
बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा लगानी बढाएका छन् । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट ८१ अर्ब १ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको थियो । गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जा प्रवाह करिब २३ प्रतिशतले बढाएका हुन् ।
२०८१ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट कूल ९० अर्ब ९ करोड ३० लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो । जुन असोज महिनासम्म आइपुग्दा १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज)मा बैंक तथा वित्तीय संस्थाहरूबाट कुल १५ अर्ब ७३ करोड १० लाख रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह भएको देखिन्छ । जुन गत वर्षको तुलनामा करिब ८.५१ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकले गत असोज (२०८०)मा शेयर धितो कर्जाको १२ करोडको सीमालाई बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म पुर्याएको थियो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितो कर्जाका लागि संस्थागत तर्फको २० करोडको सीमालाई हटाइदिएको छ । जसले गर्दा शेयर धितो राखेर कर्जा लिने क्रम बढेको देखिन्छ ।
यसका साथै चालु आर्थिक वर्षको शुरूआतबाटै शेयर बजारले पनि ३ हजारको बिन्दु छोएको थियो । शेयर बजार निरन्तर बढ्ने क्रमसँगै शेयर धितो राखेर कर्जा लिने क्रम पनि बढ्दै गएको देखिन्छ ।
वाणिज्य बैंकहरूको शेयर धितो कर्जा प्रवाह
असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कूल शेयर धितो कर्जामध्ये वाणिज्य बैंकहरूले मात्रै ८४ अर्ब २१ करोड रुपैयाँ प्रवाह गरेका छन् । जबकि २०८१ असार मसान्तसम्म वाणिज्य बैंकले ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए । तीन महिनामा वाणिज्य बैंकहरूको शेयर धितो कर्जा प्रवाह करिब १६.४६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूले ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए । त्यस्तै, भदौसम्म यस्तो कर्जा करिब ८ अर्बले बढेर ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ पुगेको थियो भने असोजसम्म आइपुग्दा ८४ अर्ब २१ करोड पुगेको छ ।
विकास बैंकहरूको शेयर धितो कर्जा
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कूल शेयर धितो कर्जामध्ये विकास बैंकहरूबाट १७ अर्ब ३८ करोड २२ लाख प्रवाह भएको छ । जबकि २०८१ असार मसान्तसम्म विकास बैंकहरूले १५ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका थिए ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विकास बैंकहरूले शेयर धितो कर्जामा १ अर्ब ७८ करोड ८४ लाख रुपैयाँको कर्जा प्रवाह बढाएका छन् ।
फाइनान्स कम्पनीहरूको शेयर धितो कर्जामा लगानी
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्स कम्पनीहरूबाट शेयर धितो कर्जामा ४ अर्ब २३ करोड २१ लाख रुपैयाँ लगानी भएको तथ्यांकले देखाउँछ । २०८१ असार महिनासम्म फाइनान्स कम्पनीहरूबाट कूल ४ अर्ब १५ करोड ४६ लाख रुपैयाँ लगानी भएको थियो । साउनदेखि असोजसम्म फाइनान्स कम्पनीहरूले ७७ करोड ५० लाख रुपैयाँ यस्तो कर्जा लगानी बढाएका छन् ।