
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा जीत हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तराईमा भने निकै कमजोर देखिएको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा रास्वपाले पाएको मत हेर्दा निकै लज्जास्पद देखिन्छ । तराई मात्र होइन पूर्वी पहाडका जिल्लामा पनि रास्वपाको मत नगन्य छ । रास्वपा उम्मेदवारहरूले जमानत समेत जोगाउन सकेनन् ।
कतिसम्म भने राष्ट्रिय प्रजातन्त्र पार्टी र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दल समेत बन्न नसकेको नेकपा एकीकृत समाजवादीभन्दा रास्वपा कमजोर देखिएको छ । यसले रास्वापाको प्रभाव ठूला शहर र शहरउन्मुख क्षेत्रमा मात्र सीमित रहेको देखिने विश्लेषकहरू बताउँछन् ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि रास्वपाले नवीन कुमार विश्वास खवासलाई उम्मेदवार बनाएको थियो । जहाँ माओवादीले जीत हात पार्दा रास्वपाका उम्मेदवार राप्रपाभन्दा पछि परे । राप्रपाका दिनेश कुमार थानदारले ५५५ मत प्राप्त गरेर चौथो स्थान हासिल गर्दा रास्वपाका नवीनले जम्मा ३७५ मत पाए ।
कोशी प्रदेशका ८ स्थानमा उपनिर्वाचन भएको थियो । जसमा ग्रामथान गाउँपालिका अध्यक्षसहित ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, झापाको कनकाई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को वडाध्यक्षका लागि मतदान हुँदा रास्वपाले कुनै पनि स्थानमा सोचेजस्तो मत ल्याउन सकेन।
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षमा पनि रास्वपालाई राप्रपाले उछिन्यो । राप्रपाका कविता कुमारी उरावले ८७ मत ल्याउँदा रास्वपाका शशी कुमार साहुले ३३ मत हात पारे । यहाँ पनि रास्वपा पाँचौं स्थानमा रह्यो । यहाँ कांग्रेसका तेतर साहु ८१६ मत ल्याएर निर्वाचित भए ।
उदयपुरको त्रियुगा-१२ मा माओवादीका नवीन कुमार राई निर्वाचित भएका छन् । यहाँ नेकपा एकीकृत समाजवादीले समेत रास्वपालाई जितेको छ । नेकपा एसकी निर्मला चौधरीले ३१२ मत ल्याउँदा रास्वपाका ध्रुव प्रसाद पोख्रेलले २०२ मत ल्याए ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ मा एमालेकी कुमारी सावादेन निर्वाचित भइन् । यहाँ रास्वपा सबैभन्दा कमजोर देखिएको छ । रास्वपाका देवीप्रसाद पौडेलले ७ मत मात्रै पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४ मत ल्याउँदा कांग्रेसका भीम कुमार लक्सम्वाले २१८ मत ल्याए । माओवादीका अम्बी साउदेनले भने २५१ मत ल्याएका छन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ मा भने रास्वपा तेस्रो स्थानमा छ । रास्वपाका सञ्जीव खडकाले ३८ मत ल्याएका छन् । कांग्रेसका नगेन्द्र लिम्बु ४४० मत ल्याएर निर्वाचित हुँदा एमालेका बुद्ध बहादुर लिम्बुले ३६० मत ल्याए।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ को वडा अध्यक्षमा एमालेका गंगा बहादुर तामाङ ३९९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याए । रास्वपाका विष्णु प्रसाद पोखरेलले १५१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । माओवादीका उम्मेदवार मानबहादुर सुनवारले भने समर्थक र प्रस्तावकमध्ये एक जनाको मात्रै मत पाएका छन् । उनले जम्मा २ मत मात्रै पाए ।
झापाको कनकाई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली ४९३ मत ल्याएर निर्वाचित भएका छन् । ओलीका निकटतम प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए । कांग्रेसका राम गोपाल ओलीले ३१७ मत पाए । यहाँ रास्वपाले उम्मेदवारी दिएको थिएन ।
स्वतन्त्रबाट निर्वाचित भएका ओली रास्वपाकै संगठित सदस्य भएको रास्वपा केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समिति कोशीकी संयोजक निशा डाँगीको दाबी छ । ‘उहाँ हाम्रो पार्टीमै हुनुहुन्छ । स्वतन्त्र उठ्ने रहर गरेपछि हामीले खुल्ला छोडिदिएका हौं’, डाँगीले भनिन्, ‘स्थानी यतहमा जितेका जनप्रतिनिधिहरूलाई हामीले स्वतन्त्र छोडिदिने निर्णय पनि गरेका छौं ।’
उनले मोरङमा संगठन कमजोर भएका कारणले हार बेहोरेको बताइन् । ‘मोरङमा हाम्रो संगठन कमजोर छ । यहाँ ३/४ जना मात्रै संगठित सदस्य छन् । राप्रपा पुरानो पार्टी भएकाले संगठन बलियो नै रहेछ । संगठन हेरेर हाम्रो राम्रो मत आएको हो । तर, उदयपुरको त्रियुगामा भने संगठन राम्रो भए पनि परिणाम नराम्रो आएको छ । यहाँ हामीले जित्नेगरिको संगठन थियो,’ डाँगीले भनिन् ।
रास्वपाको प्रभाव पहिलादेखि नै सहरी क्षेत्रमा मात्रै देखिएको राजनीतिक विश्लेषक कृष्ण पोख्रेल बताउँछन् । ‘शहरी क्षेत्रमा अहिले पनि रास्वपाको मत राम्रो देखिन्छ । काठमाडौं-१६ मा जीत निकालेको छ । काठमाडौंमा उसको एक प्रकारको मेसेज गएको छ’, विश्लेषक पोख्रेलले भने, ‘ग्रामीण क्षेत्रमा रहर गरेर उठ्दा त्यो ढङ्गको मेसेज गएको छैन । पहिलाका उपनिर्वाचनमा पनि चितवन र तनहुँमा जित्यो । बारा र इलाममा जित्न सकेन ।’
शहरी र शहरउन्मुख पहाडका गाउँमा मत देखिएपनि तराईका जिल्लामा संगठन विस्तार गर्न नसक्दाको परिणाम मतपत्रमा देखिएको पोख्रेल बताउँछन् ।