
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई काम नगर्ने ठेकदार खोज्न थालेका छन् । आयोजना स्थलका स्थानीयलाई साथमा लिएर मन्त्री राई ठेकेदार खोज्न थालेका हुन् । गत कात्तिक १० गतेदेखि मन्त्री राईले ठेकेदार खोज्ने अभियान थालेका हुन् ।
विभिन्न बहाना देखाउँदै काम नगर्ने ठेकेदारलाई काममा लगाउन नयाँ रणनीति अपनाएको उनले बताए ।
रोकिएका काम समयमै सम्पन्न गर्नका लागि ठेकेदार र सरोकारवालाबीच छलफल गरेर काम अगाडि बढाउने आफ्नो योजना रहेको उनले बताए ।
धरान–१५ निरज बस्ती हुँदै जाने हर्दिया–पेलपुल–ढाडे–कन्यापोखरी सडक निर्माणको काम समयमै नभएपछि स्थानीयले हैरानी खेप्दै आएका थिए । तर, मन्त्री राईको अभियानपछि मंसिर २ गते ठेकेदारले सडक बनाउने प्रतिबद्धता जनाएका छन् ।
तर, ठेकेदारले निर्माणका नाममा एक/दुई ट्रिपर मात्रै गिटी झारेपछि मंगलबार कर्मचारीसहित मन्त्री आफैं सडक निर्माण स्थलमा पुगेका थिए । मन्त्री पुग्दा निर्माण कम्पनीका प्रतिनिधि पुगे पनि काम गर्ने यन्त्रहरू भने थिएनन् ।

आयोजनास्थलमा काम गर्ने यन्त्र नदेखेपछि मन्त्री राई ठेकेदार कम्पनीलाई ठेक्का तोडेर कालो सूचीमा राख्नेसमेत चेतावनी दिएका थिए । त्यसपछि भने ठेकेदारले काम शुरू गरेको छ ।
गजुरमुखी जेभीले उक्त सडकको ठेक्का पाएको थियो । गजुरमुखीले पेटी ठेकदारलाई कामको जिम्मा दिएको छ ।
मन्त्री आएर अनुगमन गरे पनि ठेकेदारले काम गर्नेमा आफू विश्वस्त भने नरहेको स्थानीय चन्द्रबहादुर आचार्य बताउँछन् । ‘पहिला बाटो राम्रो थियो । ठेकेदारले बनाउन थालेपछि हिँड्न सक्ने अवस्था छैन,’ आचार्यले भने, ‘अनुगमनमा आउँदा काम गर्छु भन्छन् । गएपछि गर्दैनन् । मन्त्रीले गोठालो नलागेसम्म काम हुँदैन ।’
धरान–४ का वडा अध्यक्ष धनबहादुर राईले पनि ठेकेदारका कारण जनताले दुःख पाएको बताए । ‘मन्त्रीज्यू आउँदा मात्रै काम गरेको देखाउँछन्’, उनले भने ‘मन्त्री गएपछि काम हुन्छ भन्ने एकरत्ति पनि विश्वास छैन ।’
२०७६ असोज १५ गते उक्त सडक निर्माणको सम्झौता भएको थियो । ३९ करोड २३ लाख ४१ हजार १६३ रुपैयाँमा भएको ठेक्का सम्झौताअनुसार सडक निर्माण २०७८ असोज १५ गतेसम्ममा सक्नुपर्ने थियो । तर, काम नसकिएपछि २०८० असार २८ गते पहिलो पटक थप गरिएको थियो । उक्त समयावधिमा पनि काम नभएपछि दोस्रो पटक पुनः १ वर्षको म्याद थप गरिएको थियो । १६.८७ किलोमिटर लामोसडक निर्माणको लागि प्रदेश सरकारले तेस्रो पटक म्याद थपेको छ । २०८२ असार मसान्तसम्मको समयमा काम सम्पन्न गर्न समय दिएको थियो ।
ठेकेदारले २१ करोड ७४ लाख ४१ हजार रुपैयाँ भुक्तानी लगिसकेका छन् । ५९ प्रतिशत काम गरेको भने पनि काम स्थगित गर्दा बाढी पहिरोले क्षति गरेको प्राविधिकहरू बताउँछन् ।
विभिन्न विवादका कारण रोकिएका तीन वटा सडक खण्डको काम शुरू भएको मन्त्री राईले बताए ।
भौतिक पूर्वाधार विकास कार्यालय र भवन निर्माण कार्यालयहरूले सञ्चालन गरेका ३१ वटा रुग्ण आयोजनाले अब गति लिनेगरी काम गर्ने मन्त्री राईको दाबी छ । ‘पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरू आयोजनास्थलमै सरोकारवालासँग छलफल गर्नेगरी निर्णय गरेका छौं,’ मन्त्री राईले भने, ‘जनताले पनि कसका कारण काम नभएको रहेछ भनेर थाहा पाउँछन् ।’ मन्त्री राईले सुनसरीकै तीन वटा काम रोकिएका सडकहरूको काम पुनः शुरू गरिएको बताए ।