
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपु्ग्छन् ।
उनी बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक डसना बनाउने कार्यमा सक्रिय बन्छन् ।
मन्सुरीको दैनिकी अहिले सिरक र डसना बनाउने कार्यमै बित्ने गरेको छ । केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ ।
उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोबारमा वृद्धि भएको व्यापारीले बताएका छन् । चिसोका बेला आवश्यक पर्ने सिरक, डसना, रुवा, कुर्ता सुरुवाल, टोपी, बल्याङकेटलगायत लुगाको कारोबारमा वृद्धि भएको इनरुवा–१ स्थित साडी महलका सञ्चालक शम्भु मेहताले बताए ।
सिरक डसना बनाउनको सङ्ख्यामा वृद्धि भएको भोक्राहा–५ का खालीद मन्सुरीले बताए । इनरुवा, इटहरी, रामधुनी, झुम्का, धरान, बराहक्षेत्रलगायत स्थानमा दैनिक रूपमा २० लाखभन्दा बढीको न्यानो लुगाको कारोबार हुने गरेको उद्योग वाणिज्य संघ इनरुवाका सहसचिव गौतम झाले जानकारी दिए ।
इनरुवामा करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यापारीले बताएका छन् । तयारी पोसाकमा ज्याकेट, स्वीटर, गल्बन्दी, टोपी, ट्रयाक्सुट, जम्फरलगायतको बिक्री बढ्नुका साथै सिरक डसना बनाउने क्रम बढेको व्यवसायीले बताएका छन् ।
चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्य वृद्धि गरेको स्थानीय उपभोक्ता चन्दन मेहताको गुनासो छ ।