१२ असार २०८३, शुक्रबार
सिमानाको क्रिकेट सपना

क्रिकेटमा भविष्य खोजिरहेकी सिमाना : स्याङ्जाको पुतलीबजारदेखि विश्वकपको मैदानसम्म

मंसिर ८, २०८१
पाेखरा
क्रिकेटमा भविष्य खोजिरहेकी सिमाना : स्याङ्जाको पुतलीबजारदेखि विश्वकपको मैदानसम्म

नेपाली महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्न थालेको १७ वर्ष भयो। सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको नेपाली महिला क्रिकेट टोलीको विश्वकप खेल्ने सपना भने १७ वर्षसम्म अधुरै रहन पुग्यो। 

तर, अब प्रतीक्षाको घडी सकिएको छ। १७ वर्षदेखिको विश्वकप सपना पूरा गर्दैछन्, यू–१९ का महिला टोलीले। २०२५ को जनवरीमा मलेसियामा हुने यू–१९ टी–२० महिला विश्वकपमा नेपाली टोलीले सहभागिता जनाउँदैछ।

१३ अक्टोबरमा (कात्तिक २८ गते) भएको खेलमा परम्परागत प्रतिद्वन्द्वी यूएईलाई घरेलु मैदानमा ८ विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले विश्वकपमा स्थान सुरक्षित गर्दै इतिहास रच्यो। र, इतिहास रच्ने टोलीकी एक सदस्य हुन् १८ वर्षीया सिमाना केसी। विश्वकपका लागि क्रिकेट टोलीले इतिहास रच्दा लिएको ८ विकेटमा २ विकेट उनै सिमानाको थियो।

विश्वकप खेल्नका लागि तयार भएकी सिमानाको खेलप्रतिको चासो क्रिकेटबाट शुरूआत भएको भने होइन। 

स्याङजाको पुतलीबजार-१३ दियालोकी सिमाना सानोमा भलिबल र फुटबल खेल्थिन्। खेलप्रतिको लगाव २०७६ मा क्रिकेटतर्फ मोडियो। ९ कक्षामा पढ्दै गर्दा विद्यालय छेउको मैदानमा उनलाई अनुज गोदारले क्रिकेटमा डेब्यू गराए। 

फुटबल खेल्ने ग्राउन्डमा उनले ब्याट समाइन्। त्यसपछि उनको हातबाट ब्याट आजपर्यन्त छुटेको छैन। खेल्ने मैदान मात्र बदलियो। तर, खेल सपना बदलिएन। विद्यालयको मैदानदेखि प्रतियोगिताको मैदानसम्म उनी क्रिकेटमा रमाइरहिन्।

‘सानैदेखि स्पोर्टसमा बढी रूचि हुन्थ्यो। म फुटबल, भलिबल खेलिरहन्थें। पछि,अनुज-विक्रम दाइ आएर क्रिकेट बुझाउँदै र सिकाउँदै गर्दा धेरै रूचि क्रिकेटमा भयो’, सिमानाले भनिन्।

उनको रूचिले छक्का मार्दै गयो। जिल्लादेखि प्रदेश हुँदै उनी नेपालका लागि अन्तर्राष्ट्रिय खेल खेल्ने भइन्। २०७७ सालमा दाङमा भएको प्रधानमन्त्री कपमा नेपाली टोलीमा डेब्यू गरेकी उनको पहिलो खेल हारको रूपमा स्मरणमा रह्यो। तर, उनले आफूभित्रको क्रिकेट सपनालाई हार्न दिइनन्।

दुई वर्षअघि प्रदेश प्रतियोगिता उनकै टोली उत्कृष्ट बन्यो। यो रूचि र सपनामा परिवारले साथ दिइरह्यो। विद्यालयस्तरमा प्रतियोगिता हुँदा उनले 'मस्ट भ्यालुएबल' खेलाडीको सर्टिफिकेट र पुरस्कार पाएकी थिइन्। त्यसपछि परिवारले बुझ्यो छोरीको क्षमता। अनि, अभिभावक नै उनलाई सुझाव दिन थाले –‘खेलमा रूचि छ भने एउटै खेलमा ध्यान देऊ।’ त्यसपछि उनी पूर्ण रूपमा क्रिकेटर बनिन्।

null

अभिभावकको यो आडले उनलाई मैदानमा बलियो गरी ब्याट समाउने हौसला मिल्यो। उनी खेल्दै गइन्। जिल्लाको टिममा छनोट भइन्। क्याप्टेनको जिम्मेवारी सम्हालिन्। उनले कल्पना गरेकै थिइनन्, गाउँको सानो मैदानमा समाएको ब्याटले एकदिन विश्वकपको ढोका खोल्छ भनेर।

‘शुरूको चरणमा सोचेको पनि थिइनँ, यस्तो हुन्छ भनेर। हामी अन्तर्राष्ट्रिय खेल्छौं, छनोट हुन्छ भनेर।  खेल्दै गएपछि जिल्लामा छनोट भएँ। प्रदेशमा भएँ। अनि, अझ धेरै गर्न सक्छु भनेर मिहिनेत गर्दै गएँ’, सिमानाले सुनाइन्।  

आफ्नो सफलताका पछाडि विद्यालयका प्रधानाध्यापक परिवर्तन तिवारीको पनि उत्तिकै साथ रहेको सिमाना सुनाउँछिन्। 

‘परिवारको सपोर्ट थियो। त्योभन्दा पनि धेरै मेरो स्कुलको प्रिन्सिपल परिवर्तन तिवारीले सपोर्ट गर्नुहुन्थ्यो। अनुज दाइ, विक्रम दाइले शुरूको चरणमा धेरै साथ दिनुभयो। त्यसैले गाह्रो भएन’, उनले भनिन्। 

खेल शुरू गरेको एक वर्षमा नै उनी २०७७ सालमा प्रदेशको टिममा छनोट भइन्। सोही वर्ष राष्ट्रिय टोलीमा डेब्यू गरिन्। खेलसँगै आफ्नो पढाइलाई निरन्तरता दिएकी सिमाना बीबीए दोस्रो सेमेष्टरमा अध्ययनरत छन्। सिमानाको मिहिनेतले आज उनी चिनिएकी छन्। उतारचढाव र निरन्तरको लगनशीलताले सफलता पाउँदा सन्तुष्ट छन्, सिमाना। 

यहाँसम्म आइपुग्दा उनले मीठा-नमीठा सबै क्षण भोगेकी छन्। खेलमा हुने हारले सिकाउँछ। सिमानालाई त्यो सिकाई मैयादेवी कपले दिएको छ। र, जीतको स्वाद पनि चाखेकी छन्- सुदूरपश्चिमा भएको यू-१९ खेलमा गण्डकीका लागि जीत दिलाएर। 

धनगढीमा मुख्यमन्त्रीकप यू-१९ मा उनीसहितको गण्डकीको टोलीले कर्णाली प्रदेशलाई तीन विकेटले हराउँदै ट्रफी उचालेको क्षण उनका लागि विशेष छ। र, त्यो भन्दा विशेष क्षण बन्यो, विश्वकप छनोटका लागि यूएईमा भएको खेल। जो उनको पहिलो अन्तर्राष्ट्रिय खेल पनि थियो। 

‘त्यो खेल मेरो पहिलो अन्तर्राष्ट्रिय खेल थियो। त्यो क्षणमा म निकै खुशी भएँ। मेरो परिवार पनि एकदम खुशी थियो’, सिमानाले भनिन्, ‘मैले क्रिकेटमै भविष्य देखेको छु। मेरो समय यसैमा इन्भेष्ट गरेको छु।’ 

दुई महिनापछि मलेसियामा हुने विश्वकपका लागि उनी निकै आशावादी छन्। ‘टिम एकदम राम्रो छ। सबै पोजेटिभ छौं। भर्खर हामीले राम्रो प्रस्तुति देखाएर राम्रो नतिजा लिएर आयौं। यसलाई निरन्तरता दिन कोसिस गर्नेछौं’, आत्मविश्वासी सुनिइन् सिमाना। 

salt training

कमेन्ट गर्नुहोस्