
इजरायल र लेबनानी लडाकू समूह हिजबुल्लाहबीच बुधबार बिहानदेखि लागू भएको युद्धविराम सम्झौतालाई विश्वका नेताहरूले स्वागत गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र लेबनानबीचको युद्धविरामले इजरायललाई इरान समर्थित लडाकू समूह हिजबुल्लाहको खतराबाट जोगाउने र ‘स्थायी शान्ति’को वातावरण सिर्जना गर्ने बताएका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युद्धविरामले तत्कालका लागि हिंसाको अन्त्य गरेको र यो ‘स्थायी शान्ति’मा परिणत हुने विश्वास व्यक्त गरेका छन् ।
'आजको घोषणाले लेबनानमा जारी युद्ध अन्त्य गर्नेछ र इजरायललाई हिजबुल्लाह र लेबनानबाट सञ्चालित अन्य आतङ्कवादी सङ्गठनको खतराबाट जोगाउनेछ', अमेरिकी राष्ट्रपति बाइडेन र उनका फ्रान्सेली समकक्षी म्याक्रोँद्वारा जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
संयुक्त राज्य अमेरिका र फ्रान्सले ‘यो व्यवस्था पूर्णरूपमा कार्यान्वयन सुनिश्चित गर्न’ सहयोग गर्नेछन् र लेबनानी सेनाको ‘क्षमता–निर्माण’ को लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गर्नेछन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनलाई युद्धविराम सम्झौतामा सहजीकरण गरेकोमा धन्यवाद दिएका छन् ।
नेतन्याहूको कार्यालयले दिएको जानकारीअनुसार ‘इजरायलले यसलाई लागू गर्न आफ्नो कार्यगत स्वतन्त्रतालाई प्रयोग गर्नेछ भन्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ र बुझाइको नेतन्याहुले प्रशंसा गरेका छन् ।
इजरायलले सम्झौतालाई अनुमोदन गर्नुअघि नेतन्याहूले युद्धविरामको अवधि लेबनानमा के हुन्छ त्यसमा निर्भर गर्दछ र युद्धविरामले इजरायललाई हमासमाथि ‘दबाब बढाउन’ र ‘इरानी खतरा’ मा ध्यान केन्द्रित गर्न अनुमति दिने बताएका थिए ।
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले युद्धविराम यस क्षेत्रमा स्थिरता कायम गर्ने दिशामा ‘आधारभूत कदम’ भएको बताएका छन् ।
मिकातीले यसद्धबिराममा फ्रान्स र अमेरिकाको पहलकाका लागि धन्यवाद दिँदै दक्षिणमा सेनाको उपस्थिति लाई मजबुत बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए।
यसैबीच, हिजबुल्लाह र हमास दुवैको समर्थक इरानले युद्धविराम लागू भएपछि लेबनानमा इजरायलको ‘आक्रामकता’ अन्त्य भएको भन्दै युद्धविरामको स्वागत गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बागाईले लेबनानविरुद्ध इजरायलको आक्रामकता अन्त्य भएको खबरलाई स्वागत गर्दै लेबनान, त्यहाँको सरकार र आवश्यक प्रतिरोधका लागि इरानको दृढ समर्थन रहेको बताए ।
चीनले लेबनान र इजरायलको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, 'हामी तनाव कम गर्न र शान्ति स्थापनाका लागि अनुकूल सबै प्रयासलाई समर्थन गर्छौं र युद्धविरामका लागि सम्बन्धित पक्षहरूबीच भएको सम्झौताको स्वागत गर्छौं ।'
कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'लेबनानसँग इजरायलले गरेको युद्धविराम सम्झौताको कतारले स्वागत गर्दछ र गाजा पट्टीमा जारी युद्ध र कब्जा गरिएको पश्चिमी किनारामा इजरायली आक्रमण रोक्नका लागि यस्तै सम्झौता हुनेछ भन्ने आशा व्यक्त गर्दछ ।'
जोर्डनको विदेश मन्त्रालयले भनेको छ, 'युद्धविराम एउटा महत्वपूर्ण कदम हो, जसलाई गाजा पट्टीविरुद्धको आक्रमण र कब्जा गरिएको वेस्ट बैङ्कमा इजरायली आक्रमण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रयासले पछ्याउनुपर्छ ।'
गाजा पट्टीमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घको प्रस्ताव लागू गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै प्यालेस्टिनी राष्ट्रपतिले एक वक्तव्यमा भनेका छन्, 'हामी आशा गर्दछौं कि यो कदमले यस क्षेत्रले भोगिरहेको हिंसा र अस्थिरता रोक्न योगदान पुर्याउनेछ ।'
युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले युद्धविरामको ‘निकै उत्साहजनक समाचार’को प्रशंसा गर्दै यसले लेबनानको ‘आन्तरिक सुरक्षा र स्थिरता’ बढाउने बताएकी छन्।
'हिजबुल्लाहको कम प्रभावका कारण लेबनानले आन्तरिक सुरक्षा र स्थिरता बढाउने अवसर पाउनेछ', उनले भनिन्।
लेबनानस्थित संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युद्धविराम सम्झौताको स्वागत गरे पनि सम्झौता कार्यान्वयनका लागि ‘पर्याप्त काम बाँकी रहेको’ बताएका छन् ।
लेबनानका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक जिनिन हेनिस–प्लास्कार्टले भने, 'दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धताभन्दा बढी केही पनि आवश्यक छैन ।'