
सोमबार बिहान ११ बजे सिंदरबारस्थित अर्थ समितिको सभाहलमा समितिको बैठक तय भएको थियो । सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफलको एजेण्डा थियो ।
तर, बैठकका लागि गणपूरक संख्या पुगेन । कार्यविधिमा आधा घण्टासम्म समिति सदस्यलाई कुर्ने उल्लेख भएपनि झण्डै एक घण्टा हुँदा पनि गणपुरक संख्या पुग्नेगरि सांसदहरू आएनन् । सदस्यहरू (सांसदहरू) बाटोमा आउँदै गरेको सूचना पाएको भन्दै सभापति सन्तोष चालिसेले ११ बजेर ५० मिनेटमा बैठक शुरू गरे । यतिबेला हलमा जम्मा ९ जना सांसद थिए ।
एमालेका सांसद सूर्यबहादुर थापा, पदम गिरी र रण कुमारी बलम्पाकी मगर उपस्थित थिए भने, कांग्रेसका सांसद अञ्जली श्रेष्ठ र स्वयं सभापति सन्तोष चालिसे मात्रै थिए ।
यसका साथै माओवादी केन्द्रका नारायणी शर्मा, गंगा कार्की, छिरिङ डम्डुल लामा (भोटे) र रास्वपाका विराजभक्त श्रेष्ठ गरी ९ जना उपस्थित थिए ।
जब सभापति चालिसेले बैठक शुरू गरे समिति हलमा चर्चाचर्की शुरू भयो । समितिको बैठक शुरू हुनासाथ माओवादी केन्द्रका सांसद गंगा कार्कीले विरोध जनाए ।
बैठक शुरू गरेलगत्तै सभापति चालिसेले अर्थ सचिवलाई विधेयकमाथि प्रकाश पार्नका लागि समय दिए । अर्थ सचिव बोल्न शुरू नगर्दै माओवादी सांसद गंगा कार्कीले कोरम नपुग्दै कसरी बैठक शुरू गर्नुभयो भन्दै प्रश्न गरे ।
सभापति चालिसेले ‘हेर्दै जानुस् न, पुगिहाल्छ’ भन्ने जवाफ दिए । त्यसपछि उनीहरूबीच सवाल जवाफ चल्यो ।
कार्की :सभापतिज्यू बैठक शुरू गर्नका लागि संख्या पुग्छ ?
सभापति : हामी लगभग १० जना भइसक्यौं ।
कार्की :कसरी भयौं १० जना ?
सभापति : होइन एक जना हस्ताक्षर गरेर जानुभयो । एक जना ‘अन द वे’ हुनुहुन्छ भन्ने जानकारी आयो । अहिले हामी आठ जना भयौं।
कार्की : कसरी भयौं आठ जना ?
सभापति :मलाई नगनेको ?
कार्की : १२ जना पुग्नुपर्ने होइन ?
सभापति :१२ हुनुपर्ने । हुन्छ पनि ।
कार्की : कोरम नपुग्दै बैठक नराखौं। सत्ता पक्षकै साथीहरूको उपस्थिति कम छ । यस्तो तरिकाले कसरी हुन्छ ?
सभापति : बाटोमा आउँदै हुनुहुन्छ भन्ने जानकारी पाएर । कोरम पुग्छ भनेरै बैठक शुरू गरेको हो । सचिवज्यूहरू आउनुभएको छ । बारम्बार यो गर्न सकिँदैन ।
कार्की : त्यसरी हुँदैन ।
सभापति : सबै माननीयज्यूहरूको के हो ? भन्नुस्, हुँदैन भने त म किन सञ्चालन गरूँ ?
कार्की :त्यसमा हुँदैन ।
त्यसपछि सभापति चालिसेले सांसदहरूलाई केहीबेर कुर्ने कि स्थगित गर्ने भन्ने कुरा उठाए । त्यसबीच एमाले सांसद सूर्य थापाले बैठक सञ्चालन सम्बन्धमा सहमति गर्ने विषय महत्त्वपूर्ण नरहेको बताए । थापाले बैठक सञ्चालन कार्यविधि अनुसार गर्नुपर्ने भनाइ राखे ।
‘हाम्रो कार्यविधि अनुसार गरौं । कार्यविधि अनुसार बैठक बस्दैन भने धेरै चिन्ता गर्नुपर्दैन । कार्यविधिमा आधा घण्टा पर्खिने भनेका थियौं । एक घण्टा पर्खियौं’, थापाले भने, ‘हामीले बनाएको कार्यविधिमा स्पष्ट उल्लेख छ । माननीयज्यूहरू समयमा आउनुभएन, त्यो कुरा समितिले नोटिसमा राखोस्।’
सांसदहरूले कुरा राखिसकेपछि जबर्जस्ती बैठक सञ्चालन गर्न नसक्ने सभापतिले बताए । सोमबार बैठक स्थगित भएपछि भोलि मंगलबार ११ बजेट पुन: बोलाइएको छ । तर, अब मंगलबारको बैठकमा भने एक तिहाइ अर्थात् ८ जना सदस्यको उपस्थितिमा पनि बैठक सञ्चालन गर्न मिल्ने निर्णय भएको एक सांसदले बताए ।
उनका अनुसार सभापति चालिसेले सत्तारूढ एमाले र कांग्रेसका सांसदहरूको उपस्थिति देखेर आक्रोशित भएका थिए ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम १८२ को उपनियम १ मा गणपूरक संख्या नपुगेमा बैठकको कार्य स्थगित गर्न सकिने व्यवस्था छ ।
यसका साथै उपनियम १ बमोजिम गणपूरक संख्या नपुगेमा कम्तीमा एक तिहाइ सदस्यले पनि बैठक बस्नसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार मंगलबार एक तिहाइ सदस्य भएपनि बैठक बस्ने जनाइएको छ ।