३० असार २०८३, मंगलबार

अस्पतालका फार्मेसीले औषधि छैन भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

मंसिर १२, २०८१
चितवन
अस्पतालका फार्मेसीले औषधि छैन भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताएका छन् । 

मन्त्री पौडेलले बुधबार चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’को सेवा आरम्भ एवं निरीक्षण तथा अनुगमनपछि आयोजित अन्तक्रियामा अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताएका छन् । 

उनले भने, 'अस्पतालमा सबै औषधि उपलब्ध हुनपर्छ कुनै पनि औषधि छैन भनेमा त्यो अब गैरकानूनी ठहर्दछ ।'  

अस्पतालले आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्दा अस्पताललाई नै नाफा हुने भन्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा उपलब्ध भएको औषधि पक्कै पनि अन्यत्रभन्दा सस्तो हुनेहुँदा सेवाग्राहीलाई पनि सजिलो हुने बताए ।

अस्पतालको सबै फार्मेसीमा औषधि उपलब्ध गराउनका लागि मन्त्रालयले योजनाका साथ काम गर्दै आएको मन्त्री पौडेलले जानकारी दिए । उनले अस्पतालको फार्मेसीमा पाइने सबै औषधिहरूको मूल्य पनि प्रष्टसँग देखिनेगरी टाँस गर्नुपर्ने भन्दै सेवाग्राहीले औषधि किन्दा मूल्य हेरेर किन्ने अवस्था हुनुपर्ने बताए । देशका सबै सरकारी अस्पतालको सेवामा एकरूपता ल्याउनेगरी काम गर्दै आएको मन्त्री पौडेलले बताए । 

मन्त्री पौडेलले अस्पतालको सेवामा दुई सिफ्ट लागू गरिएका सन्दर्भमा तेस्रो सिफ्ट पनि सञ्चालनको तयारीमा लागेको भन्दै र यसका लागि जनशक्तिको व्यवस्थापनमा आफूहरू लागेको जानकारी दिए । भएका जनशक्तिको परिचालन गरेर धेरै सेवा दिनुपर्नेमा मन्त्री पौडेलको भनाइ छ ।

स्वास्थ्य सेवा सधैँ गुणस्तरीय मात्रै हुनपर्ने भन्दै उनले अस्पतालले कुनै पनि बहाना बनाएर सेवा दिन कञ्जुस्याइँ गर्न नहुने बताए । 

'कुनै पनि उपकरण बिग्रिएको छ भनेर सेवा बन्द गर्न पाइँदैन, यसको वैकल्पिक व्यवस्था अस्पतालले गर्नुपर्दछ', मन्त्री पौडेलले भने । 

salt training

कमेन्ट गर्नुहोस्