१० साउन २०८३, आइतबार
स्थानीय तह उपनिर्वाचन

ग्रामथानमा मोदीको ‘कृष्ण-अर्जुन’ रणनीतिले दिलायो नमोनारायणलाई अप्रत्यासित जीत

मंसिर १७, २०८१
विराटनगर
ग्रामथानमा मोदीको ‘कृष्ण-अर्जुन’ रणनीतिले दिलायो नमोनारायणलाई अप्रत्यासित जीत
तस्वीर : निर्वाचित भएको प्रमाण पत्र लिँदै ग्रामथान गाउपालिकाका नननिर्वाचित अध्यक्ष नमोनारायण माझी । साथमा प्रतिनिधिसभामा सदस्य अमनलाल मोदी ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको उपचुनावमा नेकपा (माओवादी केन्द्र)ले अप्रत्याशित जीत निकालेको छ । ग्रामथानमा माओवादीका नमोनारायण माझी निर्वाचित भएका हुन् । 

१६ हजार १९४ मत खसेको ग्रामथानमा १५ हजार ८८९ सदर भएको थियो । कांग्रेसका बलराम सरदार थारूलाई पराजित गर्दै माओवादीका माझी अध्यक्षमा निर्वाचित भएका हुन् । माझी ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका थारू ५३३३ मतसहित दोस्रो भए । एमालेका उम्मेदवार तुलसीराम माझी ४२५९ मतसहित तेस्रो भएका छन्  । 

ग्रामथान मोरङका १७ स्थानीय तहमध्ये माओवादीले प्रमुख जितेको पहिलो पालिका हो  । २०७९ को निर्वाचन माओवादीले मिक्लजुङ गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । त्यो बेला कांग्रेससँग गठबन्धन गरेको थियो । 

ग्रामथान मोरङको क्षेत्र नम्बर ४ मा पर्छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा माओवादीका अमनलाल मोदीले जितेका थिए । गत चुनावमा कांग्रेस र  माओवादीबीच गठबन्धन हुँदा मोदीले जितेका थिए । 

तर, यस पटकको उपनिर्वाचनमा भने मोदीकै कारण माओवादीले एक्लै चुनाव जितेको छ ।

मोदीले निर्वाचित माझीलाई चुनाव हुनुभन्दा दुई महिनाअगाडि मात्रै पार्टी प्रवेश गराएर उम्मेदवार बनाएका थिए । 

छैटी पर्वलाई लक्षित गरेर उनले उम्मेदवार तयार पारेका थिए । छैटीमा व्रत बस्ने महिलाहरूलाई मोदी र माझी मिलेर साडीसमेत बाँडेको माओवादीकै नेताहरू बताउँछन् । त्यसले महिलाको भोट प्रभावित पारेको नेताहरूको भनाइ छ । 

थारू समुदायको बाहुल्यता रहेको ग्रामथानमा मोदीलाई थारूको नेता भनेर पनि चिन्ने गरिन्छ । चुनाव जिताउन उनले विभिन्न आश्वासन दिएका थिए । ‘उहाँले यसपटक चुनाव जिताए म मन्त्री बन्छु भन्नुहुन्थ्यो,’ मोदीसँगै चुनावमा हिँड्ने एक नेताले भने ‘मतदाताले थारू मन्त्री बन्छ भने भोट देबे भन्ने गरेका थिए  ।’ मतदाताले नमोनारायणलाई नभई मोदीलाई नै भोट हालेको बताउने गरेका थिए । 

बायाँबाट क्रमश: पहिलो विजय विश्वास, दोस्रो नमोनारायण, तेस्रो अमानलाल मोदी र चौथो सावित्री काफ्ले ।

उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कान्छो सदस्यको रूपमा समानुपातिकबाट निर्वाचित भएका थिए । 

२०७४ मा मोदी मोरङ क्षेत्र नम्बर ६ को इन्चार्ज थिए । ६ नम्बर क्षेत्रबाट उठ्न उनले बल गरेका थिए । तर, एमालेसँग गठबन्धन गरेपछि क्षेत्र नम्बर ६ मा एमालेले लालबाबु पण्डितलाई टिकट दिएको थियो  । पार्टीले भागबन्डा गर्दा मोदी भने चीनमा थिए । 

चीनबाट फर्किएपछि माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर  उनले टिकट नदिए विद्रोह गर्ने चेतावनी दिएको नेताहरू बताउँछन् । प्रदेशसभामा भए पनि टिकट दिन उनले आग्रह गरेका थिए । अन्तिम समयमा उनलाई प्रचण्डले टिकट दिएका थिए । 

कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यसँग प्रतिस्पर्धा गरेका मोदीले ६ हजार मतान्तरले चुनाव जितेका थिए । 

२०७९ सालको निर्वाचनमा एमाले भर्सेस कांग्रेस–माओवादी गठबन्धन गरेर चुनावमा होमिएका थिए । त्यसबेला पनि उनै मोदी कांग्रेस र माओवादीको संयुक्त उम्मेदवार थिए । 

मादीले एमालेका उम्मेदवार विनोद ढकाललाई पनि  ६ हजार २ सयभन्दा बढी मतले हराएका थिए । 

ग्रामथानको उपनिर्वाचनमा मोदीले माओवादीका नमोनारायण माझीलाई काँध थापेर नै जिताएको नेताहरू बताउँछन् । उनी सार्वजनिक मञ्चहरूमा नै  ‘नमोनारायणजी अर्जुन हो भने म कृष्ण’ बनेर आएको छु’ भनेर भन्ने गरेका थिए । नमोनारायण पनि कांगेस पृष्ठभूमिकै भएका कारण उनलाई चुनाव जित्न सहज भएको थियो । मोदीलाई अध्यक्ष प्रचण्डलेसमेत फोन गरेर बधाई दिएका थिए । 

अन्तर विरोधले एमाले तेस्रो
एमालेभित्र अन्तर विरोध हुँदा माओवादीलाई जित हासिल गर्न सहज भएको स्थानीय बताउँछन् । एमालेका उम्मेदवार तुलसीराम विश्वास पनि कांग्रेस पृष्ठभूमिकै हुन् । २०७४ को निर्वाचनमा उनी एमालेमा प्रवेश गरेका थिए । एमाले मोरङमा पार्टीभित्र ठूलो अन्तर विरोध रहेको छ । 

यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए । माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो । २०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारू विजयी भएका थिए । उनले ७६०५ मत पाएका थिए ।

त्यति बेला एमालेका शिवनारायण माझी थारूले ६०९३ मत र माओवादी केन्द्रका विजयकुमार सरदारले २७२७ मत पाएका थिए । 

बलराम सरदार शेखर कोइराला निकटका नेता हुन् । संस्थापन पक्षका नेताहरू खुलेर नलागेकै कारण हार बेहोर्नु परेको कांग्रेसका नेताहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्