
जाडोमा स्वास्थ्यको लागि एउटा उत्कृष्ट घरेलु परिकार हो - मेथी र सुठोको लड्डु । तपाईंलाई याद होला तपाईंका हजुरआमा र आमाहरू सधैं बिहानको खाजामा दूधसँग लड्डु खान सल्लाह दिन्थे ।
विशेषगरी जाडोको समयमा यी लड्डुहरूले शरीरलाई तातो राख्छन् र शरीरमा हुने दुखाइ कम गर्न मद्दत गर्छन् ।
मेथी र सुठो (सुकेको अदुवाको धुलो) का लड्डु जोर्नीको दुखाइ र शरीरको अन्य दुखाइ हटाउन प्रभावकारी छन्। साथै, यी लड्डुहरूले शरीरलाई बलियो पनि बनाउँछन्।
तपाईं पनि जाडोमा स्वास्थ्यलाई तन्दुरुस्त र तातो राख्न यी लड्डु बनाउने सोच्दै हुनुहुन्छ भने यहाँ यसको सजिलो विधि प्रस्तुत गरिएको छ :
मेथी सुठोका लड्डु बनाउन आवश्यक सामग्री
३/४ कप मेथीको दाना (दूधमा भिजाएको)
५०० ग्राम गुड
१ कप बेसन
१ कप गहुँको पिठो
१ कप घ्यू
२ चम्चा सुठो पाउडर
१/२ कप काजु
१/२ कप ओखर
१/२ कप बदाम
६-७ वटा हरियो अलैंची (पिसेको)
मेथी सुठोका लड्डु बनाउने विधि
१. मेथी भिजाउने
सबैभन्दा पहिले मेथीको दाना राम्रोसँग धोएर २ कप दूधमा भिजाउनुहोस्। मेथीलाई पिसेर पनि दूधमा भिजाउन सक्नुहुन्छ। नपिसेको मेथी हो भने भिजाएर मिक्सरमा हालेर मज्जाले पिस्नुपर्छ।
२. ड्राइ फ्रुट्स भुट्ने
एक कराईमा घ्यू राखेर काजु, बदाम, ओखरलाई एक-एक गरेर भुट्नुहोस्।
३. मेथी भुट्ने
अब बचेको घ्यूमा पिसेको मेथी राखेर हल्का सुनौलो हुने गरी भुट्नुहोस्। आवश्यक परे थप घ्यू राख्न सक्नुहुन्छ।
मेथी भुटिसकेपछि सुठो पाउडर राखेर थोरै समय भुट्नुहोस्।
४. पिठो र बेसन भुट्ने
कराईबाट मेथी निकालेर अब बेसन र गहुँको पिठो राखेर भुट्नुहोस्। पिठोलाई हल्का सुनौलो रंग नआएसम्म भुट्नुपर्छ।
५. गुड पगाल्ने
अब कराईमा एक चम्चा घ्यू राखेर गुडका टुक्रा हालेर पगाल्नुहोस्। गुड पग्लिएपछि एक चम्चा पानी राखेर राम्रोसँग घोल बनाउनुहोस्।
६. सबै सामग्री मिसाउने
गुड पग्लिएपछि ग्यास बन्द गरेर सबै भुटिएका सामग्री - मेथी, बेसन, पिठो, ड्राइ फ्रुट्स राखेर राम्रोसँग मिसाउनुहोस्। हल्का चिसो भएपछि हातले सबै सामग्री राम्रोसँग मुछ्नुहोस्।
७. लड्डु बनाउने
सबै सामग्री मिसाइसकेपछि साना-साना लड्डु बनाएर तयार गर्नुहोस्। यी लड्डु जाडोमा शरीरलाई तातो राख्न र दुखाइबाट राहत दिन निकै उपयोगी हुन्छन्।
यी लड्डुहरू बिहानको खाजामा तातो दूधसँग खाँदा धेरै लाभदायक हुन्छन्। नियमित रूपमा सेवन गरेमा जोर्नीको दुखाइ र अन्य शारीरिक समस्या पनि कम हुन्छन्। यी लड्डु घरमै तयार पारेर जाडो अवधिभर स्वास्थ्य लाभ लिन सकिन्छ ।
बनाउने होइन त मेथी र सुठोका लड्डु ?