१२ साउन २०८३, मंगलबार
प्लाष्टिकको पुन: प्रयोग

फोहोरलाई मोहर बनाइरहेको हिमालयन लाइफ प्लाष्टिक

मंसिर २२, २०८१
पाेखरा
फोहोरलाई मोहर बनाइरहेको हिमालयन लाइफ प्लाष्टिक

सन् २०१० मा एलेन म्याकआर्थरले ‘सर्कुलर इकोनोमी’को अवधारणालाई विश्वसमक्ष राखे । यो अवधारणाले सरल भाषामा भन्नुपर्दा फोहोरलाई मोहोरमा परिणात गर्ने सोच राख्छ । पुनः प्रयोगको अभ्यासलाई प्रोत्साहन गर्दै प्लाष्टिकलाई पैसा र दीगो प्रयोगका लागि स्रोतमा बदल्न एलेनको अवधारणाले मद्दत पुर्‍यायो । बढ्दो प्लाष्टिक प्रदूषणसँगै विभिन्न कम्पनीले यही अवधारणामा काम गरे । केही सफल भए केहीको प्रयास असफल भयो । 

सफल प्रयासको उदाहरण हो छिमेकी देश भारतमा रहेको बिसलेरी कम्पनी । यो कम्पनीले प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि ‘बटल्स फर चेन्ज’अभियान थालनी गर्‍यो । कम्पनीले ‘पेट–१’ (विशेषगरि पानीको बोत्तल बनाउन प्रयोग हुने प्लाष्टिकको प्रकार)लाई पुनः प्रयोग गरेर नयाँ उत्पादन गर्छ । बिसलेरी आफ्नो मिनलर वाटरका बोत्तल उत्पादनका लागि पनि प्लाष्टिकको पुनः प्रयोग गर्छ । 

भारतमा मात्र होइन नेपालमा पनि यस्ता सानादेखि ठूला उद्यमी छन्, जसले प्लाष्टिकको पुनः प्रयोगमा योगदान दिएर वातावरण प्रदूषण न्यूनीकरण गरिरहेका छन्। प्लाष्टिक पुनः प्रयोग गरेर श्रृंगार सामान उत्पादन गरेकी दीगो विकास उद्यमी शिलशिला आचार्य बीबीसीको सय महिलामा भर्खर मात्र परेकी छिन् । 

पोखरामा यही काम सन् २०१२ देखि हिमालयन लाइफ प्लाष्टिक प्रालि गरिरहेको छ । युवाहरूको समूहले खोलेको यो कम्पनीले अहिले मासिक ४० टन प्लाष्टिकलाई रिसाइकल गर्छ । यसैमध्येका एक हुन् प्रकाश भारती । 

उनीहरूको साथीभाइको समूहमा कम्पनी खोल्ने गफगाफ भयो । ‘केही गरे आफ्नै ठाउँमा गर्ने’ प्रकाशको शुरूआती सोच नै थियो । उनी हातेमालो गर्न तयार भइहाले । युवाको समूहले बजार बुझे । अध्ययन अनुसन्धान गरे । आवश्यकता के हो केलाए । र, खोले हिमालयन लाइफ प्लाष्टिक प्रालि । यसरी सीअीओको रूपमा चनमन श्रीमल, प्रकाश भारती लगायतको टिमले पोखरामा रिसाइकल प्लान्ट शुरू गर्‍यो। 

‘नेपालको सन्दर्भमा फोहोरमा काम गर्ने त्यतिखेर धेरै थिएनन्, अहिलेपनि छैन । यस्तो खालको प्रोजेक्ट गरौं न भनेपछि म पनि आफ्नै देशमा केही गरौं भनेर तयार भएँ । यहीँका मान्छेलाई रोजगारी दिन सकिन्छ भनेर थालनी गर्‍यौं’, उनले सुनाए ।  

इन्जिनियरिङ फिल्ड छोडेर प्रकाश यसमा जोडिनुका पछाडी अर्को विशेष कारण पनि छ । पोखरामा जन्मिएका प्रकाशले पर्यटकीय शहर पोखराका सडकमा दिनानुदिन प्लाष्टिक थुप्रिएको देखिरहेका थिए। सानो छँदा पृथ्वीचोकमा देखिएको फोहोरको थुप्रोले प्रकाशलाई बढी पोल्थ्यो । रिसाइकल प्रोजेक्ट आएपछि उनले हुन्न भन्ने कुरै थिएन । 

‘बढ्दो पर्यटनसँगै फोहोर पनि बढ्न थाल्यो। रिसाइकल गर्‍यो भने यो चीजको न्यूनीकरण गर्न सकिन्छ । मान्छेलाई जागरण गर्न सकिन्छ, कि भ्यालु दिन सकिन्छ भन्ने सोचेँ’, उनी भन्छन् । यही सोच लिएर उनी कम्पनीमा शुरूआतमै जोडिए ।

तीन वर्ष भयो उनले कम्पनीमा जेनरल म्यानेजरको जिम्मेवारी सम्हालेको । २०१२ देखि २०२४ सम्ममा कम्पनी र प्रकाशले निकै आरोह-अवरोह भोगेका छन् । व्यक्तिलाई यसबारे चेतनाका लागि अलि समय लाग्यो । पर्यटन व्यवसायी र यसका संघ-संस्थासँग मिलेर होटल बाराहीमा ओपनिङ भयो । तर, त्यसले खासै प्रभाव ल्याएन । 

‘चेतना जागरण गर्नका लागि अलि समय लाग्यो । अप्ठ्यारो भयो । शुरूमा मान्छेहरूलाई कस्तो हुँदो रहेछ भने केही कुराको भ्यालु दिन लाग्यो भने भ्यालु जोड्दै जाने । पछि, सहज हुँदै गयो’, उनले भने । 

हिमालयन लाइफले पनि पेट १ प्रकारको मात्र प्लाष्टिकलाई रिसाइकल गर्छ । शुरूआती समयमा पोखरामा मात्र केन्द्रित भएर काम गरिरहेको थियो । कम्पनीको उत्पादनको माग बढ्यो । शुरूआतको तीनवर्ष पछि नै पोखरा बाहिरबाट फोहोर प्लाष्टिक ल्याउन थालियो । अहिले कम्पनीले ५० प्रतिशत पोखराबाट, काठमाडौंबाट ३०, लाङटाङ, चितवन, भरतपुर, म्याग्दी, स्याङजाबाट २० प्रतिशत प्लाष्टिकलाई पुनः प्रयोगको लागि योग्य बनाउँदै आएको छ ।

यो बाहेक पनि कम्पनीसँग साझेदार गर्न चाहने समुदायलाई हिमालय लाइफले साथ दिइरहेको छ । अन्नपूर्ण क्षेत्रबाट समुदायस्तरबाट साझेदार भएर वार्षिक १५ सयदेखि २ हजार टन प्लास्टिकजन्य फोहोर आउँछ । लाङटाङबाट ३ टन हाराहारीमा आउँछ । यो सिजनमा साढे एकटन सगरमाथाबाट पनि आएको छ । कम्पनीले महिनामा चालिस टन प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोग गर्न मिल्ने बनाउँछ । पिक समयमा ६० टनसम्म पुग्छ । 

कसरी हुन्छ पुनः प्रयोगका लागि योग्य ? 
कम्पनीले सबै प्रकारको प्लाष्टिकजन्य फोहोरलाई रिसाइकल गर्दैन । पेट १ नामक प्लाष्टिकमात्र रिसाइकल गरिरहेको छ । जुन विशेषगरी पानीको बोत्तलहरू हुन् । कम्पनीमा आएको फोहोर वर्गीकरण हुन्छ । ल्याइएका प्लाष्टिकलाई छुट्याउने काम हुन्छ । ल्याएको प्लाष्टिकलाई ६ चरणमा धोइन्छ । त्यसलाई सुकाएपछि गलाउने काम हुन्छ । गलाएको प्लाष्टिकलाई सानो–सानो दानामा काटेपछि पुनः प्रयोगको लागि योग्य हुन्छ । यी सबै उच्च प्रविधिको प्रयोगबाट गरिन्छ । यी प्लाष्टिकका टुक्रालाई प्लाष्टिक बनाउने कम्पनीले खरिद गर्छ । प्राय: यी काठमाडौं पुग्ने प्रकाश बताउँछन् । 

‘काठमाडौंमा प्राय: लैजान्छ । काठमाडौंमा मार्केट ठूलो छ । त्यसपछि भैरहवा, नेपालगञ्ज, विराटनगर । जो जतिले बोटल बनाउनुहुन्छ उहाँहरूले हाम्रो प्रोडक्ट प्रयोग गर्नुहुन्छ’, उनले भने । 

उनका अनुसार कम्पनीले महिनाको ८५ टन हाराहारीमा उत्पादन गर्छ । बजारमा १२० टन भन्दा बढी माग छ । 

चुनौती के ? 
कम्पनीको यो कामले प्लाष्टिक प्रदूषणमा न्यूनीकरणमा योगदान पुर्‍याएको छ । तरपनि कम्पनीलाई चुनौती छ । पोखरामा पछिल्लो समय फोहोर वर्गीकरण नहुँदा समस्या भइरहेको प्रकाश बताउँछन् । पोखराको फोहोर वर्गीकरण नभई अस्थायी ल्यान्डफिलमा पुग्छ । कम्पनीलाई त्यहाँबाट प्लाष्टिकजन्य फोहोर छुट्टाउन सकस छ । सरकारी तवरबाटपनि निरुत्साहित गर्ने गरिएको भनाइ छ । 

अर्को समस्याका रूपमा कर रहेको उनको गुनासो छ । फोहोरबाट मोहर भनेपनि प्रविधिको प्रयोग महंगो रहेको उनी बताउँछन् । 

‘फोहोरको काममा पैसा धेरै जोगिन्न । फोहोरबाट मोहर त भन्छ, तर त्यसबाट रूपैयाँ हजार जोगिन्न । मोहर नै हो जोगियो भने । मोहोर पनि गाह्रो हुँदै छ अहिले त । अहिले कवाडी कर भनेर तिर्नुपर्छ’, उनको भनाइ  छ।

यद्यपि, कम्पनीले आफ्नो तवरले काम गरिरहेको छ । स्थान हेरेर कम्पनीले फोहोरको मूल्य किलोको हिसाबमा खरिद गर्छ । बाहिरी जिल्लाबाट ल्याउँदा यातायात खर्च समेत लाग्ने गरेको छ । 

यी बाहेक पनि समुदायस्तरमा सचेतना नहुँदा पनि समस्या छ । रिसाइकल प्रोडक्टलाई अझैपनि नेपाली बजारमा स्थान दिएको पाइन्न । 

‘हाम्रोतिर रिसाइकल गरेको प्रोडक्ट नराम्रो लाग्छ भने यूरोपतिर विपरीत छ । उता रिसाइकल गरेको वस्तु उपभोक्ताले आफैं खोज्छन्, त्यसको महत्त्व धेरै पनि छ । नेपालमा रिसाइकल प्रोडक्टलाई हेर्ने दृष्टिकोण नै फरक छ,’उनले भने । 

तर, प्लाष्टिजन्य सामग्री वातावरणको लागि थ्रेट रहेको उनी सुनाउँछन् । प्लाष्टिक प्रशोधन भएको विषयलाई समुदायस्तरमा चेतना फैलाउन सकियो भनेपनि केही भएपनि समस्या समाधान हुने उनको भनाइ छ । 

यस्तै, उनका अनुसार प्लाष्टिकजन्य फोहोरलाई वर्गीकरण गरेर अन्य प्रकारको प्लाष्टिकलाई पुनः प्रयोगमा योग्य बनाउन सकिन्छ । सामान्य पानीका बोत्तल रिसाइकल भएपनि अन्य प्रकार प्लाष्टिक रिसाइकल अझै राम्रोसँग हुन सकेको छैन । अस्पतालबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती नै छ । यसलाई व्यवस्थापन गर्न सके अस्पतालको फोहोरमा बढी मोहर रहेको उनको भनाइ छ । तर,यसका लागि पहिला समुदायस्तरमा सचेतना हुनुपर्ने उनी बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्