०७ असार २०८३, आइतबार

गर्भवती महिलालाई चाहिन्छ शुद्ध हावा, चिकित्सकको सल्लाह- घरमा दुईवटा बिरुवा रोप्नुहोस्

मंसिर १०, २०८१
काठमाडौं
गर्भवती महिलालाई चाहिन्छ शुद्ध हावा, चिकित्सकको सल्लाह- घरमा दुईवटा बिरुवा रोप्नुहोस्

गर्भावस्था महिलाका लागि रोमाञ्चक, उत्सुक र संवेदनशील समय हो । यस्तो समयमा गर्भवती महिलाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । हुन त हरेक मान्छेले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । तर, गर्भावस्था यस्तो संवेदनशील समय हो जहाँ दुई जीवनका लागि ध्यान दिनुपर्ने हुन्छ । 

शुद्ध हावा हरकोहीका लागि जरुरी छ । हावा शुद्ध भएन भने स्वास्थ्यमा विभिन्न समस्या ल्याउँछ । यसैमा गर्भवती महिलाका लागि झन् स्वस्थ हावा चाहिन्छ । प्रदूषणका कारणले शुद्ध हावा नपाउनु आमा र गर्भस्थ शिशु दुवैका लागि हानिकारक हुन्छ । 

राजधानी काठमाडौंलगायत ठूला शहरहरूमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा यसले गर्भवती महिलाहरूमा श्वासप्रश्वासका समस्या र शिशुमा गम्भीर स्वास्थ्य जोखिमको सम्भावना बढाएको छ । 

शुद्ध हावाको महत्व
विशेषज्ञहरूका अनुसार, गर्भवती महिलाका लागि ताजा हावा अत्यन्तै आवश्यक हुन्छ। वायु प्रदूषणको असरले शिशुको विकासमा अवरोध पुर्‍याउन सक्ने भएकाले घरभित्रको हावाको गुणस्तर सुधार गर्न जरुरी छ। चिकित्सकहरूले घरमा बिरुवा रोप्नाले वायु शुद्ध गर्न मद्दत पुग्ने र गर्भावस्थालाई स्वस्थ बनाउन सहयोग पुग्ने बताएका छन्।

घरमा लगाउन उपयुक्त बिरुवाहरू
जीजी प्लान्ट (जामिया जामीफोलिया):गर्भवती महिलाले घरमा जीजी प्लान्ट रोप्न विशेषज्ञहरूले सल्लाह दिएका छन्। यो बिरुवा वायुमण्डलमा रहेका जाइलीन, टोल्युनी र बेञ्जीनजस्ता विषाक्त तत्वलाई हटाएर हावालाई शुद्ध बनाउन मद्दत गर्छ। यसलाई धेरै हेरचाहको आवश्यकता पर्दैन, जसले गर्दा यो व्यस्त जीवनशैली भएका व्यक्तिहरूका लागि पनि उपयोगी मानिन्छ।

पीस लिली :घर वा कार्यस्थलमा पीस लिली राख्न सुझाव दिइएको छ। यो प्राकृतिक वायु शुद्धीकरणको गुण भएको सजावटी बिरुवा हो। यसले कार्बन मोनोअक्साइडजस्ता हानिकारक तत्वलाई अवशोषण गरी घरभित्रको हावालाई शुद्ध राख्छ। यसले गर्भवती महिलालाई पर्याप्त अक्सिजन प्राप्त गर्न मद्दत पुर्‍याउने विज्ञहरूले बताएका छन्।

चिकित्सकहरूका अनुसार, श्वासप्रश्वासका समस्या भएका गर्भवती महिलाहरूले यी बिरुवाहरू आफ्नो घरमा राख्नुपर्ने हुन्छ। यी बिरुवाहरूले वायुमण्डलका प्रदूषक ग्यासहरू हटाएर शुद्ध अक्सिजन उत्पादन गर्छन्।

यदि जीजी प्लान्ट र पीस लिली उपलब्ध नभए, गर्भवती महिलाले घरमा सान्सेभेरिया, एन्थुरियम, चाइनीज एभरग्रीन र स्पाइडर प्लान्टजस्ता अन्य बिरुवाहरू रोप्न सकिन्छ। यी बिरुवाहरूले पनि घरभित्रको हावाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरूले बताएका छन्। 

कमेन्ट गर्नुहोस्