
तपाईंले सुन्नुभएकै होला, बदामलाई ड्राइ फ्रुटको राजा भनिन्छ। किनकि यसमा विभिन्न भिटामिन र मिनरल भरपूर मात्रामा पाइन्छ। अन्य बेला भन्दा हिउँदको बेला घाम ताप्दै बदाम खानुको मज्जा नै बेग्लै हुन्छ ।
बदाम खानाले शरीरमा असीम ऊर्जा प्राप्त हुन्छ र मस्तिष्कलाई तेज बनाउँछ। यो मुटुका लागि पनि अत्यन्तै फाइदाजनक मानिन्छ। धेरैजसो मानिसहरू रातभर पानीमा भिजाएर बदामको बोक्रा फुकालेर खान्छन्। तर, यहीँनेर उनीहरूले ठूलो गल्ती गरिरहेका हुन्छन्।
सबैलाई बदामको बोक्रा हटाउनु हुँदैन
स्वास्थ्य विज्ञ ल्यूक कौटिन्होका अनुसार, बदामको बोक्रा हटाउँदा यसको शक्ति आधा घट्छ। केही व्यक्तिहरूका लागि यो फाइदाजनक हुन सक्छ । तर, सबैले यस्तो गल्ती गर्नु हुँदैन।
ल्यूकले भनेका छन् कि बदामलाई भिजाएर खाइन्छ कि बोक्रासहित खाइन्छ भन्ने कुरा तपाईंको स्वास्थ्यमा निर्भर गर्छ। तर, मुख्य समस्या के हो भने धेरैलाई बदाम खाने सही तरिकाकारे थाहै छैन ।
बदामको बोक्रा खानुका फाइदा
बदामको बोक्रामा उच्च मात्रामा डाइटरी फाइबर, एन्टिअक्सिडेन्ट र फाइटोकिमिकल पाइन्छ। विज्ञका अनुसार, यसमा फ्लेभोनोइड हुन्छन् जसले मुटुलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले अक्सिडेटिभ स्ट्रेस र इन्फ्लामेसन (सुन्निने समस्या) घटाउन मद्दत गर्छ।

भिजेको बदामका फाइदा
बदामको बोक्रामा फाइटिक एसिड हुन्छ, जुन आइरन, जिंक, क्याल्सियमजस्ता मिनरलसँग जोडिएर तिनलाई शरीरले उपयोग गर्न दिँदैन। तर, रातभर भिजाउँदा फाइटिक एसिड निष्क्रिय हुन्छ। त्यसपछि तपाईंले बदामलाई बोक्रासहित खान सक्नुहुन्छ।
बोक्रा हटाउँदा शक्ति आधा हुन्छ
बदामको बोक्रा हटाउँदा त्यसको फाइबरको मात्रा घट्छ। साथै, एन्टिअक्सिडेन्ट, फ्लेभोनोइड र फेनोलिक एसिडमा पनि भारी कमी आउँछ। तर, यो उनीहरूका लागि उपयुक्त हुन सक्छ । जसले कम फाइबरयुक्त खाना खानुपर्ने हुन्छ वा जो क्याल्सियम, आइरन, म्याग्नेसियमजस्ता तत्वका लागि प्लान्ट बेस्ड (बोटजन्य) खानामा निर्भर छन्।

भिजाएको बदाम सजिलै पच्छ
स्वास्थ्य विज्ञका अनुसार, यदि बदाम पचाउन गाह्रो हुन्छ भने वा पाचन प्रणाली कमजोर छ भने बदाम भिजाएर खानुहोस्। यसले बदामको बनावट नरम बनाउँछ र सजिलै पच्न मद्दत गर्छ।
बदाम खाने सही तरिका
यदि धेरै फाइबर खाँदा समस्या हुन्छ, पाचन ढिलो हुन्छ वा बोक्राले घाँटीमा समस्या दिन्छ भने बदामलाई भिजाएर बोक्रा फुकालेर खानुहोस्। अन्यथा, तपाईंले भिजाएर बोक्रासहित पनि खान सक्नुहुन्छ। कोलेस्ट्रोल घटाउन र मुटुलाई स्वस्थ राख्न बोक्रासहितको बदाम उपयुक्त हुन्छ।