर्शन सहकारीका सञ्चालक समितिका पूर्वसदस्य शिवबहादुर गुरुङसँग पनि सोधपुछ गरेका छौं,’ अनुसन्धानमा संलग्न कास्की प्रहरीका एक अधिकृतले लोकान्तरसँग भने, ‘उनले केही पुष्टि हुने आधार दिएका छन्, तर रविले यस विषयमा आफूलाई थाहा नभएको इन्कारी बयान दिएका छन् ।’
संगठित अपराधमा रवि–जीबी सम्बन्ध, जीबी–रवि र छविलाल बञ्जाडेको सम्बन्ध तथा जीबी–रवि–छवि र कुमार रम्तेलको सम्बन्धका आधारहरू प्रहरीले केलाइरहेको छ । रम्तेलले त प्रहरीसँगको बयानमा सहकारीसँग ऋण लिने विषयमा रवि र जीबीसँग बैठक बसेको खुलाएका छन् ।
‘फोन सम्पर्क त जो जसले पनि एकअर्कालाई गर्न सक्ने भए, तर उनीहरूबीच आदानप्रदान भएका म्यासेजहरू पनि हेर्दैछौं,’ एक प्रहरी अधिकृतले भने, ‘ह्वाट्सएप, मेल, इमो, म्यासेन्जरलगायतमा यिनीहरूबीच भएका च्याटको विश्लेषण गरिरहेका छौं ।’
सहकारी ठगी अनुसन्धानमा कास्की प्रहरीलाई सहयोग गर्न काठमाडौंदेखि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिएको छ । प्राविधिक अनुसन्धानमा दख्खल राख्ने डीएसपी सुन्दर तिवारीको टोली कास्कीमै छ ।
पाँचवटा सहकारीहरू क्रमशः सूर्यदर्शन, स्वर्णलक्ष्मी, सानोपाइला, सहारा र सुप्रिमबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको र उक्त रकम अपचलनमा रविको संलग्नता रहेको दाबीसहित प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई फरार छन् । प्रहरीले जीबीसँग रविले गरेका व्यक्तिगत कारोबारलाई समेत प्रमाणको रूपमा पेश गर्ने तयारी गरेको छ ।
गोरखा मिडिया नेटवर्कबाट रविका ससुरा उद्धव पौडेलले सञ्चालन गरेको गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ गएको देखिन्छ । उक्त रकम रवि प्रबन्ध निर्देशक भएकै बेला गएको हो ।
रविले पदमा रहेका बेला २४ करोड रुपैयाँ अंकित १४ वटा चेक काटेका थिए । कम्पनीको पूँजी र आम्दानीभन्दा धेरै रकमको चेक काट्दा रविले जवाफदेहितालाई बिर्सिएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले रविसँग ततिम्बा बयान लिइने बताए ।
उनले भने, ‘पहिलो चरणको बयान सकियो । अब ततिम्बा शुरू गर्छौं । केही तथ्यहरू फेला परेका छन् । अनुसन्धानमै छौं ।’
सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले रविको सम्पत्ति रोक्का गरिसकेको छ । त्यस्तै, रविका र उनको परिवारका नाममा रहेका सम्पत्तिको विवरण संकलन गरिरहेको छ ।