
स्थानीय तहमा रिक्त ४१ पदमा हुने उपनिर्वाचन आउन अब एक साता पनि बाँकी छैन । अर्को आइतबार अर्थात् मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
२०७९ मा निर्वाचन भएको साढे २ वर्ष अर्थात् ठ्याक्कै आधा कार्यकाल सकिएपछि दलहरू पुनः शक्ति परीक्षणमा होमिन लागेका छन् ।
४१ पदमध्ये कीर्तिपुर नगरपालिकाको प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचन हुँदैछ । रिक्त पदमध्ये पालिका प्रमुखका निर्वाचन हुन लागेका यी ३ पालिका मात्र हुन् ।
यी तीनै पालिकामा ठूला दलहरूले तालमेल नगरी आ–आफ्नो हिसाबले चुनाव लडेका थिए । अघिल्लोपटक यी तीनवटै पालिका प्रमुख नेपाली कांग्रेसले जितेको थियो । एक्लै चुनाव लड्दा पनि कांग्रेसले तीनवटै पालिकाको प्रमुख र अध्यक्षमा जीत हात पारेको थियो ।
संयोगले तीनै पालिकाको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले थियो । कीर्तिपुर र ग्रामथानमा माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा आएका थिए । महाबुमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार तेस्रो भएका थिए ।
केन्द्र र प्रदेशको सत्तामा सँगै रहे पनि कांग्रेस र एमालेले तीनवटै पालिका प्रमुखमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवार अगाडि सारेका छन् । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा भने एमाले उम्मेदवार कांग्रेसको रूख चिह्नबाट चुनाव लड्दैछिन् ।
माओवादीको प्रभाव रहेकाले यहाँ कांग्रेसले उम्मेदवारी नदिई आफ्नो चुनाव चिह्नबाट एमालेलाई समर्थन गरेको हो । तर, यो बाहेक निर्वाचन हुने अन्य पदमा कांग्रेस र एमालेका आ–आफ्ना उम्मेदवार मैदानमा छन् । सत्तामा सँगै भए पनि चुनावी प्रतिस्पर्धा गरेर जाने दुवै दलको भनाइ छ ।
कहाँ कस्तो थियो प्रतिस्पर्धा ?
कीर्तिपुर नगरपालिका
२०७९ सालमा कांग्रेसका राजकुमार नकर्मीले कीर्तिपुरमा ९०४३ मत प्राप्त गरेर प्रमुख पद जितेका थिए । उनले ३५३६ मतले एमाले उम्मेदवार केशरत्न बज्राचार्यलाई पछाडि पारेका थिए । बज्राचार्यको ५५०७ मत आएको थियो ।
माओवादी केन्द्रका शिवशरण महर्जनले ४०९० मत ल्याएका थिए । नेकपा एकीकृत समाजवादीका बटुकृष्ण थापाको ११५३ मत आएको थियो ।
स्थानीय तहको निर्वाचनमा एमालेभन्दा १४०७ मत मात्रै कम आएको थियो । कीर्तिपुरमा अघिल्लोपटक राप्रपाका जीतबहादुर विष्टले ५७२, नेमकिपाका श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र मनोज बुढाथोकीले ५३२ मत प्राप्त गरेका थिए ।
कीर्तिपुर नगरपालिका समेत रहेको काठमाडौं– १० बाट २०६४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए ।
त्यसपछि २०७०, २०७४ र २०७९ मा यो क्षेत्रबाट कांग्रेसका राजेन्द्रकुमार केसी प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन् ।
यसपटक पनि प्रमुख दल एक्लाएक्लै प्रतिस्पर्धामा
प्रमुख नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनमा प्रमुख दलहरू फेरि एक्लाएक्लै चुनावी प्रतिस्पर्धा उत्रिँदैछन् ।
अर्थात् कांग्रेस, एमाले, माओवादीसहितका दलका ९ र स्वतन्त्रतर्फ ११ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेकपा एकीकृत समाजवादीले माओवादी उम्मेदवारलाई समर्थन गर्ने भनिए पनि अझै उम्मेदवारी फिर्ता लिएको छैन ।
अघिल्लोपटक प्रमुख दलबीच प्रतिस्पर्धा भएको थियो । यसपटक नयाँका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिका मेयर बालेन साहका घोषित उम्मेदवार कीर्तिपुरमा छैनन् । उम्मेदवारी दिने अन्तिम तयारीबाट रास्वपा ब्याक भएको थियो । बालेनको टीमले उम्मेदवार नउठाउने र कसैलाई पनि समर्थन नगर्ने जनाएको छ ।
तर, सफाइ अभियानकर्मी राजमान महर्जनसहितले दलीय उम्मेदवारलाई चुनौती दिने तयारी गरेका छन् । राजमानले अन्य स्वतन्त्र उम्मेदवारसँग मिलेर परम्परागत दललाई चुनौती दिने तयारी गरेका छन् । उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको घोषित समर्थन छ । कीर्तिपुरमा कांग्रेसले आफ्नो पुरानो पकड जोगाउन खोज्दा प्रतिस्पर्धी दल एमाले र माओवादीले चुनौती दिने बताएका छन् ।
यी हुन् कीर्तिपुरका २० उम्मेदवार
दलगत उम्मेदवार – ९
एमाले – डा. सुरेन्द्र मानन्धर
कांग्रेस – कृष्णमान डंगोल
माओवादी – प्रा.डा. शिवशरण महर्जन
जसपा नेपाल तेस्रोलिंगी (यौनिक अल्पसंख्यक) दीपक महर्जन (हनी)
राप्रपा – ध्रुव महर्जन
जनमत – केशव श्रेष्ठ
नेपाल समाजवादी पार्टी – दिलकुमार महर्जन
नेकपा एस – भानु रिजाल
नेमकिपा – श्रीकृष्ण महर्जन
स्वतन्त्र – ११
राजमान महर्जन, दिनेशकुमार अधिकारी, नवरथकुमार बानियाँ, आनन्द महर्जन, कविकुमार महर्जन, रामकृष्ण महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मीम महर्जन, प्रेमबहादुर महर्जन र धर्मरत्न मानन्धर
दैलेखेको महाबु गाउँपालिका
२०७९ को स्थानीय तहमा निर्वाचनमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लछुमन गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए । गुरुङले २९७९ मत ल्याउँदा एमालेका हरिप्रसाद उपाध्यायले २५११ मत प्राप्त गरेका थिए । कांग्रेसका गुरुङ ४६८ मतान्तरले विजयी भएका थिए । त्रिपक्षीय प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत प्राप्त गरेका थिए ।
महाबुमा यसपटक पनि प्रमुख दलबीच नै प्रतिस्पर्धा
महाबुमा यसपटक दलीय उम्मेदवारी मात्रै परेको छ । उपनिर्वाचनका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । अघिल्लोपटकजस्तै यसपटक पनि प्रमुख दलहरू तालमेल नगरी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।
कांग्रेसले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउँदा एमालेले नेकपा एकीकृत समाजवादी छाडेका शाहीलाई उम्मेदवार बनाएको हो । शाही अघिल्लोपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए ।
उनले कांग्रेस र एमाले उम्मेदवारलाई चुनौती थिए । यसैले पार्टीमा भित्र्याएर एमालेले शाहीलाई उम्मेदवार बनाएको हो । शाही २०७४ सालमा पनि महाबुको अध्यक्षमा निर्वाचित भएका थिए ।
कुन दलबाट को उम्मेदवार ?
कांग्रेस – झलकबहादुर भण्डारी
एमाले – जंगबहादुर शाही
माओवादी केन्द्र – जंगबहादुर बराल मगर
राष्ट्रिय स्वतन्त्र पार्टी – प्रकाशबहादुर बुढा
नेकपा एकीकृत समाजवादी – जगतबहादुर हमाल
राप्रपा – सुर्जे रावत
नेमकिपा – दुर्गबहादुर मगर
मोरङको ग्रामथान गाउँपालिका
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट जयप्रकाश गच्छदार विजयी भएका थिए । गच्छदारले ७६०५ मत ल्याएका थिए । एमालेका शिवनारायण माझीले ६०९३, माओवादीका विजयकुमार सरदारले २७२७ र राप्रपाका पखुला विश्वासले ४४६ मत पाएका थिए ।
यसपटक पनि प्रमुख दल नै प्रतिस्पर्धामा
अध्यक्षमा जितेका गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
यसपटक ग्रामथानको अध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएकोमा सबैको उम्मेदवारी कायम भएको छ, जसमा १५ दलीय र एक स्वतन्त्र उम्मेदवार छन् । अघिल्लोपटक जस्तै यसपटक पनि ग्रामथानमा प्रमुख पार्टीका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । कुनै पनि दलले चुनावी तालमेल गरेका छैनन् ।
अध्यक्षमा कांग्रेसबाट बलराम सरदार उठ्दा एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । विश्वास २०७९ को निर्वाचनअगाडि मात्रै कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए ।
माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ । माझी पनि तीन महिनाअघि मात्रै कांग्रेस छोडेर माओवादीमा पुगेका हुन् । यसैले प्रमुख तीन पार्टीकै उम्मेदवारको पृष्ठभूमि एउटै छ ।
अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार खवासको उम्मेदवारी परेको छ । प्रमुख तीन पार्टीकै उम्मेदवारको पृष्ठभूमि कांग्रेस भएकाले पनि ग्रामथानको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
ग्रामथानमा को–को छन् उम्मेदवार ?
कांग्रेस – बलराम सरदार
एमाले – तुलसीराम विश्वास
माओवादी – नमोनारायण माझी
राप्रपा – दिनेशकुमार थन्दार
राष्ट्रिय स्वतन्त्र पार्टी – नवीनकुमार चौधरी
जसपा – धमेन्द्रकुमार चौधरी
नेपाल मजदुर किसान पर्शुराम विश्वास थारु
मंगोल नेशनल अर्गनाइजेसन –भरत राई
नेपाल समाजवादी पार्टी – रामकुमार चौधरी
जनमत पार्टी – विनोदकुमार माझी
नागरिक उन्मुक्ति पार्टी – बुद्धिचन विश्वास
नेकपा एकीकृत समाजवादी – दिलबहादुर विश्वकर्मा
राप्रपा नेपाल –राजु मुसहर
जसपा नेपाल – सुरेशकुमार राजवंशी
समावेशी समाजवादी पार्टी नेपाल – बोधनारायण माझी
स्वतन्त्र – नमनारायण चौधरी थारू