
लगातार ३ दिन बढेको शेयर बजारमा बिहीबार गिरावट आएको छ ।
सातामा कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ अंकमा कायम भएको छ ।
बारम्बार अवरोधका रूपमा काम गरिरहेको २७८० बिन्दुनजिक (२७७४.१४) पुगेको नेप्से त्यसपछि निरन्तर ओरालो यात्रामा रह्यो ।
दोहोरो अंकनजिक रहेको गिरावट अन्तिम मिनेटको कारोबारले एकल अंकमा सीमित भएको छ ।
बिहीबार १९४ कम्पनीको शेयर मूल्य घट्दा ५० कम्पनीको शेयर मूल्य बढेर बन्द भयो ।
गिरावटका बीचमा पनि विशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । मानुसी लघुवित्तको शेयर भने १० प्रतिशतले घट्न पुग्यो ।
८ अर्ब ५४ करोड ५५ लाखभन्दा बढीको कारोबार हुँदा एक्सेल डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सबैभन्दा बढी भोलिममा कारोबार भएको छ ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्याउने तयारी गरेकाले पनि बजार पर्ख र हेरको रणनीतिमा रहेको देखिन्छ ।