२८ असार २०८३, आइतबार
अचम्मको प्रविधि

नेपाल आउन खोजेको एलन मस्कको स्टारलिंक– आकाशमा ५ हजार स्याटेलाइट, एन्टेनाको भरमा इन्टरनेट

मंसिर २, २०८१
काठमाडौं
नेपाल आउन खोजेको एलन मस्कको स्टारलिंक– आकाशमा ५ हजार स्याटेलाइट, एन्टेनाको भरमा इन्टरनेट

संसारका सबैभन्दा ठूला अर्बपति एवं भावी अमेरिकी राष्ट्रपति (डोनाल्ड ट्र्म्प)का विशेष सहयोगी एलन मस्क स्वामित्वको स्टारलिंकले नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा पटक-पटक उच्चस्तरीय छलफल र भेटघाट गरिरहेको छ ।

सरकारी उच्च स्रोतका अनुसार स्टारलिंकका उच्चपदस्थ कर्मचारीले गत कात्तिक १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्टारलिंकले कसरी काम गर्छ र नेपालमा आउन किन चाहन्छ भन्ने विषयमा डेमो देखाइसकेको छ ।

यसमा प्रधानमन्त्री ओली पनि कन्भिन्स भएको तर कानूनअनुसार कम्तीमा २० प्रतिशत नेपालीको साझेदारी हुनैपर्ने व्यवस्थाले केही जटिलता निम्त्याएको भन्दै थप छलफल गर्ने प्रतिबद्धता जनाएको स्रोतको दाबी छ ।

कुनै पनि दूरसञ्चार कम्पनीले नेपालमा सेवा दिँदा २० प्रतिशत शेयर नेपालीको हुनैपर्ने बाध्यकारी कानूनी व्यवस्था छ । स्टारलिंकले नेपालमा आफ्नो फ्रिक्वेन्सी आउँदा २० प्रतिशत स्थानीय लगानीको शर्त हटाएर सहजीकरण गरिदिन प्रस्ताव गरेको हो ।

यसलाई सरकारले कसरी लिन्छ र कसरी सहजीकरण गर्छ भन्ने भविष्यको कुरा भयो । तर, आफ्नो सेवा विश्वभर आक्रामकरूपमा विस्तार गरिरहेको स्टारलिंकले नेपालमा पनि आफ्नो बजार विस्तार गर्न खोज्नु अस्वाभाविक होइन ।

स्टारलिंकले हालसम्म विश्वभरका ११२ भन्दा बढी देशमा आफ्नो इन्टरनेट सेवा विस्तार गरेको गरिसकेको छ ।

परम्परागत नेटवर्कको पहुँच सीमित भएका विश्वभरका ग्रामीण र शहरी क्षेत्रमा स्टारलिंक पुगिसकेको छ । यसले विश्वभर ४० लाखभन्दा बढी ग्राहक बनाइसकेको छ ।

स्टारलिंकले अफ्रिका, एशिया, युरोप र अमेरिकाका धेरै देशहरूमा आफ्नो सेवा उपलब्ध गराएको छ ।

यसले स्थानीय सरकारको अनुमति र आवश्यकताका आधारमा आफ्नो बिस्तार योजना तयार पारेको छ । त्यही आधारमा यसले नेपाल भित्रिन सरकारसँग लबिङ गरेको हो ।

५ हजारभन्दा बढी उपग्रहले दिन्छन् इन्टरनेट सेवा

पछिल्लो तथ्यांकअनुसार स्पेसएक्सको स्टारलिंक उपग्रह नेटवर्कमा ५ हजारभन्दा बढी सक्रिय उपग्रह छन् । यी उपग्रहहरू विश्वव्यापी इन्टरनेट पहुँचका लागि मात्र प्रयोग गरिन्छन् । विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यका साथ स्टारलिंकको स्थापना गरिएको थियो ।

यो संसारको सबैभन्दा ठूलो उपग्रह नेटवर्क हो । 'फाल्कन-९ तथा फाल्कन हेभी रकेटहरूको प्रयोग गरेर नियमित रूपमा थप उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गर्ने गरिन्छ ।

स्टारलिंकले भू-स्थिर कक्षमा घुम्ने परम्परागत उपग्रहभन्दा निकै तल 'लो अर्थ अर्बिट(एलईओ)'मा आफ्नो उपग्रह राख्ने गर्छ । परम्परागत उपग्रहहरू करिब ३६ हजार किलोमिटरको उचाइमा घुम्छन् भने स्टारलिंकका उपग्रहहरू जम्मा ५५० किलोमिटरको उचाइमा छन् । यसले गर्दा डाटा प्रसारण गति छिटो हुन्छ र 'लेटेन्सी' निकै कम हुन्छ ।

स्पेसएक्सका फाल्कन-९ रकेटहरूले एकैपटक ६० वटासम्मका उपग्रह प्रक्षेपण गर्न सक्ने क्षमता राख्छन् । उपग्रहले आफैं कक्षीय स्थिति समायोजन गर्न सक्ने सौर्य प्यानल र 'थ्रस्टर' प्रयोग गर्छन् ।

प्रत्येक उपग्रहले पृथ्वीसँग सिधा डाटा आदान-प्रदान गर्न सक्छ ।

प्रयोगकर्ताले 'डिशी म्याकफ्ल्याटफेस' भनेर चिनिने एन्टेनाको माध्यमबाट आफ्नो इन्टरनेट पहुँच स्थापित गर्न सक्छन् । यो एन्टेनाले आकाशमा सबैभन्दा नजिक रहेको उपग्रहसँग स्वतः कम्युनिकेसन गर्छ ।

ग्राउन्ड गेटवेहरूको भूमिका

स्टारलिंकले डाटा आदान-प्रदान गर्न 'ग्राउन्ड गेटवे' प्रयोग गर्छ । प्रयोगकर्ताले उपग्रहसँग सम्पर्क स्थापित गरेपछि त्यो सिग्नल नजिकको गेटवेमार्फत भूमिगत फाइबर अप्टिक नेटवर्कसँग जोडिन्छ ।

तर, भविष्यमा स्टारलिंकले उपग्रहबीच लेजर-कम्युनिकेसन सिस्टम लागू गर्ने योजना बनाएको छ । यसले गेटवेको आवश्यकता कम गर्दै उपग्रहदेखि उपग्रहसम्मको सञ्चारलाई सम्भव बनाउनेछ ।

स्टारलिंकले १ गिगाबाइट प्रतिसेकेन्डसम्मको डाउनलोड गति उपलब्ध गराउन सक्छ । ग्रामीण क्षेत्रहरूमा भिडियो स्ट्रिमिङ, गेमिङ र भिडियो कलजस्ता धेरै डाटा खपत हुने एपहरू सजिलै सञ्चालनमा ल्याउन सकिन्छ ।

पारम्परिक इन्टरनेटको तुलनामा स्टारलिंकको लेटेन्सी धेरै कम (२०-४० मिलिसेकेन्ड) मात्र छ । यसले टेलिमेडिसिन, अनलाइन शिक्षाजस्ता सेवाहरूलाई धेरै प्रभावकारी बनाएको छ ।

स्टारलिंक स्थापनाको मुख्य उद्देश्य दुर्गम तथा प्राविधिक रूपमा पिछडिएका क्षेत्रमा इन्टरनेट सेवा पुर्‍याउन सक्षम  हुनु हो । यो सेवा धेरै पहिलादेखि नै उत्तर क्यानडा, ब्राजिल र केही अफ्रिकी देशहरूमा उपलब्ध भएकोमा अहिले ११२ देशमा सेवा बिस्तार गरिसकेको छ ।

स्टारलिंक सेवा प्रयोग गर्न एन्टेनालाई अहिले औसत ६ सय अमेरिकी डलर पर्छ । मासिकरूपमा यसलाई १२० डलर तिर्नुपर्छ । यो अहिले नेपालमा सञ्चालित इन्टरनेट सेवा प्रदायकले लिने शुल्कभन्दा धेरै गुणा महँगो हो । तर, स्टारलिंकको टीमले प्रधानमन्त्री ओलीसँग यहाँका परम्परागत इन्टरनेट सेवा प्रदायकसँग प्रतिस्पर्धी मूल्यमा इन्टरनेट सेवा दिनेगरी नेपाल आउन चाहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्