१३ असार २०८३, शनिबार
उद्यममा युवा

व्यावसायिक हुटहुटीमा हिँडेका सोभित : वेटरदेखि मालिकसम्म

मंसिर १, २०८१
पाेखरा
व्यावसायिक हुटहुटीमा हिँडेका सोभित : वेटरदेखि मालिकसम्म

सानै उमेरमा परिवारको जिम्मेवारी काँधमा आइपरेपनि सोभित ठकुरीलाई विदेशको कमाइले कहिल्यै तानेन । संघर्ष र अभावकैबीच उनले सपना देखेका थिए, कुनै दिन आफ्नै व्यापार–व्यवसाय गर्ने । 

१५ वर्षको उमेरमा खर्च जोहो गर्न शुरू गरेको काम नै अन्तत: उनका लागि व्यापारको जग बन्यो । त्यसैले रेष्टुरेन्टमा कामदार हुँदै शुरू भएको सपना आज आफ्नै कफीशपका रूपमा खडा भएको छ । 

उनको व्यावसायिक सोच त्यतिमा मात्र सीमित छैन । रेष्टुरेन्टको वेटरदेखि शुरू भएको सोभितको संघर्षको कथा म्यानेजर हुँदै अघि बढिरहेको थियो । मिहिनेतकै कारण आर्थिक पाटो सहज बन्दै पनि थियो । तर, काँधमा उठाउनु पर्ने जिम्मेवारीले राहत भने मिल्दैन्थ्यो ।  

कामदारको तलबले परिवारको खुशी किन्नु थियो । आफ्नै भविष्य पनि सुनिश्चित गर्नु जो थियो । तर, सपनाहरू सजिलै कहाँ पूरा हुन्छन् र !सोभितले पनि छिचोले अवरोधका अग्ला पहाडहरू ! र, आज आइपुगे सफलताको हिस्सेदार बनेर। 

एकातिर जिम्मेवारीको भारीले थिचिरहेको थियो । अर्कोतिर के गर्ने कसो गर्ने भन्ने रनभुल्लमा थिए । साथीहरू रोजगारी खोज्दै विदेश हान्निरहेका थिए । यति हुँदा पनि उनलाई विदेश जानुपर्छ भन्ने सोंच चाहिँ कहिल्यै आएन । उनमा आफ्नै देशमा केही गर्ने हुटहुटी थियो । जसकारण उनी निरन्तर कर्ममा लागिरहे । विभिन्न उपाय खोजिरहे । सुखको सुन्दर बिहानीको पर्खाइमा हिँडिरहे दु:खका अनेकौं रातहरू । 

फलस्वरूप उनको लगावले उनलाई हेली एयरको म्यानेजरसम्म बनायो । सेवा सुविधा थियो राम्रै । तर, उनलाई सन्तुष्टी मिलिरहेको थिएन । केही नपुगेकोजस्तो अनुभव भइरहेको थियो । आफ्नै मनसँग सोधे-आखिर किन ?

सोभितले पहिल्याए; उनले खोजेको सन्तुष्टी जागिरे जीवन थिएन । त्यसपछि उनी व्यावसायिक जीवनतर्फ अघि बढे । साथीसँग मिलेर लेकसाइडमा व्यवसाय सञ्चालन गरे । तर, शुरूआति समय सोचे अनुरुप भएन । व्यवसायमा बेहोर्नुपरेको घाटाले मानसिक रूपमा पीडा दियो । उनको सपना मुर्झायो-केही समय । ती सबैबाट उनले व्यवसायको पाठ सिके । आफ्ना सपनामाथि फेरि त्राण भरे । त्यसैको सिकाइ होला; अचेल व्यवसायमा हात हाल्नुअघि उनीसँग 'ब्याकअप प्लान' हुन्छ । 

‘पार्टनरसिप हुने बेला उतारचढाव आयो । पछिल्लो क्रममा फिल भयो, त्यो समयमा ब्याकअप भएन । झ्याम्म हाम्फालेँ ।  त्यसले आर्थिक रूपमा अहिलेसम्म केही न केही हान्यो,’ शुरूआति दिन सम्झिन्छन् सोभित । 

यही सिकाइबाट अहिले करोडको व्यवसाय सम्हालिरहेका छन्, सोभित । लकडाउनको समयमा १९ लाखबाट शुरू भएको ‘कफी घर’लाई करोडौंमा पुर्‍याएका छन् । सभागृहमा सानो सटरबाट शुरू भएको कफी घरले ठूलो ठाउँ पायो । न्यूरोडमा सरेर पूरानो शैलीमा नयाँ शुरूआत भयो । त्यसपछि सोभितको कफी शप, कफीको स्वादको लागि मात्र होइन कफी बनाउन सिकाउने घर पनि बन्यो ।

null

बारिस्टा र बेकरी आइटमको तालिम दिने कफी घरलाई १९ लाखको लगानीबाट २ करोडमा पुर्‍याएको सोभित सुनाउँछन् । बारिस्टाको तालिम लिने विद्यार्थी पनि बढ्न थाले । उतारचढावकाबीच सोभितले कफी घर स्थापित गरे । 

आजकल कफी घरलाई श्रीमती रोजु मल्लले बढी समय दिन्छिन् । त्यसबीच खाली बनेका सोभित नयाँ गर्ने सोचमा जुटे । उनलाई लाग्यो- आफ्नो चलिरहेको व्यवसाय जोडिने अर्को व्यवसाय के होला ? 

कफी घरमा तालिम लिन आउने अधिकांश विद्यार्थी विदेश जानकै लागि काम सिक्न आउँथे । त्यसपछि उनले पाइहाले व्यवसायले व्यवसाय जोड्ने बाटो । अनि, शुरू भयो सानो लगानीमा अब्बोर्ड डेस्क कन्सलटेन्सी । 

‘आफ्नो एउटा सेक्टर अर्को सेक्टरसँग कहीँ न कहीँ कनेक्ट भए सपोर्ट गर्ने रहेछ । नयाँ सेक्टरमा जान मन लाग्यो । त्यहाँ सिक्न आउने विदेश जाने विद्यार्थीले विश्वास गर्ने देखियो । ठीक छ गरौँ भन्ने भो । केही रिसर्च गरेपछि कन्सलटेन्सी शुरू गरेको हुँ’, उनले सुनाए । 

परीक्षणकाल बनाएका छन् सोभितले यो समयलाई । उनले कन्सल्टेन्सी शुरू गर्दा डेढ वर्ष कम्पनी आफ्नै खल्तीबाट धान्ने धीरता लिएर अघि बढे । अहिले कन्सल्टेन्सी सोचेभन्दा केही राम्रो चलिरहेको उनी बताउँछन् । 

‘बजार बुझेँ । लगानी लगाउनु अघि माहोल हेरेँ । बुझेँ, पढेँ । आफूले गर्न सक्छु भन्ने आत्मविश्वास पलाएपछि हात हालेँ’, सोभितले सुनाए ।  

विदेश जाने विद्यार्थीले बारिस्टा सिकेकै हुन्छन् । उनको कफी घरले अन्यको तुलनामा विदेश जाने विद्यार्थीलाई केन्द्रित गरेर सस्तोमा पढाउँछ । त्यसैले कफी घरमा सिक्न आउने विद्यार्थी बढी नै छ । 

‘बिजनेस टु बिजनेस’ भन्छन् सोभित यसलाई । 

सोभितको कफी घरमा बारिस्टा सिक्ने विद्यार्थी विदेश जान खोजैकै हुन्छन् । विदेश जाने सपना बोकेर नै कन्सलटेन्सीमा विद्यार्थी धाउँछन् । 

व्यवसायमा जति उतारचढाव आयो त्यसबाट उनले धीरता सिके । कुनै योजना बुनेर हिँड्दा विफल बने अर्को बाटो पहिल्यै राखेर हिँड्न जाने । केहीमा हात हाल्नुअघि अध्ययन गरे।  श्रीमती रोजुको बलियो साथले पनि उनलाई हौसला दिइरह्ययो । 

सोभितको योजनामा रोजुको आत्मविश्वास हुन्छ । त्यो आत्मविश्वासले हौसला दिन्छन् उनलाई । सोभितले केही योजना सुनाए रोजुले त्यसको चित्र सहजै उतार्न सक्छिन् । रोजुको मीठो साथले सोभितलाई अघि बढ्ने आड दिएको छ । र त, दुवै जना मिलेर हिँडिरहेका छन्– असफलताबाट सफलताको फराकिलो बाटो। 

salt training

कमेन्ट गर्नुहोस्