
सामान्ययता विपक्षी पार्टीले मात्र विरोध प्रदर्शन गर्ने अभ्यासविपरीत सत्तारुढ दल नेकपा एमाले पनि सडकमा ओर्लिने तयारीमा छ ।
प्रमुख सत्तारुढ दल एमालेले जागरण सभा संयोजन समिति नै बनाएर मंसिर ७ गते (भोलि) काठमाडौंको दरबारमार्गमा प्रदर्शनसहितको विशाल सभाको आयोजना गर्न लागेको हो । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा एमालेले दरबारमार्गमा सारेर अराजकताविरुद्ध सन्देश दिन भन्दै शक्ति प्रदर्शनसहितको सभा गर्न लागेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभामा १ लाख नेता कार्यकर्ता उतार्ने दाबी एमालेको छ ।
जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले अराजकताविरुद्ध र स्थिरताको पक्षमा जनमत निर्माणका लागि जागरण सभा गर्न लागेको जानकारी दिए ।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्न जागरण सभा आयोजना गरिएको उनले बताए ।
जुलुस ७ गते शुक्रबार बिहान साढे ११ बजे काठमाडौंको भद्रकालीबाट शुरू भएर साढे १२ बजे दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने एमालेले जनाएको छ ।
सभा संयोजन समितिका सदस्य एवं एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले देशलाई अराजकता लाने पक्ष हावी हुन थालेपछि खबरदारी सभा गर्न लागेको जानकारी दिए ।
‘अहिले देशलाई अराजकताले गाँजेको छ । अदालत मान्दिनँ, प्रहरी र सेना मान्दिनँ, बैंकको ऋण तिर्दिनँ भनेर समाजमा अराजकता फैलाउने र नागरिकमा निराशा बढाउने समूह हावी हुँदै जान थालेको छ,’ ढुंगेलले लोकान्तरसँग भने, ‘तर, देशमा जिम्मेवार दल छन् । सबैथोक बिग्रेजसरी निराश हुने स्थिति छैन । समस्या नआओस् भनेर ठूला दल मिलेर सरकार बनाएका छन् । सत्तारुढ दलको आवाज परिवर्तनको पक्षमा भनेर सभामार्फत सन्देश दिन खोजेका हौं ।’
सत्तारुढ दल भए पनि आफ्नो धारणा सार्वजनिक गर्न पाउने अभ्यास विश्वमा जताततै भएको ढुंगेल बताउँछन् । ‘हामी जिम्मेवार दल हौं । यसैले हामीले आफ्नो धारणा सभामार्फत राख्न पाइँदैन भन्ने छैन,’ उनले भने, ‘भारत, अमेरिका जहाँ पनि सत्ता पक्षले आफ्ना कुरा भन्न यस्तै सभाको सहारा लिन्छन् । त्यसैले हामीले पनि सभामार्फत जनतासामु आफ्नो कुरा पुर्याउन लागेका हौं ।’
अहिले सरकारमा एमालेलाई संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थन छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली तेस्रो दलको रूपमा म्याजिक नम्बर रहेको भन्दै प्रचण्डले खेल्ने र अराजक समूह लोकतन्त्रविरुद्ध लाग्ने स्थिति आएपछि कांग्रेस–एमाले मिल्नुपरेको बताउँछन् ।
‘अहिले मात्रै होइन, ६ सालदेखि परिवर्तनका मुख्य संवाहक कांग्रेस–एमाले हुन् । यी दुई दल प्रतिस्पर्धामा रमाइरहने, तर प्रचण्डले जादू नम्बर खेलाइरहने देखियो,’ ज्ञवालीले भने, ‘यस्तो पटक–पटक भएपछि हामी कांग्रेससँग मिलेर सरकार बनाउने अवस्थामा पुगेका हौं ।’
जिम्मेवार नेता प्रचण्डको यस्ता अभिव्यक्ति, अन्य विभिन्न समूहका नाममा प्रधानमन्त्री केपी ओलीविरुद्धको झुटा लाञ्छनाजस्ता विकृतिविरुद्ध पनि पार्टीले जवाफ दिन खोजेको ज्ञवालीको संकेत छ ।
‘प्रचण्डजी बंगलादेश, श्रीलंका बनाइन्छु भन्ने अभिव्यक्ति दिनुहुन्छ । पहिचानवादीसँग कोशी प्रदेशको नाम मान्दैनौं भन्दै आन्दोलनमा जान खोज्जुहुन्छ,’ ज्ञवालीले भने, ‘भारतीय मिडियासँगको अन्तर्वार्तामा दिएको अभिव्यक्तिले पनि सरकारबाट हटेपछि फेरि सबैखाले तिक्डम अपनाउन प्रचण्ड उद्दत छन् भन्ने देखाउँछ ।’
अराजकता मौलाउने र अलोकतान्त्रिक तत्त्वले खेल्ने स्थिति रहेकाले खबरदारी आवश्यक भएको उनले प्रस्ट्याए ।
प्रमुख वक्ता अध्यक्ष ओली
एमालेको यो जागरण सभाको प्रमुख वक्ता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नै हुने भएका छन् । जागरण सभा संयोजन समितिका सदस्य कैलाश ढुंगेलले प्रदर्शनपछि दरबारमार्गमा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी दिए ।
‘भोलि काठमाडौंमा प्रदर्शनपछि दरबारमार्गमा संक्षिप्त सभा हुनेछ,’ ढुंगेलले लोकान्तरसँग भने, ‘सभामा धेरै वक्ता हुँदैनन्, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल वक्ता हुनुहुन्छ ।’

यस्ता छन् जागरण सभामा एमालेका नारा
एमालेले समृद्ध नेपाल, सुखी नेपाली एमालेको अभियान, शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकता, गाउँगाउँमा विकासको धारा, एमाले जनताको सहारा, गरिबी अन्त्य, समानताको शुरूआतजस्ता नारा अगाडि सारेको छ । त्यस्तै, युवा जागरण, देशको निर्माण, नेतृत्वको अभियान, लोकतन्त्र र जनताको अधिकार, एमालेको कार्यभार भन्ने नारा पनि एमालेले अगाडि सारेको छ ।
अघिल्लो वर्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ मा काठमाडौंमा प्रदर्शन गरेको थियो । यसपटक फेरि पनि ७ गते नै यो अभियानले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । एमालेको जागरण सभा पनि संयोगले मंसिर ७ गते नै तय भएको हो ।
जागरण सभाले पार्टीको दृष्टिकोण र धारणा आमजनताका बीचमा पुर्याउने उद्देश्य लिएको डा. भट्टराई बताउँछन् । प्रसाईंले प्रधानमन्त्रीको फेक डकुमेन्ट सार्वजनिक गर्ने, अराजक अभिव्यक्ति दिने, परिवर्तनविरोधी समूह हाबी हुने भएपछि एमालेले एक लाखसम्म मान्छे उतारेर आफूहरूसँग राम्रो जनाधार रहेको देखाउन खोजेको हो ।
यही बेला मंसिर १६ गते उपनिर्वाचन आएकाले शक्ति प्रदर्शन गरेर एमालेले जनमत देखाउन खोजेको छ ।
‘अहिले मात्रै होइन, ६ सालदेखि परिवर्तनका मुख्य संवाहक कांग्रेस–एमाले हुन् । यी दुई दल प्रतिस्पर्धामा रमाइरहने, तर प्रचण्डले जादू नम्बर खेलाइरहने देखियो,’ ज्ञवालीले भने, ‘यस्तो पटक–पटक भएपछि हामी कांग्रेससँग मिलेर सरकार बनाउने अवस्थामा पुगेका हौं ।’
एमालेले जागरण सभा गर्ने स्थान परिवर्तन
एमालेले जागरण सभा गर्ने स्थान पनि परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा अब दरबारमार्गमा हुने एमालेले जनाएको छ ।
जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा हुन लागेको सभा अब दरबारमार्गमा हुने जानकारी दिए ।
संयोजन भट्टराईले गर्ने भए पनि एमालेले यो कार्यक्रमका लागि महासचिव शंकर पोखरेलले कार्यक्रमको डिजाइन गरिरहेका छन् । कात्तिक २८ गते पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठक महासचिव पोखरेलकै अध्यक्षतामा बसेको थियो ।
बैठकले जागरण सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको थियो । समितिको सहसंयोजकमा कैलाश ढुंगेल र सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल र जनक चौधरी रहेका छन् ।