
ढुवानीको प्रमुख साधन ट्रक देशभर ५५ हजारभन्दा बढी छन् । टिप्परसहितको संख्या जोड्दा यो आँकडा ८० हजारभन्दा बढी हुन आउँछ ।
मालबाहक सवारीका लागि देशमा अहिलेसम्म छुट्टै पार्किङस्थल बन्न सकेको छैन । मुलुकभरका हाइवे, बजार, पेट्रोल पम्प, गल्ली–गल्लीमा ट्रक पार्किङ गरिँदा बजार क्षेत्र अस्तव्यस्त हुनुका साथै दुर्घटना बढ्दै गएको छ ।
हरेक वर्षजसो सडक किनारामा रोकिराखिएका ट्रक/टिप्परमा अन्य सवारी ठोक्किएर दुर्घटना र क्षति बढ्दै गए पनि यससम्बद्ध पक्ष अहिलेसम्म गम्भीर बन्न सकेको देखिँदैन । यसको मुख्य कारण ट्रक र टिप्परका लागि व्यवस्थित पार्किङ स्थल नहुनु हो ।
राजमार्गमा कतै पनि ट्रक पार्किङका लागि ठाउँ निर्धारण गरिएको छैन । सरकारसँग एकीकृत गोदामसहित ट्रक पार्किङ बनाइदिन आग्रह गरे पनि चासो नदिएको गुनासो व्यवसायीको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल देशमा ठूलो संख्यामा ट्रक र टिप्पर भएपनि यिनलाई पार्किङ गरेर राख्ने पूर्वाधार बन्न नसकेको बताउँछन् ।
‘यात्रुबाहक बसहरू निश्चित ठाउँमा राख्न देशभर बसपार्क बनेका छन्,’ पोखरेल भन्छन्, ‘तर, ट्रक पार्क र टिप्पर पार्क नबन्दा सडकमै र सडक छेउछाउमा रोक्नुपर्ने बाध्यताका कारण दुर्घटना हुने गरेको छ ।’

पूर्व पश्चिम राजमार्गमा कम्तीमा बुटवल/भैरहवा, हेटौंडा र विराटनगरमा एक–एक तथा काठमाडौं आसपासमा अर्को गरी कम्तीमा चारवटा सुविधासम्पन्न ट्रक पार्क बनाउनुपर्छ भनेर सम्बन्धित निकायमा माग गरे पनि सुनुवाइ नभएको पोखरेलले गुनासो गरे । पार्किङ नभएपछि जहाँ खाली ठाउँ भेटिन्छ, त्यहीँ पार्क गर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरूको गुनासो छ ।
बस पार्कजस्तै स्नान गृह, चालक आराम गर्ने विश्राम गृह, शौचालयसहित व्यवस्थित ट्रक पार्क जरुरी देखिन्छ । राजमार्गमा सवारी चाप बढ्दै गएपछि सडक छेउछाउमा पार्किङ गरिएका सवारीमा अर्को सवारी ठोक्किने क्रम पनि बढ्दै गएको छ । पछिल्लो वर्ष कोशी र बागमती सरकारले क्रमशः विराटनगर र हेटौंडामा ट्रक पार्क बनाउन केही बजेट विनियोजन गरे पनि जग्गा उपलब्ध नभएपछि काम अघि बढेको छैन । लुम्बिनी प्रदेशले अहिलेसम्म त्यो विषयमा योजना समेत अघि सार्न सकेको छैन ।
पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समिति बुटवलका अध्यक्ष टीकाराम गौतमले आफूहरूको आवाज कहिल्यै सुनुवाइ नभएको गुनासो गरे । उनका अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुमा मात्रै ५ हजार बढी ट्रक रहेका छन् । तर, पार्किङ स्थल नहुँदा राजमार्गमा सडक किनार, पेट्रोल पम्पहरू, मैनाबगर, पड्सरीलगायतका ठाउँमा पार्किङ हुने गरेको छ ।
देशको दोस्रो ठूलो नाका बेलहियाबाट मालबाहक भारतीय र नेपाली गरी दैनिक भित्रिने ट्रक यही बाटोको दायाँबायाँ पार्किङ गरिएका हुन्छन् । पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिले भैरहवा–परासी सडक खण्डमा पर्ने नेपाल आयल निगमको डिपोस्थल नजिकै नदीको बगर क्षेत्रमा ट्रक पार्क बनाउन सकिने सुझाव सरकारी निकायलाई दिएको तर कुनै प्रतिक्रिया नआएको गौतमले बताए ।

ट्रक पार्क बनेको खण्डमा सडकमा रोकिने ट्रकका कारण हुने दुर्घटना कम हुने र आफूहरूले सरकारले तोकेको भाडादर पाउन पनि सहज हुने अध्यक्ष गौतम औंल्याउँछन् । सडक किनारमा सवारी साधन पार्क गर्न सरकारले निषेध गरेको छ । तर, कतिपय स्थानमा प्रहरीले अवैध असुल गरेर पनि जोखिमपूर्ण रूपमा सडक किनारमा ट्रक रोक्न दिने गरेको छ ।
सुरक्षित यात्रा अभियानकर्मी कृष्णप्रसाद बेल्वासेले मालबाहक सवारी चालकलाई सडक छेउमा गाडी रोक्दा हुने जोखिम र त्यसबाट बच्ने उपायबारे सचेतना जगाउन आवश्यक रहेको बताए ।
‘प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी पाएको मन्त्रालयमातहत रहेको यातायात व्यवस्था महाशाखाले मालबाहक सवारी पार्किङको पहल गर्न ढिलाई हुँदैन,’ बेल्वासे भन्छन्, ‘अटोल्यान्ड, सुरक्षित बाहनको आयात र आधुनिक यातायात प्रशासनजस्ता विषयलाई प्राथमिकतामा राखेर काम गरिनुपर्छ । नेपालको सडक दुर्घटनामा दैनिक सरदर ७ जनाको मृत्यु भएको तथ्यांकले देखाउँछ । यही अवस्था रहेमा अझै कति नेपालीलाई अकाल मृत्युको मुखमा पुर्याउँछ, भन्न सकिँदैन ।’

प्रहरीको तथ्यांक अनुसार देशभर दैनिक करिब ७० सवारी दुर्घटना हुने गर्छन्, जसमध्ये ३० वटा ढुवानी, निर्माण र कृषि कार्यमा प्रयोग हुने सवारी साधन छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्वअध्यक्ष अर्जुन रानाभाटले राज्यले आफूहरूको आवाज कहिल्यै सुनुवाइ नगरेको बताए ।
‘यत्रतत्र ट्रक पार्किङले सबैलाई असर गरेको छ,’ रानाभाट भन्छन्, ‘राज्यले हरेकको लगानी सुरक्षित गर्नुपर्ने हो, तर त्यस्तो अहिलेसम्म देखिएको छैन । आवश्यकता खड्किएको क्षेत्रमा राज्यले हेर्नुपर्ने हो, त्यो पनि देखिएन ।’
‘काठमाडौंमा १ हजारदेखि १५ सय वटासम्म ट्रक अट्न सक्ने पार्किङ आवश्यक छ । बुटवल/भैरहवा क्षेत्रमा कम्तीमा ७०० वटा ट्रक अट्ने पार्किङ बनाइहाल्नुपर्छ । औद्योगिक नगरीमा पनि त्यहाँको आवश्यकता हेरेर पार्किङ बनाउनुपर्छ,’ रानाभाटले थपे ।
नेपाली ट्रकमा भारबहन क्षमता लागू छ । तर, भारतीय ट्रक विना रोकतोक ४० देखि ५० टन बोकेर गुडिरहेका छन् । जसले गर्दा नेपाली व्यवसायी संकटमा परेको पोखरेलले गुनासो गरे ।
ओभरलोडका भारतीय ट्रकले नेपालको सडकलाई समेत जीर्ण बनाएका छन् । भारतीय ट्रक ७२ घण्टाका लागि नेपाल प्रवेश पाउँछन् । ७२ घण्टामा देशभर घुम्न सक्छन् ।