०७ साउन २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

न्यायाधीशसँग रविले भने- मलाई भित्र नराख्दा कुन प्रमाण लोप हुन्छ ? भन्दिनुस् श्रीमान !

प्रहरीले माग्यो अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
मंसिर २७, २०८१
पाेखरा
न्यायाधीशसँग रविले भने- मलाई भित्र नराख्दा कुन प्रमाण लोप हुन्छ ? भन्दिनुस् श्रीमान !

सहकारीको रकम अपचलन आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले 'आफूलाई थुन्दा कुन प्रमाण लोप हुन्छ' भन्दै प्रश्न गरेका छन् । 

म्याद थपका लागि बिहीबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका रविले न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशमा आफूलाई भित्र राख्दा कुन प्रमाण लोप हुन्छ भन्दै प्रश्न गरेका हुन् । 'मलाई भित्र नराख्दा कुन प्रमाण लोप हुन्छ ? त्यति भन्दिनुस् श्रीमान,' इजशालमा उनले भने । 

योजनाकारले बनाएको सबै कथा मध्यान्हसम्म मिलेको उनले बताए । 'मेरो मुद्दामा अदालत अहिलेसम्म साक्षी भएर बस्यो । सधैं पीडितले दोषीलाई फेरि अदालतमा देखौँला भन्थे, मलाई चाहिँ योजनाकारले यसो भने । योजनाकारले बनाएको सबै कथा मध्यान्हसम्म मिलेको छ श्रीमान् ! अब पछि के हुन्छ थाहा छैन ।'

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिन लागेकाले फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । 

प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको छ । न्यायाधीश पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।

यी सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।

कमेन्ट गर्नुहोस्